नेपालगन्जको वडा नं.२० राँझा देखि करिब एक किलोमिटर भित्र रहेको एउटा वस्ती विद्यालयको जग्गामा परेको भन्दै हटाउन चेतावनी दिएपछि त्यहाँ आश्रित पाँच सय सुकुम्बासी बिचल्लीमा पर्ने भएका छन् । तत्कालिन मनिकापुर गाबिसको क्षेत्रमा पर्ने गुरुवागाँउ जाने बाटोमा अवस्थित सुकुम्बासीहरुको वसोबास हटाउनका लागि स्थानीय सरकारले प्रशासनिक कारवाही प्रक्रिया अघि बढाएको हो । वडा कार्यालयले ४५ दिने सूचना टाँस गरी वस्ती खाली गर्न चेतावनी दिएपछि अहिले आश्रितहर आन्दोलित हुनुपरेको बताएका छन् ।
२०५२ साल देखि ऐलानी प्रति जग्गामा बसोबास गर्दै आएका ब्यक्तिहरुलाई वडा कार्यालयले चलान पत्राचार गरेपछि स्थानीयहरुले सर्वपक्षीय सहयोगको गुहार गरेका छन् । अपांग, एकल महिला, जनजाति, मुस्लिम, कुचबधिया लगायत गरिब समुदायको बसोबास रहेको ऐलानी जग्गा विद्यालयको हो भन्दै वस्ती खाली गर्ने विषय अघि सरेपछि शुक्रवार सर्वपक्षीय छलफल डाकिएको हो । तर, डाकिएको छलफल एक पक्षीय मात्रै हुन पुग्यो । ‘वडा कार्यालय, विद्यालय र सरोकारवाला निकायका ब्यक्ति नपुगेपछि छलफलमा भएको लगानी खेर गयो’, वस्ती बचाउन अभियानका संयोजक शिवलाल शर्माले दैनिक नेपालगन्ज सँग भने ।
सबै पक्षलाई एकै स्थानमा पार्नका लागि हरेक घरबाट ३० रुपैयाका दरले रकम जुटाएर राखिएको छलफलमा कोही नआएपछि स्थानीयहरु निराश देखिए । विद्यालयको नाममा अनावश्यक दुःख दिने नियत थालिएको भन्दै
संयोजक शर्माले भने, ‘यस्तो कार्यका विरुद्ध सबैको सहयोग आवश्यक छ ।’ स्थानीय स्तरबाट उपस्थित हुन सक्ने नेताहरु मञ्चमा देखिए, गाउँका केही भद्रभलादमीहरु र पीडितहरुको सहभागितामा भएको छलफलमा वस्तीलाई विकल्प विना हटाउन नदिने बताए ।
हाल राँझामा संचालित आदर्श उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश आचार्य सहितको टोलीले वस्ती खाली गर्ने चेतावनी दिएपछि बासिन्दाहरुले न्यायिक खोजीको तयारी थालेको बताएका छन् ।
नेपालगन्ज वडा नं.२० का वडा अध्यक्ष कृष्ण कार्कीले २०३६ सालमा उक्त वस्ती भएको जग्गा विद्यालयको नाममा दर्ता भइसकेको बताए । कानून बमोजिम विद्यालयको नाममा गएको जग्गालाई विद्यालयले प्रयोग गर्न पाउने हिसाबले खाली गर्न सूचना टाँस गरिएको अध्यक्ष कार्कीको भनाइ छ ।
‘दुई वर्ष अघि ऐलानी जग्गामा बसोबास गरेका ब्यक्तिहरुलाई निजी जग्गा खरीद गरी त्यसमा ब्यवस्थापन गर्ने कुरो भएको थियो’, वस्ती ब्यवस्थापनमा अगुवाई गरिरहेका विरेन्द्र प्रकाश पुनले भने, ‘५ धुर जग्गाका लागि किस्तामा एक लाख ५० हजार रुपैया तिर्ने योजना थियो ।’
‘स्थानीय गिरिजा पाठकबाट जग्गा खरीद भएपछि स्थानीयले जग्गा खरीद गर्न सकेनन्’, पुनले भने, ‘दातृ निकायको पनि सहयोग जुटाउने अभियान चल्यो त्यो विफल भयो ।’ ‘केहि ब्यक्तिहरुले थोरै रकम तिरेका छन्’, उनले भने, ‘त्यो रकम जग्गा खरीदमा नै गएको छ ।’
गाउँमा रहेका ८० घर परिवार करिब ४०० ब्यक्तिहरु निम्न आय भएका कारण स्वतः स्थापित हुन नसकेको बताएका छन् । स्थानीय युवा सुशील परियारले कतिपयको घरमा दुई छाक टार्न गार्हो रहेको अवस्थामा एक लाख ५० हजारको जग्गाका कसरी खरीद गर्ने भन्ने विषय चुनौतीपूर्ण रहेको बताए ।
झुक्याएर जग्गा लिएको आरोप
दुई वर्ष अघि तत्कालिन आपूर्ति मन्त्री गणेशमान पुनलाई नेपालगन्ज वडा नं.२० स्थित वस्तीका बासिन्दाले भब्य स्वागत गरे । मन्त्रीले वस्तीका लागि विकल्पको विचार बनाउने सम्मको आश्वासन दिए ।
आपूर्ति मन्त्रीको नजिकका ब्यक्ति मानिएका स्थानीय विरेन्द्र प्रकाश पुनले अर्कै स्थानमा जग्गा खरीद गरेर वस्ती ब्यवस्थापनको जिम्मा लिएपछि नापीबाट खटिएको टोलीलाई गाउँमा रहेको ईनार देखि उत्तर तर्फको वस्ती विद्यालयको नाममा नाप्ने योजना बन्यो, वस्ती बचाउन अभियानका संयोजक शिवलाल शर्माले भने, त्यही स्थानमा हामीले धोका खायौं ।
२०७३ साल फाल्गुन १२ गते आदर्श उच्च मावि राँझाले वस्तीले बसोबास गरेको तत्कालिन मनिकापुर गाबिस वडा नं.७ क कित्ता नं.१ र हाल कित्ता नं.२, ३ र ८ लाई आफ्नो नाममा दर्ता गराएपछि वस्ती हटाउने योजना बनेको संयोजक शर्माले बताए ।
त्यति बेलानै हामीले आफ्नो नाममा नापी गराएको भए अहिले समस्या हुँदैन्थ्यो, शर्माले भने, विरेन्द्र र मन्त्रीको आश्वासनमा परेर वस्तीले धोका खाएको हो । पुनले अनुदान, सहयोग र चन्दा संकलनबाट २७ कठ्ठा जग्गा खरीद गरेको उनले बताए । पुनले भने सुकुम्वासीहरुसँग जग्गाका लागि आवश्यक रकम जुट्न नसकेपछि जग्गा दिन नसकिएको दावी गरे । सो स्थानमा विद्यालय आवश्यक रहेको भन्दै मुक्त कमलरीका लागि ८ कोठे भवन पनि निर्माण भएको छ । विद्यालयले आफ्नै पहलमा श्रोत जुटाएर भवन निर्माण गरेको हो । यसबारे विद्यालयका प्रधानाध्यापक प्रकाश आचार्य संगको सम्पर्क प्रयास सफल हुन सकेन ।
न वस्ती आफ्नो रह्यो न नयाँ जग्गा खरीद गर्ने क्षमता भयो, संयोजक शर्माले भने, विद्यालयलाई चाहिने भन्दा निकै बढी जग्गा रहेपनि पूरै वस्ती नै समाप्त गर्ने नियत रहेको पीडितको आरोप छ । ‘इनार देखि उत्तर तर्फ नापी गर्ने योजनामा थाहै नदिएर पूरै वस्तीनै विद्यालयले आफ्नो नाममा पारेको हो’, उनले भने, ‘अहिले वस्ती कहाँ जाने भन्ने स्थिति चिन्ताको विषय हो ।’ विद्यालयले अधिग्रहण गर्न खोजेको जग्गा कित्ता नं.२, ३, ८ मा को क्रमश क्षेत्रफल ९५९०, ४४३० र ८९१० वर्गमीटर रहेको छ ।
आन्दोलनको तयारी
विकल्प नदिएर नेपालगन्ज वडा नं.२० मा रहेको भूमिहीन सुकुम्वासीहरुको वस्ती हटाउने तयारी भएको भन्दै बचाउका लागि पीडितहरुले आन्दोलनको सहारा लिने बताएका छन् ।
नेपालगन्ज वडा नं.२० राँझा स्थित वस्ती हटाउने गरि वडा कार्यालय सूचना टाँस गरेपछि आन्दोलन बाध्यात्मक भएकोे वस्ती बचाउ अभियानका संयोजक शिवलाल शर्माले बताए ।
हामी संग अर्को विकल्प नदेखिएपछि अब आफ्नो सुरक्षाका लागि सडक देखि प्रशासनिक निकाय सम्म गुहार्छौं, शर्माले भने, छलफलका लागि बोलाइएको अवस्थामा कसैले साथ दिएन । गाउँमा रहेका ब्यक्तिहरुको अवस्था अर्को स्थानमा आफै स्थापित हुने हिसाबको छैन, उनले भने, सुनुवाईका लागि हामी मर्न परेपनि तयार छौं ।