नेपालगन्ज पुष १८ गते –बाँकेका नवनिर्वाचित प्रतिनीधी तथा प्रदेश सभा सदस्यहरु बाँकेलाई प्रदेश राजधानी बनाउन दवाव सिर्जना गर्ने पक्षमा देखिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले आज कार्यालयमा आयोजना गरेको बाँके जिल्लाका नव निर्वाचित प्रतिनीधी तथा प्रदेश सभा सदस्यको स्वागत तथा शुभकामना कार्यक्रममा उनीहरुले समग्र बाँकेलाई प्रदेश न ५ को राजधानी बनाउन एकमत हुँदै हर सम्भव प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सरकारले आजै मात्र दाङलाई प्रदेश न ५ को राजधानी तोकेको छ ।
हालै निर्वाचित सदस्यहरुलाई उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शमशेर राणा र उपप्रमुख उमा थापामगरले दोसल्लासहित स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिनु भयो । नगरको समग्र विकासको लागि आपसी प्रगाढ सम्वन्ध तथा सहकार्यको बातावरण बन्नु पर्ने आशयसहितको कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, वडा अध्यक्ष, सदस्य लगायतको सहभागिता रहेको थियो । क्षेत्र न २ का प्रतिनीधी सभा सदस्य मो इस्तियाक राइले राजधानीका लागि बाँके भन्दा उपयुक्त स्थान अन्यत्र नभएको जीकीर गर्दै राजधानीका लागि बाँकेका सबै जनप्रतिनीधीको एउटै आवाज रहेको दावी गर्नु भयो । पार्टीबाट चुनाव लडेर जितेपनि आफनो क्षेत्रको समग्र विकासका लागि अब आफुहरु पार्टी र राजनीती भन्दा माथि उठन सक्नु पर्ने उहाँको सुझायुक्त भनाई थियो ।
क्षेत्र न १ का प्रतिनीधी सभा सदस्य महेश्वर गहतराज(अथक)ले जोखीम नमोली सहजै प्रदेश राजधानी नहुने भएकाले त्यसका लागि पनि साझा र दिर्घकालिन धारणासँगै आन्दोलनको आवश्यक्तामा पनि जोड दिनु भयो । क्षेत्र न २ का प्रदेश सभा सदस्य सुरेन्द्र हमालले जनसेवकका रुपमा जनताको आवाजलाई सम्वोधन गर्न तयार रहनु पर्ने भन्दै आपसी हातेमालोको खाँचो औल्याउनु भयो ।
क्षेत्र न २ का प्रदेश सभा सदस्य विजय यादवले हरेक दृष्टिकोणले बाँकेलाई राजधानी बनाउन उपयुक्त हुने भन्दै अब बन्ने वाम गठवन्धन सकरात्मक हुनुपर्ने बताउनु भयो । उपमहानगरपालिकाका प्रमख डा धवल शमशेर राणाले प्रदेश राजधानीका लागि बाँके हर तरहले उपयक्त भएको भन्दै आफनो तहबाट हर प्रयास र सहकार्य जारी रहने प्रतिवद्धता व्यक्त गर्नु भयो । उपमहानगरपालिकाका उप प्र्रमुख उमा थापा मगरद्धारा स्वागत गरिएको कार्यक्रममा क्षेत्र न १ का प्रदेश सभा सदस्यद्धय कृष्णा केसी(नमूना), आरती पौडेल, क्षेत्र न ३ का प्रदेश सभा सदस्य बाबुराम गौतमले नगरको समग्र विकासका लागि सदैव तयार रहेको प्रतिवद्धता व्यक्त गर्नु भयो ।
2074-09-18