महोत्सव तयारी अन्तिममा

नेपालगन्ज अर्थात बाँके निर्वाचन क्षेत्र नं.२ बाट यसअघि प्रदेश सभा र प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिएका अधिकाँश उम्मेदवारको नारामा भेरी अञ्चल अस्पतालको नाम जोडियो । उम्मेदवारहरुले मुद्दा र एजेन्डाकै रुपमा भेरी अंचल अस्पताललाई शिक्षण अस्पताल अर्थात (एमबीबीएस) अध्ययन कलेजको रुपमा विकास गर्ने प्रतिबद्धताहरु जनता माझ दोहोर्याए । पश्चिम नेपालकै ठूलो सरकारी अस्पतालको रुपमा रहेको भेरी अंचल अस्पताल अचेल गरीबहरुको अस्पतालको रुपमा परिचित छ ।

 

पैसा खर्च गरेर राम्रो सुविधा खोज्ने विरामीहरुबाट टाढिन थालेको अस्पताल र त्यसको सेवा अचेल चुनावी एजेण्डा र चर्चामा आएपछि शिक्षण अस्पतालको रुपमा विकास गर्न प्राविधिक आवश्यकता र अवस्था बारे तथ्यहरु खोज्ने प्रयास गरियो ।

 

पश्चिम पहाडी जिल्ला देखि बाँकेको दुर्गम राप्तीपारि सम्म आर्थिक स्थिति कमजोर रहेका ब्यक्तिहरुको अन्तिम आशाको केन्द्र हो भेरी अंचल अस्पताल । तर, राजनीतिक खिचातानी, मेडिकल माफियाको षडयन्त्र र सरकार फेरबदलको सिकार यो अस्पताल पनि हुँदै आएको छ ।

 

हरेक वर्ष हजारौं विरामीलाई उपचार गर्दै आएको अस्पताल एक तर्फ ब्यवस्थापकीय हिसाबले कमजोर छ भने अर्को तर्फ अहिले शिक्षण अस्पतालको रुपमा विकास गर्ने हिसाबले चर्चामा चुलिएको छ । बाँके नेपालगन्ज क्षेत्रबाट उम्मेदवारी दिएका थुप्रै उम्मेदवारले कलेजको रुपमा अस्पताललाई विकास गर्ने प्रतिबद्धता ब्यक्त गरेपनि चिकित्सकले एमबीबीएस शिक्षण कलेज उपयुक्त नहुने बताएका छन् ।

 

भेरी अंचल अस्पताल विकास समितिका पूर्व अध्यक्ष डा.बद्री चापागाई भन्छन्, शिक्षण अस्पताल बनाउने नै हो भने (एमडी) स्नातकोत्तर पढाउन मिल्ने सरहको बनाउनु पर्छ । एबीबीएस अध्ययन गरिरहेका विद्यार्थीहरुबाट गुणस्तरीय सेवाको अपेक्षा गर्न मिल्दैन, उनले भने, त्यस बाहेक अन्य प्राविधिक जटिलताहरु विभिन्न छन् ।
एमबीबीएस पढेर सेवा दिएपछि उपयोगी हुने र एमडीमा अध्ययन गर्न पनि सजिलो हुने भएकोले शिक्षण अस्पतालको कल्पना अब एमडी लेभलको हुनु पर्छ डा.चापागाईले भने, यसका लागि सबै पक्षबाट उत्तिकै पहल र प्रष्टता आवश्यक छ ।
भेरी अंचल अस्पतालमा अहिले नेपाल सरकारको तर्फबाट २० जना, अस्पताल विकास समितिको तर्फबाट ४ जना र अस्थायी तथा करारमा ५ जना चिकित्सक विरामीलाई सेवा प्रवाह गर्दै आएको डा.चापागाईले बताए ।

 

भेरी अंचल अस्पतालको सेवा अहिले २८० जना कर्मचारीको जिम्मेवारीमा संचालित रहेको छ । ‘शिक्षण अस्पताल हँुदैमा विरामीले सेवा नपाउने वा विरामी जोखिममा पर्ने भन्ने होइन,’ डा.संकेत रिसाल भन्छन्, शिक्षण आफैमा राम्रो सन्दर्भ हो ।’ ‘सरकारले शिक्षण अर्थात एमबीबीएस लेभलको काम गर्न तयार छ भने भेरी अंचल अस्पताल उपयुक्त स्थान हो,’ उनले भने, ‘त्यसमा भौतिक र प्राविधिक ब्यवस्थापनको भागमा अझै काम गर्नु पर्ने देखिन्छ ।’

 

एमडी वा सके पीएचडी नै खोल्नु झनै राम्रो विषय हो डा.रिसाल भन्छन्, यसमा सरकारी स्तरबाट पनि विभिन्न पटक छलफल र पहलहरु भएका छन् । नेपालगन्जका स्थानीय बासिन्दा पनि रहेका डा.रिसालले स्व.सुशील कोइराला र पुष्प कमल दाहाल प्रधानमन्त्री हुँदा पनि अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने हिसाबको
कुराकानी अघि बढेको बताए ।

 

‘शिक्षण अस्पतालको रुपमा विकास गर्दा, पहिलो फाइदा त कर्मचारीहरु बढ्छन, कर्मचारी बढेपछि सेवा बढ्छ’, डा.रिसालले दैनिक नेपालगन्ज सँग भने, ‘त्यसपछि त्यसै हिसाबका डिपार्टमेन्ट, बेड, जाँच सेवाहरु, ल्याब, प्रोफेसर आदिको बृद्धि हुँदा विरामीले थप र प्रभावकारी सेवा पाउने कुरामा कुनै शंका छैन ।’

 

भेरी अंचल अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.विरेन्द्र बहादुर चन्दले भने सकारात्मक कुरा गरेनन् । ‘प्रदेशमा एउटा शिक्षण अस्पताल चाहिन्छ, दांगमा भयो यहाँ कुनै सम्भावना छैन,’ उनले लामो कुरै गर्न नचाहेर ठाडै जवाफ फर्काए, ‘जसले प्रचार गरको छ, एजेन्डा बनाएको छ थप कुरा त्यसैलाई सोध्नुस् ।’

प्रतिक्रिया

प्रतिक्रिया