बाके : समानुपातिकको अन्तिम परिणाम आज

मंसिर २१ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको अन्तिम मत परिणाम बाँकेमा आज बुधवार सम्म आइसक्ने भएको छ ।

 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, बाँके क्षेत्र नम्बर २ को मत परिणाम आइ सकेको छ । ‘बाँकी अन्तिम मत परिणाम बुधवार दिउसो सम्म आइसक्छ,’ मुख्य निर्वाचन अधिकृत बिष्णु सुवेदीले दैनिक नेपालगन्ज सँग भने । सुवेदीका अनुसार, क्षेत्र नम्बर ३ को झण्डै ८० प्रतिशत र १ को ६५ प्रतिशत मत गणना भइसकेको छ ।

 

क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत उद्धव गजुरेलले बुधवार सम्म अन्तिम परिणाम दिने गरि मत गणना भइरहेको जानकारी दिए । ‘६५ प्रतिशत मत गणना गरिसकेका छौं,’ मंगलवार राती गजुरेलले दैनिक नेपालगन्ज सँग भने । क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत लोकबहादुर हमालले बुधवार विहान सम्म परिणाम दिने गरि काम भइरहेको बताए ।

बाँके मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, क्षेत्र नम्बर २ मा संघीय समाजवादी फोरम नेपाल, बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार बाहेक सबैका जमानत जफत भएको छ । ‘३ जना बाहेक कसैले जमानत जोगाउन सकेको देखिएन,’ मुख्य निर्वाचन अधिकृत सुवेदीले भने । १७ जनाले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका थिए ।

 
समानुपातिक तर्फ पनि बाँके क्षेत्र नम्बर २ मा संघीय समाजवादी फोरम नेपालले सबैभन्दा बढी मत पाएको छ र तर, उक्त मत प्रत्यक्ष तर्फ फोरमका विजयी उम्मेदवार मो. इस्तियाक राईले प्राप्त गरेर भन्दा ४ हजार कम छ । राईले २१ हजार ५ सय बढी मत प्राप्त गरेका थिए । समानुपातिकमा उनको क्षेत्रमा फोरमले १७ हजार ३०७ मत मात्र पाएको छ । यसबाट प्रष्ट हुन्छ राईले आफुलाई किन ‘साझा व्यक्तित्व’ रुपमा चर्चा लिंदै आएका थिए । प्रदेश सभा तर्फ फोरमको मत अझ कम छ । फोरमले १५ हजार ४८७ मत प्रदेश सभाका लागि प्राप्त गरेको छ ।

 
बाम गठबन्धनबाट उम्मेदवार पशुपति दयाल मिश्रले साझेदार दुबै पार्टीको समानुपातिक भन्दा बढी मत जित्न सफल भएको पनि नतिजाबाट देखिएको छ । मिश्रले निकटतम प्रतिद्वन्द्वी हुँदा पनि १५ हजार ६ सय बढी मत जित्न सफल भएका थिए । उनी सम्बद्ध दल नेकपा एमालेले ९ हजार ८७७ र साझेदार नेकपा माओवादी केन्द्रले २ हजार ७६६ मत समानुपातिक तर्फ प्राप्त गरेका छन् । मिश्रले प्राप्त गरेको मत दुबै पार्र्टीको भन्दा भण्डै ३ हजारले बढी छ ।
प्रदेश सभा सदस्य तर्फ एमालेले ८ हजार ६४६ र माओवादीले २ हजार ८६१ मत समानुपातिकमा प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

 
नेपाली काँग्रेसले प्रतिनिधि सभा सदस्य तर्फ ९ हजार ६२२ र प्रदेश सभा सदस्यमा ८ हजार ७१७ मत प्राप्त गरेको छ । काँग्रेस समर्थनमा ओमप्रकाश आजाद उम्मेदवार रहेको पार्टी राप्रपाले ४ हजार ७२० मत समानुपातिक प्राप्त गरेको छ । दुबैको मत जोड्दा हुन आउने मत भन्दा झण्डै ३ हजार कम मत आजादले पाएका छन् । यहीं भित्रबाट आजाद आफ्नो हारको समिक्षा गर्न सक्छन् । किन भने राजपाले आफ्नो समानुपातिक र प्रत्यक्षतर्फ विजय कुमार गुप्ताले पाएको मतान्तर खासै छैन । गुप्ताले १ हजार ४९७ प्राप्त गरेका थिए भने समानुपातिकमा राजपाले १ हजार ५६७ मत प्राप्त गरेको छ ।

 
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, बाँके क्षेत्र नम्बर २ मा रहेका कुल मतदाता ८२ हजार ९४७ मध्ये ६९ हजार ११२ खसेकोमा ९ हजार २०४ मत बदर भएको छ । यो क्षेत्रमा उम्मेदवार रहेका ४९ दलमध्ये सबैभन्दा बढी फोरमले र सबैभन्दा कम मंगोल नेशनल अर्गनाइजेशन, नेपाल दलीत पार्टीले पाएका छन् । दुबै पार्टीले शून्य मत र संघीय खुम्बुवान लोकतान्त्रिक पार्टीले १ मत पाएको छ ।

 
क्षेत्र नं. १ मा प्रतिनिधिसभा तर्फ १० जना उम्मेदवार मध्ये विजयी र निकटतम प्रतिद्वन्द्वीले मात्र जमानत जोगाउन सफल भए । प्रदेश क मा ७ जना र ख मा ८ जनाको जफत भएको छ । क्षेत्र नं. २ को प्रदेश क मा १३ उम्मेदवार मध्ये ११ जना र ख मा १५ मध्ये १३ जनाको जमानत जफत भएको छ । त्यस्तै, क्षेत्र नं. ३ मा आठ उम्मेदवार मध्ये विजयी र निकटतम प्रतिद्वन्द्वी बाहेक ६ जनाको जमानत जफत भएको छ ।

 
प्रदेश क मा ९ मध्ये ७ जना र ख मा ११ मध्ये ९ जनाको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ । खसेको मतको कम्तिमा १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुनेगर्छ । बा“केमा यसपटक विजयी उम्मेदवार र निकटतम प्रतिद्वन्द्वी बाहेक अधिकांसको जमानत जफत भएको हो । जमानत जफत हुने उम्मेदवारको संख्या ८० छ ।

प्रतिक्रिया

प्रतिक्रिया