तीन दिनदेखि नेपालगन्ज टुर मुकाम बनाएर छलफल भेटघाटमा व्यस्त पूर्व राजा ज्ञानेन्द्र सग शनिबार नेपाल सरकारका उपप्रधानमन्त्री कमल थापाले झण्डै दुई घण्टा भेट वार्ता गरेका छन् । शनिबार विहान पूर्व राजा ज्ञानेन्द्रसग भेटघाटकै लागि नेपालगन्ज आएका उपप्रधानमन्त्री थापा भेटघाट पछि काठमाडौं फर्किएका हुन् ।
‘पूर्व राजाले निर्धक्कसग छलफल, भेटघाटका लागि उहा(थापा)लाई नेपालगन्ज बोलाएको बुझियो’, राप्रपा अध्यक्ष समेत रहेका थापाको दौडधुप बारे पार्टी स्रोतले दैनिक नेपालगन्ज सग भन्यो, ‘दुई दिन अघिसम्म उहा नेपालगन्ज आउने बारे सुइको समेत थिएन ।’ पार्टी स्रोतका अनुसार, पूर्व राजा सग सोझै भेटघाटको कार्यक्रम राखिंदा अनेक अर्थ र चर्चा हुने भएकाले एकाएक अगुवा कार्यकर्ता भेला डाकिएको थियो ।
‘कार्यकर्ता भेटघाट भन्दा पूर्व राजा सगको छलफल र बागेश्वरी मन्दिरदर्शन उहा (थापा)को प्राथमिकतामा रह्यो’, पार्टी स्रोतले भन्यो, ‘यसअघि कहिल्यै पनि यसरी बागेश्वरी मन्दिरका लागि प्राथमिकतामा राखेको देखिएको थिएन ।’ उपप्रधानमन्त्री थापाले करिब आधा घण्टा प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको मूल महन्त सग मन्त्रोच्चारण सहित खुला दर्शन गरेका थिए ।
राजसंस्था र हिन्दु राष्ट्रको वकालत गर्दै आएका थापा र उनको पार्टी पछिल्लो निर्वाचनमा नराम्ररी पराजित भएपछि नेपालगन्जमा रहेका पूर्व राजा र प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर दर्शनका लागि साइत जुराएको बताइएको छ । ‘राजनीतिक दृष्टिले अर्थ राख्ने भेटघाट र छलफल गर्न आएको होइन’, पूर्व राजा स“गको भेटघाट बारे पत्रकारले सोधेको प्रश्नमा उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष थापाले भने, ‘यो नितान्त शिष्टाचारका लागि शिष्टाचार भेट हो ।’
थापाले पूर्व राजाको पश्चिम भ्रमण राजनीति प्रेरित नभएको तर्क गर्दै होटल उद्घाटन र धार्मिक मठ, मन्दिरहरुको दर्शनका लागि भएको सुनाए । ‘अलिअलि देशको परिस्थिति बारे जानकारी आदानप्रदान भयो’, के राजनीतिक कुरै भएन त ? जवाफमा उपप्रधानमन्त्री थापाले भने, ‘हाम्रो पार्टीको अवस्था र कार्यक्रम बारे चासो राखेकाले जानकारी गरायौं ।’
पार्टी स्रोतका अनुसार, पूर्व राजा ज्ञानेन्द्र र उपप्रधानमन्त्री थापा बीच झण्डै दुई घण्टा नितान्त ‘वान टु वान’ संवाद भएको हो । ‘त्यस बीच कसैले भेटघाट गर्न पाएन’, सुरक्षा स्रोतले दैनिक नेपालगन्जस“ग भन्यो ।