जोडी साट्न खोजेपछि खोरमा

बलात्कार आरोपमा दुई जना पक्राउ

पश्चिमी देशहरुमा खुल्ला रुपमा अध्ययन अध्यापन गर्न पाइने यौन शिक्षा दक्षिण एशियाली देशहरुमा लोकलाजको विषय मानिन्छ । पछिल्लो समयमा प्रविधि र सामाजिक सञ्जालले ब्यक्तिगत रुपमा यस शिक्षा प्रति चासो बढाएपनि सामाजिक रुपमा अझै गोप्यता कायमै छ ।

बाँकेमा यौन शिक्षा र प्रजनन स्वास्थ्य बारे विद्यालयमा अध्यापन गराउँदा शिक्षकहरु नै लजाउने गरेको सन्दर्भ यस अघि दैनिक नेपालगन्जले प्रकाशित गरिसकेको छ । कानून बमोजिम उमेर पुगेको युवायुवतीले आपसी सहमतिमा यौन सम्पर्क गर्न पाउने कानूनी ब्यवस्था छ । तर, मुलुकी ऐन जबरजस्ती करणी महलमा सहमति विनाको यौन सम्पर्क बलात्कार हुने सन्दर्भ पनि राखेको छ । उल्लेखित सन्दर्भमा चासो बढ्ने कारण हो, शनिवार मध्यराति नेपालगन्जको एउटा होटेलबाट पक्राउ परेको दुई वटा जोडीको विषय ।महिलाले बलात्कारको आरोप लगाउँदै प्रहरीलाई असुरक्षा भएको भन्दै फोन गरेपछि जिल्ला प्रहरी कार्यालय बाँकेको एउटा टोली शनिवार राति २ जना युवतीको सहयोगका लागि पुग्यो । प्रहरीका अनुसार २ वटा फरक फरक कोठामा युवतीहरु बसेकी थिइन् ।

दुई फरक कोठामा सुर्खेत बस्ने ४८ वर्षिय निरज गुरुङ्ग र ३९ वर्षिय मनोज भारती पनि सोही होटलमा बसेका थिए । प्रहरीले दिएको जानकारी अनुसार, भारती लामो समय देखि होटलमा फरक फरक महिला संग बस्दै आएका थिए ।
भारतीका साथी नीरज गुरुङ्ग पनि नेपालगन्ज आएपछि उनका लागि एक जना फरक युवतीलाई सहयोगीको रुपमा बोलाइएको थियो । बर्दियाकी १९ वर्षिया युवती भारतीको साथमा र जाजरकोटी २६ वर्षिया युवती गुरुङ्गका साथमा फरक फरक कोठामा मध्यराति सम्म बसे ।

‘दुई जना पुरुष बीच आफु संग रहेको महिला सहकर्मी परिवर्तन गर्ने विषय अघि बढेपछि विवाद सुरु भएको हो’, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र प्रसाद आर्यालय भने, ‘पहिला यथावत कोठामा र पुरुषहरु विच परिवर्तनको विषय मिलेपछि कोठा फरक महिलाका साथ फरक पुरुष बस्ने तय भएको थियो ।’ तर, १९ वर्षिया बर्दिया की युवतीले गुरुङ्ग संग बस्न नमाने पछि आन्तरिक विवाद विवाद प्रहरी माझ पुग्यो । ‘सुरक्षाका लागि फोन आयो’, दैनिक नेपालगन्ज संग कुरा गर्दै डीएसपी आर्यालले भने, ‘सुरक्षा दिन हामी प्रतिबद्ध भएकाले बेलैमा पुग्यौं ।’

‘दुबै पुरुष र दुबै महिला विच सहमतिमा यौन सम्पर्क भएको र पछि सहयोगी परिवर्तन गर्ने विषयमा विवाद भएपछि महिलाहरु बलात्कारको विषय अघि बढाए’, घटना अनुसन्धानमा रहेका एक प्रहरी अधिकृतले भने, ‘पहिला सहमति पछि बलात्कार भयो ।’ महिलाहरुको बयान र पुरुषहरुको प्रष्टीकरण लिएर प्रहरीले केशलाई अघि बढाउने तयारी गरेको छ । महिलाले बलात्कार भएको आरोप लगाएपछि त्यसका लागि चाहिने आवश्यक प्रमाण प्रहरीले आइतवार दिनभरि संकलन गर्यो ।

‘पीडित भनिएकी महिला र पुरुषहरुको स्वास्थ्य परीक्षण गरि जबरजस्ती करणी पुष्टि भएपछि प्रहरीले मुद्दाको तयारी गरेको छ’, प्रहरी प्रवक्ता डीएसपी आर्यालले भने, ‘महिलाले बलात्कारको आरोप लगाएपछि कानूनी कारवाही नहुने विषय नै हुँदैन ।’ पक्राउ परेका एक जना पुरुष एउटा एयरलाइन्सका कर्मचारी हुन् । पछिल्लो एक वर्ष देखि होटेल एउटै तर, युवती फरक फरक उपलब्ध गराउने जिम्मेवारीमा रहेका उनी आफ्नै महिला सहकर्मीबाट बलात्कार मुद्दाको तयारीमा छन् ।

‘बर्दियाकी १९ वर्षिय महिलाले प्रहरी समक्ष एक वर्ष देखि निरन्तर प्रेमिकाको रुपमा बस्दै आएको बयान दिएकी छिन्’, प्रहरीले भन्यो, ‘कोठामा अर्कै पुरुषलाई सुत्न पठाएपछि बबाल भएको हो ।’ नेपालगन्ज क्षेत्रमा पछिल्लो समयमा यौन ब्यवसाय बढ्दै गएको प्रहरी ठम्याई छ । भारतीय क्षेत्र र देशका अन्य जिल्लाहरुबाट नेपालगन्जमा यौन सन्तुष्टि लिन आउने पुरुष र युवतीहरुको आकर्षण बढ्दो अवस्थामा रहेको बताइएको छ ।

बाँकेमा जबरजस्तीकरणी अर्थात बलात्कार मुद्दा दर्ताको अवस्था र कारवाहीकोे अवस्था फरक फरक छ, । ‘अनुसन्धान अधिकारीहरु भन्छन्’, अदालतमा ८० प्रतिशत मुद्दामा महिलालाई उल्टै जरिवाना हुन्छ, ‘यो प्रहरीको असफलता पनि हो ।’
पहिला बलात्कारको आरोपमा मुद्दा दर्ता गर्ने र पछि बयान फरेर मिलोमतो गर्ने गरेको सन्दर्भबाट प्रहरी कारवाही फितलो देखिन थालेको छ । ‘महिलाले आरोप लगाएको पुरुष आरोपी नै नभएको बयान गएपछि प्रहरीलाई विचमा दल्ने काम मात्र हुन्छ’, अधिकृतले भने, ‘बलात्कार मुद्दा एक प्रकारले ब्यवसायझैं भयो ।’

जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रको त्रिवर्षिय अपराध तालिकामा २०७२।०७३ मा २६, २०७३।०७४ मा ३९ र २०७४।०७५ को हाल चालु आर्थिक वर्ष सम्म ११ वटा बलात्कार भएको घटना दर्ता भएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया