बाँके नरैनापुर गाउँपालिका वडा नं.५ स्थित एक १४ बर्षिया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा एक जना म्याद प्रहरी पक्राउ परेका छन् । घटनामा संलग्नताको आरोपमा रहेका तीन जना म्यादी प्रहरी मध्ये दुई जना भाग्न सफल भएको र इलाका प्रहरी कार्यालय भगवानपुर अन्तरगत खटिएका म्यादी प्रहरी टेक बहादुर बिकलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको स्थानीयले बताएका छन् ।
सोमवार साँझ करिब ८ बजेको समयमा घटना भएपनि मंगलवार साँझ सम्म पनि इलाका प्रहरी कार्यालय भगवानपुरले कारवाहीको सट्टा घटना मिलाउन खोजेपछि स्थानीय स्तरमा विवाद उत्पन्न भएको हो । स्थानीय बासिन्दा ससिराम बुढाथोकीले दिएको जानकारी अनुसार, १४ वर्षिया किशोरी मानसिक स्थिति असन्तुलित अवस्थामा रहेको र सोही अवस्थालाई प्रहरीले फाइदा लिन खाजेको बताए ।
‘मंगलवार दिउँसो उजुरी दर्ता गर्न पुगेको पीडित परिवारलाई डर त्रास देखाएर फिर्ता गरिएको हो’, बुढाथोकीले भने, ‘सम्बन्ध विच्छेद पछि आमा र छोरी मात्र घरमा बस्ने भएकोल प्रहरीले जबरजस्ती गर्न खोजेको हो ।’ इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक हरिहर खड्काले खासै कुनै घटना नभएको बताएका छन् । ‘यसमा विवाद बढाउन खोजिएको मात्र हो’, उनले भने, ‘बलात्कार भएका होइन ।’
यद्यपि पीडितको मेडिकल जाँच किन गरिएन भन्ने विषयमा उनले बोल्न चाहेनन् । संलग्न दुई जना म्याद प्रहरीको नाम पनि प्रहरीले गोप्य राखेको पीडित पक्षको आरोप छ । ‘हामी कारवाही चाहन्छौं’, पीडित किशोरीकी आमाले भनिन्, ‘प्रहरीले हाम्रो उजुरी नै लिन मानेको छैन ।’ मंगलबार नेपालगन्ज न्युज डट कमले समाचार घटना सार्वजनिक गरेपछि बढेको चौतर्फी दबाव पछि मंगलवार साँझ मात्रै इलाका प्रहरी कार्यालय भगवानपुरले पीडितको उजुरी दर्ता गरेको छ । दबाव पछि प्रहरीले आफ्नै गाडीमा राखेर पीडित र निजकी आमालाई साँझ ६ बजे नेपालगन्ज पुर्याएको प्रहरी श्रोतले बताएको छ ।
घटनामा तराई मानव अधिकार रक्षक सञ्जाल बाँकेले चासो थालेको बताएको छ । क्षेत्रीय प्रमुख आलम खानले दैनिक नेपालगन्ज संग भने, हाम्रो तर्फबाट पीडितको स्वास्थ्य जाँच गरी मुद्दा चलाउन दबाव दिइएको बताए ।
‘कुनैपनि किशोरी, बालबालिका माथि प्रहरीबाटै यस्तो घृणित कार्य हुन्छ भने त्यो दुखद हो’, खानले भने, ‘यसमा आवश्यक कानून पहलका लागि हामी साथ दिन्छौं ।’
बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामांगले पीडित बालिका र निजको आमालाई आवश्यक परामर्श र स्वास्थ्य जाँचका लागि संगै ल्याइएको बताएका छन् । ‘साँझ पीडित किशोरी र निजको आमालाई नेपालगन्ज ल्याइएको हो’, उनले भने, ‘म्यादी प्रहरीलाई तत्काल थुनामा राखिएको छ ।’
किशोरीको मेडिकल जाँच पछि आवश्यक कानूनी कारवाही अघि बढाउने एसपी तामांगले बताए । ‘यस्तो प्रकारको घटनामा संलग्न कुनै पनि ब्यक्तिलाई उन्मुक्तिको विषय हुनै सक्दैन’, उनले भने, ‘बलात्कार पुष्टि नभए जबरजस्तीकरणी उद्योग मुद्दाका लागि बयान नै प्रमाणको रुपमा संकलन गरिएको छ ।’ अबेर राति पीडित किशोरीको स्वास्थ्य जाँचपछि सुरक्षित महिला सेल्टरमा राखिने प्रहरीले जनाएको छ । म्यादी प्रहरी बिक उपर मुलुकी ऐन जबरजस्तीकरणी उद्योग अन्तर्गत मुद्दा दर्ता गरिएको एसपी तामांगले बताए ।