बाँकेमा ह्वात्तै चिसो बढेको छ ।
बाँकेमा जाडो बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले बाँकेका आठवटै स्थानीय तहलाई चिसोबाट नागरिकलाई जोगाउन स्थानीय तहमै योजना बनाएर कार्यान्वयन गर्न अनुरोध गरेको छ ।
बाँके प्रशासनले गाउँपालिकाहरुलाई पत्र पठाउँदै विपन्न र जोखिममा रहेकाहरुलाई न्यानो कपडा वितरण र आगो ताप्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो ।
आइतबार नेपालगन्जमा बाँक्लो कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालगन्जको अधिकतम तापक्रम २५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ ।
यसैबीच
शीतलहरका कारण चिसो बढेपछि बाँकेको विभिन्न ठाउँमा आगो ताप्ने व्यवस्था मिलाइएको छ । लगातार कुहिरोका कारण अत्याधिक चिसो बढेपछि डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाको चोकमा आगो ताप्ने व्यवस्था मिलाइएको वडा सदस्य नेतराम मौर्यले बताउनु भयो । वडा नं. ६ को पहलमा हजरात सामुदायिक बन उपभोक्त समितिले उपलब्ध गराएको दाउरा चौकमा बालिएको हो । चिसोका कारण बाटोमा ओहोर दोहोर गर्नेदेखि स्थानीयवासीलाई बढी असर परेको भन्दै आगो ताप्न दाउरा उपलब्ध गराइएको समितिका सचिव अर्जुन सिँहले बताउनु भयो । बीओपी कालाबञ्जर, ईलाका प्रहरी कार्यालय हिरमिनिया र स्थानीय जनप्रतिनिधीको सहयोगमा आगो ताप्ने व्यवस्था मिलाइएको प्रहरी नायब निरीक्षक प्रशाराम केसीले जानकारी दिनुभयो ।