नेपाली ई–रिक्सा रुपैडिहामा निषेध !

बाँकेमा अनियन्त्रित रुपमा खरीद भई दर्ता भएका ईरिक्साले रुपईडिहामा सास्ती दिएपछि रुपैडिहा कस्टमले भारतीय क्षेत्रमा ईरिक्साको आवागमनलाई निषेध गरेको छ । रुपैडिहा प्रहरीले ईरिक्सा चालकलाई रुपैडिहा नआउन निर्देशन दिएपछि अहिले जमुहनाहा प्रहरी चौकी सम्म मात्रै आवागमन रहेको प्रहरी भनाई छ ।

 

 

जिल्लामा दर्ता रहेका ईरिक्साहरु संग चुस्त कागजात र चालक अनुमति पत्र नभएपछि कारवाही गरिएको रुपैडिहा प्रहरीको भनाई छ । ईरिक्साकै कारण रुपैडिहामा घण्टौ जाम लाग्ने, दुर्घटना हुने, अवैध क्रियाकलाप हुने र तस्करीजन्य वस्तुहरु निकासी हुँदै आएको भारतीय प्रहरीको समीक्षा रिपोर्टमा छ । नेपाली क्षेत्रमा दिनहुँ कति रिक्सा आवागमन गर्न दिने भन्ने विषयमा रणनीति तयार गर्न केहि समयका लागि ईरिक्सा निषेध गरिएको रुपईडिहाका पत्रकार नवी अहमदले बताए ।

 

 

नेपाली प्रहरी संग ईरिक्साको कुनै चुस्त तथ्यांक नरहेको र कसैले ५ हजार त कसैले ९ हजार भनिरहेको स्थितिमा ईरिक्साको जोखिम मोल्न नसकिने भारतीय प्रहरीलाई उद्धृत गर्दै पत्रकार नवी अहमदले बताए । जिल्ला प्रहरी कार्यालय बाँकेले यसअघि ईरिक्सा ब्यवस्थापनका लागि चलाएको कारवाहीमा रातो प्लेटमा रहेका ईरिक्सालाई कालो प्लेट अर्थात भाडाको साधनको रुपमा परिमार्जन गर्न दबाव दिइएको थियो ।

 

‘भारतीय क्षेत्रमा कागजात लगायतका विषयमा कडाई गरेपछि ईरिक्सा आवागमन रोकिएको जानकारी आएको छ’, दैनिक नेपालगन्ज संग कुरा गर्दै जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख होम बहादुर थापाले भने, ‘त्यहाँ समस्या उत्पन्न भएको बताउँदै भारतीय कष्टमले रोकेको हो ।’ ‘अहिले एसएसबी चेकजाँच सम्म पुग्ने गरेको पाइयो’, थापाले भने, ‘रुपैडिहा सानो ठाउँमा बढि ईरिक्सा पुगेपछि ट्राफिकमा समस्या उत्पन्न भएको बुझिएको छ ।’ भारतीय अधिकारीले दिएको जानकारी अनुसार नेपाली क्षेत्रमा ईरिक्साको विवरण प्रष्ट रुपमा नभएकोले अपराधिक क्रियाकलापमा प्रयोग हुन सक्ने सुरक्षा जोखिम छ ।

 

 

‘गाउँपालिका, नगरपालिका र यातायातमा फरक फरक दर्ता भएको अवस्था भएकोले वास्तविक विवरण हामी संग छैन’, ट्राफिक प्रमुख थापाले भने, ‘विस्तारै नियमनको प्रयास भइरहेको छ । उनले भने, भाडाको साधनमा दर्ता गर्ने प्रयास भइरहेको छ ।’ रुपैडिहा एसएसबीले यसअघिनै ईरिक्साका कारण सुरक्षा चुनौती बढेको बताउँदै नियमनमा कडाई गर्न भारतीय अधिकारीहरुलाई आग्रह गर्दै आएको छ । हरेक दिन रुपैडिहामा आवागमन गर्ने ईरिक्साको दुई हजार भन्दा बढि रहेको एसएसबीले जनाएको छ ।

 

 

रुपैडिहासम्म आउने ईरिक्सा, बाबागन्ज र नानपारा सम्म पुग्ने गरेकोले निषेध गरिएको अधिकारीहरुको दावी छ । ईरिक्सालाई रेल्वे स्टेसन, हुलाक कार्यालय, बस अड्डा सम्म मात्र लग्ने अनुमति रहेको छ । ‘भारतीय भन्सारमा नेपाली क्षेत्रझैं रुपैया तिरेर मात्र अनुमति दिने गरि केन्द्र सरकारले परिपत्र जारी गरेपछि भाडाका गाडीहरुलाई समस्या भएको हो’, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र प्रसाद आर्यालले भने, ‘नेपालमा इन्ट्री गरेर भन्सार शुल्क तिरेर आवागमन गर्न पाउने ब्यवस्थालाई पछ्याउँदै भारतीय सरकारले नयाँ रणनीति लागु गरेको हो ।’

 

 

भारतीय सवारी साधन नेपाल तर्फ आउँदा इन्ट्री गरी शुल्क तिर्नु पर्ने ब्यवस्थालाई भारतीय पक्षले समेत कडाई गर्न थालेपछि नेपाली सवारी साधनलाई आगामनमा कडाई गरिएको डीएसपी आर्यालले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया