सम्भोग र सहाराले भत्किंदैछ सम्बन्ध

नेपालगन्ज/विनय दीक्षित
बढ्दो पारिवारिक विचलन

श्रीमान विदेश जाँदा वा स्वास्थ्यका हिसाबले यौन चाहना मेटाउन असक्षम हुँदा अर्कै ब्यक्ति रोज्ने महिलाको संख्या बाँकेमा बढ्दै गइरहेको खुलासा भएको छ । विदेशबाट आएको रकम सहित श्रीमती अर्कै संग गएको, सम्पत्ती सहित श्रीमती गायब भएको वा सम्बन्ध विच्छेद नै गरेर अर्को ब्यक्ति संग विवाह गरेका तथ्यको संख्याले उपरोक्त तथ्य खुलासा भएको हो । त्यसखालका घटनाबाट बाँके जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय बाँकेको अभिलेख विस्तारै बढि रहेको छ ।
विदेशबाट तीन वर्षपछि फर्किंदा श्रीमती अर्कै संग गएको विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेमा श्रीमतीको खोजीका लागि उजुरी दर्ता गर्नेहरुको संख्या अकल्पनीय छ । ‘यसले सामाजिक अवस्थानै कुरुप पारिरहेको’ भन्दै सम्बद्धहरुले चिन्ता गरेका छन् । श्रीमती छोरा छोरीकै भविष्यका लागि खाडीमा काम गर्न गएको पुरुष फर्किने समयमा बच्चाको विजोग, अर्कै संग श्रीमती, धन सम्पत्ती वेपत्ता जस्ता घटनाले अचेल सामाजिक द्वन्द्वको सृजना गर्न थालेको देखिएको छ ।
विदेशबाट फर्किंदा श्रीमतीको ब्यवहार फेरिएको, झैझगडा थालेको वा श्रीमतीले नै कर गरेर विदेश पठाएको सम्म तथ्यहरु प्रहरी माझ छन् । यो समाचारमा ति सबै पात्रका पहिचान लुकाइएको छ । यो रिर्पोटिङका क्रममा संवाददाता जिल्ला प्रहरी कार्यालय बाँके पुग्दा कोहलपुर बस्ने एउटा जोडी आइतवार पनि प्रहरी रोहबरमा छलफल गरेर समस्या टुंग्याउने प्रयास गरिरहेको थियो । उनीहरुको विवादको विषय यौननै थियो ।

 

बुहारी सम्पत्ती लिएर वेपत्ता रहेको विषयमा हालै परेको उजुरीमा प्रहरीले अनुसन्धान गर्दा उनी अर्कै ब्यक्ति संग बसिरहेको तथ्य बाहिर आयो । घटना कम्दी बाँकेको हो । श्रीमान दुबई हुँदा श्रीमती यता अर्कै ब्यक्ति संग लहसिइन, अन्ततः दुबईमा बगाएको पसिनाको सबै मूल्य लिएर उनी अर्कैसँग भागिन् । दुबईबाट फर्किंदा न कमाई न त श्रीमती ।
श्रीमानलाई विदेश पठाएर अर्कै ब्यक्ति संग साथ संगत गर्ने महिला र त्यहाँ उत्पन्न भएका समस्याबाट प्रहरीको छलफल र कारवाही अछुतो रहेन । ‘अधिकाँश उजुरी महिला र पुरुष विच रहेको यौन असन्तुष्टिका आउँछन्,’ जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी सहायक निरीक्षक श्याम कुमारी मगरले भनिन्, ‘आपसी असमझदारी बढ्दै गएपछि हिंसा, कूटपीट लगायतको उजुरी आएपनि असन्तुष्टि नै मुख्य चासो रहेको पाइयो ।’

 

‘श्रीमान श्रीमतीको विचमा भएको झगडा यदि प्रहरी सम्म पुग्छ भने विचमा पक्कै पनि तेस्रो ब्यक्ति छ भन्ने बुझ्नु पर्छ,’ प्रसनि मगरले भनिन्, ‘आएका सम्पूर्ण उजुरी मध्ये असमझदारी र असन्तुष्टि मुख्य विषय हुने गरेको पाइयो ।’
विवादित महिलाहरु संग परामर्शमा कुरा गर्दा उनीहरुले भित्रि विषयमा बताउँदा कति कुरा पत्याउनै गार्हो हुने गरेको मगरको भनाइ छ । श्रीमती भागेको, श्रीमान अर्कै संग लागेको वा श्रीमतीको अरु संग अनैतिक सम्बन्ध रहेको विषयमा विवाद हुँदा अन्ततः विषय सम्बन्ध विच्छेद सम्म पुग्छ, उनले भनिन्, ‘बाँकेमा यस्ता घटनाहरुकोे सिलसिला भयावह छ ।’

 

श्रीमान विदेश साउदीमा काम गरेको १८ महिना पछि श्रीमतीले घरमा दुई नाबालकलाई छाडेर वेपत्ता भइन् । नेपालगन्ज वडा नं.५ मा डेरा गरी बस्ने महिला १० वर्षिया छोरी र ८ वर्षिय छोरा छाडेर अर्कै पुरुष संग गएपछि परिवारमा अहिले विचल्लीको स्थिति छ ।

 

दैनिक नेपालगन्जको सम्पर्कमा पुगेका महिलाका ससुराले फेसबुकको चक्करमा बुहारी गलत संगतमा परेको दावी गरेका छन् । दिनहुँ घण्टौं सम्म मोबाइल चलाई रहने भएकोले सो विषय नै कारणको रुपमा रहेको अनुमान गर्दै ससुरा माधव खत्रीले भने, ‘हामीलाई कुनै शंका थिएन कि उनी यसरी बहकिन्छिन् ।’ आफु मजदुरी गरेर परिवार चलाउँदै आएका खत्रीले दुःखजेलो गरेर छोराले कमाएको ५ लाखबढी रकम लिएर गएकोमा थप पीडा छ ।
कलिलो उमेरमा किशोरीहरु भाग्ने गरेको विषय अझ गहिरो छ । बाँके प्रहरीले किशोरी खोज्दै अभिभावकको जिम्मा लगाउँदै आएको छ । धेरै दबाव भएपछि मुद्दा पनि चल्छ अधिकारीहरु भन्छन्, ‘अधिकाँश अवस्थामा मेलमिलाप नै उत्तम ठानिन्छ ।’

 

कक्षा १० मा पढ्दै गर्दा प्रेम सम्बन्धमा फरार भएकी बाँके बेतहनीकी एक किशोरीको विषयमा बाँके प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गर्यो । अभियुक्त किशोर फरक समुदायको भएकोले मुद्दा दर्ता गरिएको प्रहरी भनाइ छ । पछिल्लो ६ महिना देखि किशोर मुद्दा पुर्पक्षमा थुनामा रहेको प्रहरीले जनाएको छ ।
बाँके बलात्कार, घरेलु हिंसा, मानवबेचविखन, बहुविवाह, बालविवाहको अवस्थालाई मध्यनजर गर्दा सामाजिक समस्या संगै स्वास्थ्यमा पनि चुनौती देखिएको मान्न सकिन्छ । यस किसिमका घटना अनुसन्धान गर्ने प्रहरी अधिकारीले यी विषयहरु यौनसंग जोडिएको बताएपछि वास्तविक तथ्य र कारण बारे चिकित्सकीय सिद्धान्तबाट नालीबेली बुझ्ने प्रयास गरियो ।

यौनबाटै मानसिक सन्तुलन

पारिवारिक जीवनशैलीमा ब्यस्त हुँदा कतिपय अवस्थामा यौन सम्पर्क खासै महत्वको विषय नठानिएतापनि मानसिक स्थिति सामान्य बनाइराख्न यस्को निकै महत्व रहेको चिकित्सकले बताएका छन् । ‘लामो समय श्रीमान विदेश जाँदा वा टाढा रहँदा परिवारमा ब्यवस्थित रहेको यौन स्वास्थ्यमा अभाव हुन जान्छ’, डा.सरोज खान भन्छन्, ‘त्यसरी उत्पन्न भएको समस्या ब्यवस्थापन गर्ने क्रममा नै महिला वा पुरुष विकल्पको सहारा लिन्छन् ।’
यो घटना महिला र पुरुष दुबै पक्षमा एकै किसिमको छ । नेपालमा करिब ४० प्रतिशत भन्दा बढि मानिसहरुमा यौन उत्सुक्ता र चासो हिस्टेरियाकै रुपमा देखा परेको बताउँदै डा.खानले भने, ‘लामो समय सम्म यौन चाहना पूरा गर्न नपाउँदा मानसिक असन्तुलनको स्थिति उत्पन्न हुन्छ ।’ ‘मानसिकतामा आवेज्ञात्मक सोंच उत्पन्न हुन्छ,’ डा.खान भन्छन्, ‘त्यही सोंचले मानिसलाई अघि पछिको विचारबाट बन्चित गरेर घटना गर्न प्रेरित गर्छ । यसरी लामो समय श्रीमान वा
श्रीमती बाहिर बस्दा, एकअर्कामा दुबै तर्फ ‘डिप्रिभमेन्ट सेक्सुअल रिलेसन फिजेट्रिक इलनेस’ हुने भएकोले श्रीमान वा श्रीमती अर्कै संग जानु स्वाभाविक भएको हो, उनले भने, ‘यस्तो स्थितिमा पर्याप्त ब्यायाम र मानसिक साधनाबाट मात्र शरीरिक र मानसिक नियन्त्रण सम्भव छ ।’

धेरै उत्सुक हुनु, बेहोस हुनु, एकान्तमा बस्नु, सामाजिक सञ्जालमा बढि रुचि देखाउनु लगायतलाई डा.खानले प्रारम्भिक लक्षण भएको बताए । पारिवारिक झैझगडा, यौन असन्तुष्टि, श्रीमानको कमजोरी, यौन स्वास्थ्यको अज्ञानता लगायत पनि कारणको रुपमा रहेका उनले बताए । यसमा अनुसन्धान गर्दा विभिन्न फरक फरक तथ्यहरु पनि देखा पर्छन्, दैनिक नेपालगन्ज संग कुरा गर्दै डा.खानले भने, ‘एक्लो महिलाको विषयमा ज्ञान भएको ब्यक्तिले त्यस्तो अवस्थामा नजिक हुन खोज्छ ।’ कतिपय अवस्थामा महिला एक्लै रहेको स्थितिमा सहारा खोज्नु स्वाभाविक भएको बताउँदै डा.खानले सोही परिस्थितिको फाइदा लिनेहरुले सामाजिक समस्याकै रुपमा घटनाहरु उत्पन्न गरेका छन् ।

कतिपय अवस्थामा दिनहुँ एकै किसिमको र एकै ब्यक्ति संगको यौन सम्पर्कले इच्छा अनुसार सन्तुष्टि दिन नसक्दा पनि परिवारमा मतभिन्नता बढ्ने गरेको पाइएको डा.खानले बताए । यसमा यौन स्वास्थ्य, सम्पर्क र सम्भोगका उचित तरीका, माध्यम र अनुशासन बुझ्न नसक्नेहरुबाट सामाजिक विचलन स्वाभाविक भएको डा.खानको भनाइ छ ।
महिला र पुरुष दुबैले एकअर्कालाई समान र सुमधुर ब्यवहार गरेर विश्वसनीय वातावरण कायम राख्नु नै उत्तम उपचार रहेको डा.खानले बताए । त्यसका लागि श्रीमान श्रीमती जहाँ भएपनि समय समयमा नजिक हुनु जरुरी रहेको सम्बद्ध चिकित्सकहरु सुझाउँछन् ।

उजुरीको चाङ

जिल्ला प्रहरी कार्यालय बाँकेमा पारिवारिक विवाद, असमझदारी र घरेलु हिंसामा उजुरी दर्ता हुने सिलसिला बढ्ने क्रममा छ । महिला तथा बालबालिका सेवा केन्द्रमा दर्ता भएका उजुरीहरु बारे दुबै पक्षको छलफल गराउँदा सामान्य विषय भएपनि पारिवारिक अज्ञानता, असमझदारी र विचलनले उजुरी दर्ता हुने गरेको पाइएको प्रहरी सहायक निरीक्षक श्याम कुमारी मगरले बताइन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा आर्थिक वर्ष २०७२÷०७३ मा ३२८, २०७३÷०७४ मा ३९७ र पछिल्लो आर्थिक वर्षको ५ महिनामै १२६ वटा महिला सम्बन्धी उजुरी दर्ता भएको छ । त्यस्तै, महिला तथा बालबालिका हराएको विषयमा उजुरीको संख्या आर्थिक वर्ष ०७२/०७३ मा ३०५, २०७३/०७४ मा ३५३ र पछिल्लो आर्थिक वर्षको ५ महिनामा १०८ छ ।
अलपत्र अवस्थामा फेला परेका र उद्वार गरिएका बालबालिका तथा महिलाको संख्या आर्थिक वर्ष २०७२/०७३ मा ७७, २०७३÷०७४ मा ३१ र हाल जारी रहेको आर्थिक वर्षमा हाल सम्म १२ रहेको छ । सिमा नाकाबाट प्रहरीले आर्थिक वर्ष २०७२÷०७३ मा ४४५, २०७३/०७४ मा ३०७ र हाल जारी रहेको आर्थिक वर्षमा हाल सम्म ९१ जना महिला तथा बालबालिकालाई उद्वार गरेको छ ।

असुरक्षित महिला

जिल्ला प्रहरी कार्यालय बाँकेको तीन वर्षिय अभिलेखलाई मुल्याङ्कन गर्दा बाँकेमा जबरजस्तीकरणी (बलात्कार) बढ्दो अवस्थामा रहेको पाइएको छ ।

जिल्ला प्रहरीको अभिलेख अनुसार, आर्थिक वर्ष २०७२÷०७३ मा जबरजस्ती करणीका २३, जबरजस्तीकरणी उद्योगको २३, मानव बेचविखनको १२, बहुविवाहको ७ वटा मुद्दा दर्ता भएको छ । आर्थिक वर्ष २०७३/०७४ मा जबरजस्ती करणीका ३९, जबरजस्तीकरणी उद्योगको २७, मानव बेचविखनको १८, बहुविवाहको २३ वटा मुद्दा दर्ता भएको हो ।

 

चालु आर्थिक वर्षको ५ महिनामा जबरजस्ती करणीका ११, जबरजस्तीकरणी उद्योगको ४, मानव बेचविखनको ६, बहुविवाहको २ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया