छोरीको भविष्य खोज्दै रेखा थापा नेपालगन्जमा

नायिका रेखा थापा नेपाली रजत पटकको एउटा चर्चित नाम हो । त्यस्तै सकारात्मक उत्प्रेरणाका क्षेत्रमा त्यस्तै चर्चित नाम हो, नर बहादुर कार्की । आ–आफ्नो क्षेत्रमा उचाई हासिल गरेका यी दुई व्यक्तित्व नेपालगन्जमा शुक्रबार बाल विवाह अन्त्यका लागि महाअभियानका लागि आइपुगेका छन् ।

 

‘तयारी पूरा भएको छ‘, युवा विद्यार्थी, सामाजिक अभियन्ता र पत्रकारहरु बीच उहाँहरु अभियान प्रस्तुत गर्नुहुनेछ’, आयोजनाको सहसंयोजन गरिरहेकी युवा स्रष्टा ऋचा लुइटेलले नेपालगन्जन्यूजडटकमसँग भनिन्, ‘बाँके जिल्लाका लागि यो अत्यन्तै महत्वपूर्ण आयोजना हो ।’ स्मरण रहोस्, बालविवाहमा बाँके प्रतिनिधिमूलक जिल्लाका रुपमा पर्छ ।
यसअघि सांस्कृतिक कार्यक्रममा आउने गरेकी कलाकार रेखा थापा छुट्टै अभियान लिएर नेपालगन्ज पुगेकी छन् । फिल्म क्षेत्रकी हस्ती नायिका रेखा बाल विवाह विरुद्धको अभियानका लागि नेपालगन्ज पुगेकी हुन् । नेपालगन्जमा बाल विवाह अन्त्यका लागि शुक्रबार संकल्प सम्मेलन हुंदैछ । नितान्त फरक ढंगले आयोजना गरिएको यो कार्यक्रमका लागि युवा उत्प्रेरक नर बहादुर कार्कीले नायिका रेखा थापालाई अभियानसँग जोडेर नेपालगन्ज ल्याएका हुन् ।

 

कार्यक्रमको निम्ता पाए देखि नै निकै उत्साहित देखिएकी रेखाले यस्तो कार्यक्रममा सहभागी हुनपाएको भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत खुसी ब्यक्त गरेकी छन् । उनले कार्यक्रमको निम्तो फेसवुकमा पोष्ट गर्दै भनेकी छन् , ‘कति राम्रो अभियान ! शुभ कामना सफल रहोस् ।’

कार्यक्रम बारे रेखाले आफ्नो विचार पनि फेसबुकमा पोष्ट गरिसकेकी छन् । ‘सम्झिंदा भर्खरै केही गरु जस्तो लाग्ने बिषय हो हजारौ छोरीहरुले बाल विवाहको कारण गुमाएका सपनाहरु । अनि त्यत्तिकै सजिलो छ, टाउको बेटारेर, यो मेरो टाउको दुख्ने बिषय होइन भन्न’, अभियानलाई सामाजिक जिम्मेवारीका रुपमा लिन आव्हान गर्दै रेखाले भनेकी छन्, ‘आफ्नी छोरी चेलीको सुन्दर दुनियाँ छ, किन म असम्भव पहाड धकेल्न लाग्नु ! यो गर्ने सरकार र जिम्मेवार निकायले हो ! आदी इत्यादी चित्त बुझाउने थुप्रै तर्क नभेटिने होइनन् । तर सर्वाधिक अहम प्रश्न यो हो कि, हाम्रो पुस्ता साझा सवालका निम्ति उभिने रोजाइ लिन्छ वा बाँकी छोडेर जान्छ आउने पुसताको निम्ति अनुत्तरित प्रश्नहरुरु ? ’

नायिका रेखाले कार्यक्रमलाई उच्च महत्व दिंदै भनेकी छन्, ‘आउनुस् यो अभियानको महत्वपूर्ण हिस्सा बन्नुहोस् ।’ ‘साठी बर्षको हुँदा यो कुरामा गर्व गर्न चाहन्छु कि मैले आफ्नो हजार दिन जिन्दगी ति छोरीको सवालमा निस्वार्थ हिंडे र रुपान्तरणको हिस्सा बनें जस्को परिणाम लाखौं सपना र जिन्दगीहरु गर्व गर्छन् नेपाली भएर जन्मिनुमा । गर्व गर्छन्, उनीहरुका बुवा आमा र यो देशको चेतना प्रति । आउनु होस्, यो लामो र पवित्र यात्राको हिस्सा बन्नुहोस् ।’

आयोजनाका लागि लायन्स क्लब इन्टरनेशन डिष्ट्रिक ३२५ बी २ का पूर्व गभर्नर सेम शाक्यको संयोजकमा ऋचा लुइटेल र गोपालनाथ योगी सहसंयोजक रहेको आयोजक समिति बनाइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया