राप्ती नदीको कटान र डुबानको उच्च जोखिममा रहेको होलियाका विजय यादव बाँकेको क्षेत्र नम्बर २ ‘क’ बाट प्रदेशसभा सदस्यमा विजयी भएका छन ।
०४६ सालदेखि नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका यादव कांग्रेसको बुथ समितिको सचिव, जिल्ला कार्यसमितिको सदस्य, जिल्ला सचिवसम्मको जिम्मेवारीमा पुगेका थिए । यादवले ०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालीन होलिया गाविसको अध्यक्षमा उम्मेदवारी दिएका थिए । तर, मनोनयनपत्र दर्ता गराउने बेला समर्थक र प्रस्तावक एउटै व्यक्ति परेकाले उनको उम्मेदवारी खारेज भयो ।
आफ्नो उम्मेवारी खारेज हुन सक्ने डरले उनले आफ्नी श्रीमतीको पनि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका थिए । श्रीमतीको उम्मेदवारी भने सदर भयो । विजयले आफैं प्रचार गरेर श्रीमती सरोजकुमारीलाई चुनाव जिताए ।
त्यतिबेला मधेसका यादव समुदायका महिलाहरुमा कपडाले मुख छोप्ने र परिवारका सदस्य र छिमेकीबाहेक बाहिरका मानिससँग कुरै नगर्ने चलन थियो । धेरैजसो महिला त कोही अपरिचित मान्छे आउनासाथ घरभित्र पस्थे ।
गाउँघरमा आफ्नो समुदायभित्र त्यस्तो स्थिति भए पनि सरोजकुमारी गाविस अध्यक्षमा निर्वा्चित भएकी थिइन् । श्रीमती अध्यक्ष भए पनि गाविस अध्यक्षले गर्नुपर्ने सबै काम उनले नै गरे । अत्यावश्यक हस्ताक्षर भने सरोजकुमारीले गर्थिन् । गाउँमा सबैले विजयलाई नै प्रधान (अध्यक्ष) भन्थे । भारतको बिहारमा राबडीदेवी मुख्यमन्त्री भए पनि सबै काम उनका श्रीमान् लालुले गरेजस्तै श्रीमती सरोजकुमारीको प्रशासनिक काम विजयले गर्थे। त्यसैले उतिबेला नेपालका लालु र राबडीदेवी भनेर उनीहरुको निकै चर्चा भएको थियो ।
विजय कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाका विश्वासपात्र थिए। सुशीलको निधनपछि उनी बाँके कांग्रेसको चर्काे गुटबन्दीको सिकार मात्र भएनन्, पार्टी नै छाड्न बाध्य भए । २८ वर्षसम्म पसिना बगाएको पार्टीलाई त्यागेर ४६ वर्षीय यादव स्थानीय तहको निर्वाचन हुनुभन्दा २ हप्ताअघि संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए । फोरम प्रवेश गरेसँगै यादवले डुडुवा गाउँपालिकाको प्रमुख पदमा टिकट पाए । तर, उनी नेपाली कांग्रेसका नरेन्द्र चौधरीसँग ४ सय ९९ सय मतले पराजित भए ।
गाउँपालिका प्रमुखमा हारेका यादवले पाँच महिनापछि भएको निर्वाचनमा डुडुवा गाउँपालिकासहित नेपालगन्ज उपमहानगरपालिकाका केही वडा समेत समावेश भएको प्रदेशसभा ‘क’ मा टिकट पाए । सरोजकुमारीले पनि पति विजयलाई चुनाव जिताउन निकै मिहिनेत गरिन् । यादवले प्रदेशसभामा कांग्रेसका निरञ्जन सिंह सिजापतिलाई फराकिलो मतान्तरले हराउँदै विजय हात पारे । प्रदेशसभा सदस्यमा जितेसँगै ०५४ सालदेखिको जनप्रतिनिधि हुने उनको चाहना पूरा भएको छ । उनी भन्छन् ‘बल्ल जनताको साथ र जिम्मेवारी पाएको छु । होलिया लगायत यस क्षेत्रलाई राप्ती नदीको डुबान र कटानबाट सुरक्षित पार्न हरसम्भव प्रयास गर्नेछु ।’