भारतीय प्रहरीले ब्यापक अनुसन्धान गरी पक्राउ गरेको भनिएको मानवतस्करीका एक अभियुक्त निर्दोष रहेको भन्दै बाँके प्रहरीले थाहै नदिई रिहा गरेपछि अनुसन्धान नै आशंका घेरामा उभिएको छ । मानवतस्करीको आरोपमा सोमवार रुपैडिहा प्रहरीले सूरत गुजरात बस्ने श्रीधर सिंहलाई पक्राउ गरि बाँके प्रहरीको जिम्मा लगाएको थियो । ‘अनुसन्धान गर्दै जाँदा उनी संलग्न नरहेको देखिएकोले रिहा गरिएको हो’, इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज सुधीर खड्काले भने, ‘भारतीय प्रहरीले पक्राउ गर्नु पर्ने ब्यक्ति अर्कै रहेको हो ।’
यता नेपाल प्रहरीले अभियुक्त माथि अनुसन्धान पूरा गर्न नपाउँदै भारतीय संचार माध्यमलाई रुपइडिहा प्रहरीले अभियुक्त सिंह पक्राउको सूचना सार्वजनिक गरेको थियो । भारतीय प्रहरीले उनी मानव तस्करीमा संलग्न रहेको दावी गरेपनि मुद्दा चलाउने आफ्नो अधिकार नभएको बताएको छ ।
‘नेपाल प्रहरीले उसलाई छोड्यो भन्ने कुराले हामीलाई आश्चर्य चकित बनाएको छ’, अनुसन्धानमा संलग्न एक भारतीय प्रहरी अधिकृतले दैनिक नेपालगन्जसग भने, ‘कमसेकम हामीस“ग कन्र्सन गरेको भए हुन्थ्यो ।’‘मुद्दा नेपालमा दर्ता भएका कारण सोही स्थानमा कारवाही हुन्छ, भारतीय प्रहरीले प्रतिक्रियामा भन्यो, ‘लामो अनुसन्धान पछि सिंहलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाइएको हो ।’ यद्यपि खड्काले निजको संलग्नता नदेखिएकोले अनुसन्धान पछि फिर्ता पठाइएको बताए ।
घटनाबारे बाके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेक बहादुर तामांगले पनि निवेदकको निवेदनमा किटानी गरिएको व्यक्ति नभएकाले छाड्नु परेको बताएका छन् । ‘तैपनि बुझ्दै जादा उनी संलग्न भएको पाइयो भने ल्याउन सकिने गरी होटल सञ्चालकका जिम्मा लगाइएको छ’, प्रहरी उपरीक्षक तामांगले भने ।
बा“के प्रहरीका अनुसार, आफ्नै आमाले केन्यामा बेपत्ता भएकी सुनिता सुनारलाई नेपालगन्जसम्म ल्याएर सम्बन्धित एजेन्टका जिम्मा लगाएकी थिइन् । ‘विपक्षीको खोजी गरिरहेका छौं’, आमाले नै पछि छोरीलाई केन्यामा लगेर बेचेको आरोप लगाएर किटानी जाहेरी दिएपछि प्रहरी हर्कतमा आएको जनाउ दिंदै प्रहरी अधिकारीले भने, ‘चाहे जस्तो काम नपाएपछि आरोप लगाएको हुन सक्ने सम्भावना पनि उत्तिकै छ ।’
कसरी भेटिए आरोपी ?
सुर्खेत बस्ने एक युवतीलाई प्रेम प्रसंगमा भारतको गुजरात लगेर केन्या पठाउने योजनामा संलग्नताको आरोपमा एक भारतीय नागरिकलाई प्रहरीले अनुसन्धान गरी नेपाली प्रहरीलाई बुझाएको जनाएको छ । युवतीलाई प्रेम गरेर विवाह गर्ने शर्तमा भारतको गुजरात लगेको र त्यहाँबाट भारतीय नागरिक बनाई दिल्लीको बाटो हुँदै केन्या पुर्याएको योजनामा संलग्न मानिएका सूरत गुजरात बस्ने श्रीधर सिंहलाई सोमवार रुपईडिहा प्रहरीले उनी चलाउँदै आएको बस सहित नियन्त्रणमा लिएको हो ।
आवश्यक अनुसन्धान पछि अभियुक्त सिंहलाई मानव बेचविखन तथा ओसार पसार मुद्दामा थप अनुसन्धानका लागि रुपईडिहा थाना इन्चार्ज आलोक रावले बाँके प्रहरीको जिम्मा लगाएको बताए । सिंहलाई जमुनाहा थाना इन्चार्ज सुधीर खड्काको जिम्मा लगाइएको भारतीय प्रहरीले जनाएको छ ।
सुर्खेत बस्ने युवक राकेश रावतले स्थानीय एक युवतीलाई प्रेम प्रसंगमा गुजरात लगेर भारतीय नागरिक बनाई दिल्लीको बाटो केन्यामा बिक्री गरेको र सो पूरै घटनामा बस चालकको संलग्नता रहेको भारतीय प्रहरी भनाइ छ ।
तीन महिना अघि सुर्खेतबाट राम्रो जीवनको सुरुवातका लागि भारत पसेकी युवती केन्या पुगेको थाहा पाएपछि उनी बेचिएको बारे प्रहरीमा उजुरी परेको थियो । रुपइडिहा प्रहरीले अनुसन्धान गर्दै जाँदा उनीहरु बसमा चढेको सूचना पाएपछि सोही आधारमा अनुसन्धान अघि बढाएको थियो ।
रुपइडिहाबाट सिधा गुजरात सम्म सेवा दिँदै आएको बस चालक श्रीधर सिंह यसअघि पनि मानव बेचविखनमा संलग्न रहेको दाबी रुपइडिहा प्रहरीले गरेको छ । दैनिक नेपालगन्ज संग रुपईडिहा थाना इन्चार्ज आलोक रावले अभियुक्तको बसमा नम्बर दुई किसिमको देखिएपछि बस नै सिज गरिएको बताए । ‘नेपालगन्जको बाटो हुँदै युवतीलाई गुजरात पुर्याएर राहदानी गुजरातमा नै बनाएको पुष्टि भएको हो’, इन्चार्ज रावले भने, ‘अनुसन्धान गर्दै जाँदा प्रेम गर्ने भनेको युवक राकेश रावत फरार भएर नेपालमै बसी रहेको छ ।’ भारतीय प्रहरीले अभियुक्तलाई नेपाल प्रहरीलाई जिम्मा लगाइएकाले थप अनुसन्धान उनीहरुबाटै हुने विश्वास गरेको छ ।
बसमा दुई किसिमको नम्बर माथि गुजरातको र तल उत्तर प्रदेशको युपी ९३ बीटी ३०२५ देखा परेपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । ‘बस पहिला देखि आशंका घेरामा थियो’, अनुसन्धान गरिरहेका रुपईडिहा प्रहरी अधिकृतले भने, ‘बसबाट गुजरात जाने यात्रीहरुमा तस्करीको विषय सुनिएपछि अनुसन्धान अघि बढाइएको थियो ।’
‘बस चालकले युवा युवतीहरुलाई आफ्नै रोहबरमा सहयोग गरेको खुल्यो’, प्रहरीले भन्यो, ‘गुजरात सम्मै बस चालकको नालीबेली बुझेपछि नियन्त्रणमा लिइएको हो ।’ अनुसन्धान अधिकारीका अनुसार, पूरै घटना जाँचमा दुई महिना भन्दा बढि समय भारतीय प्रहरीले खर्च गरेपछि बस चालक सिंहलाई नियन्त्रणमा लिन सफल भएको हो ।
युवती केन्यामा रहेको र उनी शारीरिक दुब्र्यवहार खेपिरहेको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दर्ता गरेपछि भारतीय प्रहरीको सहयोग लिने योजना अघि सरेको थियो ।