ट्राफिक प्रहरीमा बेहिसाब घूस

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन पछि सुरक्षा अवस्था बारे समीक्षा गर्न प्रहरीले नेपालगन्जमा शनिवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुको गुनासोको ओइरो नै लाग्यो । प्रहरीले दुबै तहको निर्वाचनमा भएका गतिविधि र सुधारका लागि खाँचो रहेको तथ्य बारे छलफल गर्न नेपालगन्जमा आयोजना गरेको प्रदेश सुरक्षा बारे अन्तरक्रियामा सहभागीहरुले प्रहरी गतिविधि सन्तोषजनक नरहेको बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक नेपालगन्जका प्रमुख भोला महतले, निर्वाचनका दौरान बाँकेमा सुरक्षा ब्यवस्था चुस्त रहेको पाइएपनि अझै भारतीय क्षेत्रबाट मृत कुखुरा तस्करी हुँदै आएको तस्वीरले प्रहरी क्रियाकलाप सन्तोषजनक नरहेको देखाएको बताए ।

 

विहान मर्निंगवाकमा प्रायः भारतीय क्षेत्रबाट कुखुरा तस्करी भइरहेको दृष्य देखिएपनि छिटपुट कारवाही बाहेक निषेधको काम प्रहरीले गर्न नसकेको प्रमुख महतले बताए । उनले सोही अनुसार रोगी र क्वारेन्टाइन चेकजाँच अभावमा मासुजन्य सामाग्री नेपाल भित्रिएको विषयमा प्रहरी चासो नहुनुलाई अनौठो रहेको बताए ।

 

लागुऔषध चरेस र ब्राउनसुगरबाट बाँके अक्रान्त रहेको बताउँदै महतले प्रहरीले नियन्त्रण किन गर्न नसकेको भन्ने विषयमा प्रश्न खडा गरे । उनले, विद्यार्थीलाई थप प्रभावकारी ढंगले यसबारे सचेत बनाउनुका साथै लागुऔषध विरुद्ध कडाईको खाचो रहेको बताए । ५ नं.प्रदेशको शान्ति सुरक्षाको कार्यनीति र निर्वाचन सुरक्षा समिक्षाको लागि आयोजित कार्यक्रममा सहभागी पत्रकार दामोदर भण्डारीले ट्राफिक प्रहरी घूसको भरमा चलेको बताए । ‘कुनै प्रहरी विट, चेक प्वाइन्ट र युनिट छैन जहाँ घूस नचलेको भेट्न सकियोस्’, उनले भने, ‘चेकजाँचको नाममा ओभरलोड देखि बालुवा गिट्टी सम्म कमिशन चल्ने गरेको छ ।’ ‘प्रहरीलाई काम गर्नका लागि खटाइएपनि रिशवत लिनका लागि तैनाथ रहेको दृष्यबाट नेपालगन्ज अछुतो छैन’, पत्रकार भण्डारीले भने, ‘ट्राफिक प्रहरीले असूली गर्ने घूसको रकम आम उपभोक्ताले ट्याक्टरधनीलाई तिर्नु पर्छ ।’
सस्तोमा आएको बालुवामा तिरेको घूस रकम समेत आम नागरिकले बुझाउनु पर्ने अवस्थाबाट मुक्तिका लागि प्रहरीले कस्तो अभियान चलाउँछ भण्डारीले प्रश्न गरे । ‘एकै ट्रालीमा तीन ट्राली बराबरको सामाग्री लोड गर्नुको कारण प्रहरीलाई तिर्नु पर्ने घूस रकम पनि हो’, उनले भने । विचमा ट्राफिक प्रहरीले गर्ने असूलीबाट ट्याक्टरधनी र प्रहरी दुबैलाई फाइदा भएपनि आम उपभोक्ता मर्कामा पर्ने गरेको गुनासो बाहिर आएको हो ।
प्रदेश नं.५ का प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक मधु पुडासैनी सहभागी रहेको कार्यक्रममा सहभागीले प्रहरी क्रियाकलाप सन्तोषजनक नरहेको टिप्पणी गरेका हुन् । निर्वाचनका दौरान केहि आकस्मिक घटना हुन नपाएका कारण प्रहरीको प्रयासको सरहना गर्दै अधिकांशले प्रहरी आचरणमा आशंका उत्पन्न गरे ।

 

‘सुरक्षाका लागि चेकजाँच हुँदा पनि काजगात र लाइसेन्स मात्रै हेरिन्छ’, पत्रकार रुद्र सुवेदीले भने, ‘यस अर्थमा चेकजाँचलाई प्रभावकारी मान्न मिल्ने देखिएन ।’ कार्यक्रममा सहभागी पत्रकार कृष्ण अधिकारीले तारजाली भित्र भएको मतगणना कार्यलाई २१औं सताब्दीमा मानवअधिकार विरोधी कार्य भएको बताए । तारजाली भित्र थुनेर सामान्य मानवअधिकारका न्युनतम् मापदण्डलाई पनि प्रहरीले हेक्का नराखेको गुनासो गर्दै पत्रकार अधिकारीले, आम नागरिकलाई काँजी हाउसमा थुनेको जस्तो महसुस भएको टिप्पणी गरे ।

 

नेपालगन्ज उपमहानगर–पालिकाकी उपमेयर उमाथापा मगरले, निर्वाचनका दौरान प्रहरीको समन्वय ठिक रहेपनि आचारसंहिता उलंघन र बालबालिका प्रयोगको घटना यत्रतत्र भएको टिप्पणी गरिन् । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले, ब्यवसायीको पसल, डिलर र भण्डार गृहमा छापा मारेर प्रहरीले ब्यवसायीलाई आतंकित तुल्याउन खोजेको बताए ।

 

खुल्ला सिमानाबाट तस्करी हुने कार्यलाई नाकामानै पक्राउ गर्न आवश्यक रहेको बताउँदै अध्यक्ष बैश्लले, ब्यवसायीलाई आतंकित नगर्न आग्रह गरे । उनले प्रहरी क्रियाकलाप बाढी, आगलागी लगायत सबै क्षेत्रमा सरहनीय भएपनि तस्कर विरुद्धको अप्रेशनमा ब्यवसायी आतंकित भएको बताए ।

 

कार्यक्रममा सहभागीहरुले प्रहरीका क्रियाकलाप बारे असन्तोष ब्यक्त गर्दै अझ प्रभावकारी ढंगले काम गर्न आवश्यक रहेको सुझाव दिएका थिए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले चरेस सम्बन्धी घटनामा प्रहरीले वर्षौं देखि मात्र भरियालाई नियन्त्रण गर्दै आएको कारण बारे प्रष्ट पार्न अनुरोध गरे । पक्राउ परेको ब्यक्तिले आफु निश्चित स्थानबाट निश्चित स्थान सम्म पुर्याउन केहि रकम मात्र पाएको बताउँदै आएपनि प्रहरीले मुख्य नाइकेलाई हाल सम्म पक्राउ नगर्नुको कारण बारे आशंका उत्पन्न हुन थालेको अध्यक्ष थारुले बताए । तत्कालका लागि प्रहरीले थप अनुसन्धान जारी रहेको भनेपनि पछि उक्त अनुसन्धान पूरा भए नभएको अवस्था बारे जानकारी नदिने गरेको समेत अध्यक्ष थारुले गुनासो पोखे । कार्यक्रममा ट्राफिक प्रहरीका क्षेत्रीय प्रमुख एसपी राजेन्द्र खड्का, बाँके प्रहरी प्रमुख एसपी टेक बहादुर तामांग लगायत सुरक्षा अधिकारीहरु सहभागी थिए ।

निर्वाचनमा १ सय ३२ माथि मुद्दा

प्रदेशन नं.५ को प्रहरी कार्यालय दाङ्गले नेपालगन्जमा एक कार्यक्रम आयोजना गरि निर्वाचन अघि र निर्वाचन पछिको सुरक्षा अवस्था र घटनाक्रम बारे जानकारी दिएको छ । प्रदेश नं.५ का प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक मधु पुडासैनीले निर्वाचनका दौरान भएका छिटपुट घटना बाहेक सबै स्थिति प्रहरी नियन्त्रणमा रहेको जानकारी दिएका हुन् । संघीय प्रहरी इकाई कार्यालयमा आयोजित कार्यक्रममा सुरक्षा अवस्था सामान्य रहेको जानकारी दिइएको हो ।
चारवटै सुरक्षा निकाय, स्थानीय प्रशासन तथा निर्वाचन सम्वद्ध सबै सरोकारवाला निकायहरुको समन्वयात्मक निर्वाचन सुरक्षा ब्यवस्थापनबाट केहि सामान्य घटना बाहेक सबै स्थानमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक पुडासैनीले बताए । प्रदेश नं.५ को १२ वटै जिल्लामा नेपाल प्रहरी वार्षिक रणनैतिक कार्ययोजना बमोजिम प्रहरी सेवा प्रवाह भइरहेको प्रमुख पुडासैनीले बताए । ‘समग्रमा प्रदेशको शान्ति ब्यवस्था सामान्य छ’, उनले भने ।

 

निर्वाचनका दौरान कुल १४५ जना पक्राउ परेकोमा १ सय ३२ जना माथि मुद्दा चलाइएको प्रहरीले जनाएको छ । जनताले प्रहरी संग प्रदेशस्तरीय सुरक्षा ब्यवस्था, नयाँ अपराधिक प्रवृति, कालोबजारी, ग्यास पेट्रोलियम पदार्थको अब्यवस्थित भण्डारण, संगठित अपराध तथा गुण्डागर्दी, साइबर अपराध, लेनदेन तथा अत्यधिक ब्याजदरमा लगानी, चोरी, विद्युतीय आगलागी, अब्यवस्थित सहरीकरण, अब्यवस्थित ब्यवसाय लगायत क्षेत्रमा सकारात्मक रुपमा काम गर्न आग्रह गरेको प्रमुख पुडासैनीले बताए ।

 

शनिवार आयोजित निर्वाचन सुरक्षा समिक्षा अन्तक्रियामा प्रमुख पुडासैनीले ७ वटा प्राथमिकताहरु सार्वजनिक गरेका छन् । प्रभावकारी शान्ति सुरक्षा, अपराध अनुसन्धान र नियन्त्रण, संगठित अपराध तथा गुण्डागर्दी, डन तथा टोले गुण्डा प्रवृति पूर्णरुपमा निर्मूल, लागुऔषध विरुद्ध क्लिनिंग इलिगल ड्रग एब्युज (सिदा) अप्रेशन, प्रभावकारी प्रहरी सेवा प्रवाह, सुशासन कायम गर्न प्रशासनिक सुधार लगायत कायम गर्ने उनले बताए । पुडासैनीका अनुसार प्रविधिको अधिकतम् प्रयोग, वैज्ञानिक रुपमा जनशक्ति परिचालन, जनताको अपेक्षाको पहिचान र सम्बोधन, प्रभावकारी ट्राफिक ब्यवस्थापन लगायत योजना रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया