बाँकेमा आङ खस्ने रोग, तथ्यांक छैन, अस्पतालले टेर्दैन : जनस्वास्थ्य

महिलाहरुको स्वास्थ्यमा जटिल विषय बन्दै गैरहेको आङ खस्ने रोगबारे जनस्वास्थ्य कार्यालय बाँकेमा अपेक्षित संवेदनशीलता देखिएको छैन । बुधबार नेपालगन्जमा आयोजित एउटा कार्यक्रममा जनस्वास्थ्य न त वास्तविक तथ्यांक दिन सक्यो न त जटिल बन्दै गैरहेको समस्या समाधानका लागि आफ्ना आगामी कार्यक्रम ।

 

गत बर्ष विभिन्न साविकका ५ गाविसमा गरिएको स्क्रिनिङ्ग क्याम्पको तथ्यांकमा अडिएर जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका पब्लिक हेल्थ नर्सिङ्ग अधिकृत सरिता चन्दले भनिन्, बजेट अभावले सीमित ठाउँमा क्याम्प चलाउन सकियो । तथ्यांक माग गर्दा आफुसँग नरहेको भन्दै चन्दले भेरी अञ्चल अस्पतालले तथ्यांक समेत नदिएर अटेरी गरिरहेको पीडा पोखिन् ।

 

सेम्बोलिक रुपमा कालाफाँटा, बैजापुर, रनियापुर, बेलभार र बेतहनीमा गरिएको क्याम्पमा महिला स्वास्थ्य जटिलताका १ सय ९६ घटना फेला परेको जानकारी दिंदै चन्दले भनिन्, बेतहनीमा सबैभन्दा बढी ६० घटना छन् । बेतहनीमै आङ खस्ने जटिल समस्याका २५ वटा घटना फेला परेको भएपनि उनीहरुले उपचार गरे गरेनन् भन्ने तथ्यांक पनि जनस्वास्थ्य सँग छैन । भेरी अञ्चल अस्पतालमा डा. कल्पना थापा सँग सोध्नुस्, चन्दको जवाफ थियो ।

 

अभियान नेपालले केड सँगको साझेदारीमा बुधबार आङ खस्ने सवाल र यौन तथा प्रजनन अधिकारबारे बाँकेका सञ्चारकर्मीहरु सँग अन्तरक्रिया गर्यो । अन्तरक्रियामा केडका प्रशिक्षक इश्वरी नेपालले आङ खस्ने रोगबाट १० लाख बढी नेपाली महिला प्रत्यक्ष प्रभावित भैरहेको तथ्य पेश गर्दै भनिन्, राज्यले ४६ हजारको मात्र उपचार गरेको छ ।

 

अभियानका सल्लाहकार निरज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार झलक गैरे, शुक्रऋषि चौलागाई, रुपा गहतराज, विश्वराज पछलड्ग्या, सिराज खान लगायतका पत्रकारले धारणा राखेका थिए । केडका अधिकृत राम भट्टराईले देशका २२ जिल्लामा आफुहरुले आङ खस्ने रोगबार पैरवी सुरु गरेको बताए । बाँकेकी अभियन्ता सपना भट्टराईले बहस पैरवी सँगै जिल्लाका विभिन्न क्षेत्रसँग समन्वय गरेर बाँकेमा आङ खस्ने रोगबारे सचेतना अभियान थालिएको जानकारी दिइन् ।

प्रतिक्रिया

प्रतिक्रिया