वैदेशिक रोजगारी पछि महिलामाथि मानसिक यातना

बैदेशिक रोजगारबाट फर्किएका महिला कामदारहरुले परिवारका सदस्य तथा छिमेकीहरुले बिभिन्न लान्छना र आरोप लगाएर मानसिक तनाब दिने गरेको गुनासो गरेका छन् ।
नेपालमा रोजगारीको अबसर नहँुदा ऋण लिएर बैदेशिक रोजगारमा गएको बताउदै कामदार महिलाहरुले बिदेशमा शारीरिक मानसिक सहेर पैसा कमाएर फर्कंदा पनि सहनै नसक्ने बचन सुन्न बाध्य भएको बताएका छन् ।
‘यो बिदेश गएर फर्के पछि यसको पहिरन, चाल चलन नै फरक भएको छ भन्ने जस्ता टिप्पणी गर्दै चरित्र माथि नै प्रश्न उठाएर हैरान पार्ने गरेको गुनासो महिला कामदारहरुको छ । तथ्य र आधार बिनै चरित्र माथि प्रश्न उठाउदै टिप्पणी गर्नेहरु माथि कडा कारबाही हुनु पर्ने माग उनीहरुको छ ।

 

आफन्तको सहयोगमा बैदेशिक रोजगारीको लागि कुवेत पुगेकी बाँके चिसापानीकी महिला कामदारले आफ्नो पीडा सुनाउदै भनिन् ‘भारतको दिल्ली हुँदै कुवेत पुगें । धेरै पैसा कमाई हुने लोभले कुबेत पुगे पनि निकै दुःख र यातना सहनु पर्यो । उनीहरुले भनेको कुरा नबुझ्दा पटक पटक पिटाई खाएँ । कति दिन खाना नै खान पाइन । तर, यहाँ आएपछि आफ्नै घर समाज र आफन्तबाट उल्टै अपहेलित हुनुपरेको छ ।’

 

अनेकौ दुःख गरेर कामएर पैसा पठाउँदा मख्ख पर्ने परिबारका सदस्यहरुले नै अनावश्यक शंका गरेर मानसिक यातना दिने दिंदा धेरै पीडा हुने गरेको उनले बताइन । ‘आर्थिक स्थिति कमजोर थियो, घर सल्लाहले नै श्रीमानले पठाउनु भएको हो,’ उनी आफ्नो दुःखेसो व्यक्त गर्दै भन्छिन्, ‘म अनपढ थिएँ, जाँदा पनि कता कताबाट लिएर गए थाहा भएन । काम गर्ने ठाँउमा पुगेको ९ महिनापछि मात्र घरपरिवारको सम्पर्कमा आएकी हुँ । मैले विदेशमा भोगेको दुःख र कष्ट भन्दा पनि अहिले मेरा आफन्त भनाउँदाहरुले चोक र चौतारीमा बसेर म र म जस्ता दिदिबहिनीको विषयमा गरेको चर्चाले झनै मर्माहत बनाएको छ ।’ उनले भावुक हुँदै भनिन् ।

 

कोहलपुरकै अर्की महिला श्रीमानको निधनपछि दुई सन्तानको भविष्यका लागि दिल्ली हुँदै साउदी सम्म पुगिन् ।
तर साउदी पुगेकै दिनदेखि उनको ‘कालो’ दिन सुरु भयो । ‘खेती गरुँ जमिन थिएन, पढेकी छैन । छिमेकमा एकजनाले विदेश कमाउन जाने कुरा सुनाएँ । घरेलु मदिरा बनाउँदै जेनतेन पासपोर्ट बनाएँ । मलाई अरु थाहा थिएन साउदी जाने जहाज दिल्लीबाट चढेकी हुँ ।

 

साउदीमा पुग्ने वित्तिकै कार्यालयको सरसफाईको लागि भनेर लगेका थिए । तर, घरमा लगेर काम गर्न लगाए । भाषा नबुझ्दा कति कुटाई र यातना खाएँ यो मन र ज्यानलाई नै थाहा छ ।’ उनले अति कष्ट सहदै गर्दा त्यहाँबाट भागेर नेपाली दूतावास हुँदै नेपाल फर्केको बताइन् । ‘केही कमाउँला र छोराछोरीको भविष्य बनाउँला भनेर विदेश गएँ तर, कमाउन त कहाँ हो कहाँ ज्यान जोगाएर फर्कें । यहाँ पुगे त्यहाँ त शारीरिक यातना थियो यहाँ भने विभिन्न लान्छना सहितका मानसिक यातनाले आजित भएँ’, उनले भनिन् ।

 

चिसापानी कै अर्की महिला साउदी पुगिन् तर दलालले भनेको जस्तो काम पाइनन् । उनले त खान पनि दैनिक एक छाक मात्रै पाउँथिन् । भाग्ने निर्णय गरेर नेपादी दूतावासको सम्पर्कमा पुगिन् । उनीपनि अहिलेको यो मानसिक यातना सहन बाध्य भएकी छिन् । बैदेशिक रोजगारमा गएर फर्केका तथा असुरक्षित बसाईसराईबाट पीडित प्रभावित महिलालाई कुनै पनि कुरामा विभेद र लान्छना लगाउनु अपराध भएको माइती नेपालका क्षेत्रीय संयोजक केशब कोइरालाले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया