सहज रुपमा मतदान गर्ने व्यवस्था छ

निर्वाचन तयारी कस्तो छ ?
निर्वाचन तयारी पुरा भएको छ । विगतका निर्वाचनमा मतदानकै दिनसम्म पनि कर्मचारी पुगेनन् भन्ने गुनासो सुनिन्थ्यो । तर, यसपटक मैले सबै निर्वाचन केन्द्रमा कर्मचारी पठाइसकेको छु र उनीहरु पुगिसकेका छन् । समस्या नहुने गरी कर्मचारी मिलाएर व्यवस्थापन गरिएको छ ।
काम गर्न आफ्ना विचार र आस्था त्यागेर जिम्मेवारी पूरा गर्नुपर्छ । अघिल्ला निर्वाचनमा घरपायक भएका कर्मचारीका कारण कुनै कुनै ठाउमा समस्या सिर्जना भएको पाएको थिएँ । त्यसैले यसपटक त्यसलाई ख्याल गर्दै जुन क्षेत्रको कर्मचारी हो त्यसलाई अर्को क्षेत्रमा पठाएको छु । यसले गर्दा बाकेमा कर्मचारीका कारण कुनै समस्या सिर्जना हुने स्थिति मैले देखेको छैन ।
मतदानलाई व्यवस्थित गर्न के भैरहको छ ?
यसका लागि मतदान केन्द्रमा खटिने कर्मचारी र राजनीतिक दललाई पटकपटक भनिरहेका छौं, एउटाको मतपत्र अर्को बाकसमा खस्ला । त्यस्तो खसेको पाइएमा बदर हुने व्यवस्था छ । त्यसैले सबैले बुझेर मतदान गर्नुपर्छ । मतपत्र तोकिएको बाकसमा मात्र खसाल्नुपर्छ । मतदाता नझुक्किउन् भनेर तीन वटा मतपत्र एकै पटक दिइनेछैन । एउटा मतपत्र दिएपछि मतदाताले तोकिएको बाकसमा खसालेपछि मात्र अर्को मतपत्र दिइनेछ । त्यसका लागि मतदान केन्द्र निर्माण गर्न पर्याप्त ध्यान पुर्याइएको छ । एउटा मतदाताले तीन वटा मतपत्र भएकाले मतदान गर्न समय लाग्छ । तर, निर्धारित समयमा मतदान भैसक्ने अनुमान हाम्रो छ । कथंकदाचित तोकिएको अवधीमा मतदान नसकिएमा निर्धारित समय भित्र मतदान स्थल लाइन लागिसक्नु भएका मतदाताले मतदान गर्न पाउनुहुनेछ ।
मतपेटिका संकलन र मतगणना स्थल कसरी व्यवस्थापन गर्नुभएको छ ?
मतपेटिका संकलनको व्यवस्थापन योजनाबद्ध हुनेछ । सबै दलका प्रतिनिधिको रोहवरमा सबैको चित्त बुझाएर काम गरिनेछ । त्यसका लागि एउटा निश्चित फर्मेट बनाएको छु । मतपटिका ल्याउदा के–के खुलाएर ल्याउने हो ति ति भए–भएनन् भनेर चेक लिष्ट बनाइएको छ । जुन सबै मतकेन्द्रमा पठाइएको छ ।
मतगणनामा खटिने कर्मचारी, उम्मेदवारका प्रतिनिधिहरुले सहज रुपमा काम गर्न सक्ने गरी मतगणना स्थल तयार पारेको छु । मतगणनाका बेला हुने सर्वदलीय बैठकमा एउटा निश्चित संख्या गनेपछि कर्मचारी र दलीय प्रतिनिधिको रुजु गरेर प्रमाणित गर्ने व्यवस्था प्रस्ताव गर्नेछु । यसले गर्दा मतगणना पारदर्शी हुन्छ । सबैलाई बुझ्न सजिलो हुन्छ ।
यहा“का राजनीतिक दलहरु अत्यन्त सहयोगी पाएको छु । त्यसैले मतगणना स्थललाई काडेतार लगाएर पिजडा जस्तो बनाइएको छैन । चारैतिर बस्ने व्यवस्था गरेर बीचमा मतगणना गर्ने व्यवस्था मिलाइएको छ । मतगणना स्थल भित्र र बाहिर पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालित गरिने छ । दलका प्रतिनिधि र गणक बीच टेबलका साथै सुरक्षाकर्मी पनि राखिनेछ । पर्याप्त बिजुली र सिसि क्यामेरा पनि जडान गरिएको छ ।
स्थानीय तहमा मत परिणाम आउन निकै ढिलो भयो, यसपटकको कस्तो त तयारी ?
स्थानीय तहसग अहिलेको निर्वाचनलाई तुलना गर्न मिल्दैन । स्थानीय तहको निर्वाचन साह्रै झन्झटिलो थियो । धेरै उम्मेदवार र निर्वाचन चिन्ह बढी हुदा समय बढी लागेको थियो । अहिले समानुपातिक बाहेक मतपत्र सानो र एक पेज छ । तत्काल हेर्ने बित्तिकै स्वस्तिक छाप कुन चिन्हमा छ भनेर देखिन्छ । उम्मेदवार कम भएकाले प्रतिनिधिपनि कम हुन्छन्, कम प्रतिनिधिलाई मतपत्र देखाउदा समय पनि कम लाग्छ । समग्रमा भन्नुपर्दा हालसम्मको क्यालकुलेसन गर्दा बा“केको सम्पूर्ण निर्वाचन परिणाम पाच दिनभित्र आइपुग्छ । त्यो अनुसार जनशक्ति पनि तयार गरिसकेका छौं । मतदान सकिएको दिन राती १०/११ बजेसम्म कुनै एउटा क्षेत्रको सबै मतपेटिका संकलन गर्न सकियो र, सर्वदलीय बैठकमा सहमति भयो भने त्यही दिबाट गणना हुन्छ । मौसमको प्रतिकुलता भयो भने भोलिपल्ट विहान ८ बजे सर्वदलीय बैठक बसेपछि मतगणना सुरु हुनेछ । तीन वटै निर्वाचन क्षेत्रको मतगणना भेरी प्राविधिक शिक्षालयमा नै गर्ने व्यवस्था गरिएको छ ।
निर्वाचन शिक्षा पर्याप्त भएन भन्ने गुनासो छ नि !
मतदाता शिक्षा भनेको निरन्तर चलिरहने प्रक्रिया हो । यो नागरिक शिक्षासग सम्बन्धित छ । मतदाता शिक्षा भनेको मतदान गर्नुपर्छ भन्ने भावनाको विकास गर्नुपनि हो । तर, हामी यसी भोट हाल्ने भनेर मात्र सिकाउने गरेका छौं । संविधानतः मतदाताको दायित्व र अधिकार के हो भन्ने बुझाउनु पर्ने विषय पनि मतदाता शिक्षा भित्रै पर्दछ ।
आचारसंहिता पालना भएन भनेर उजुरी आयो कि आएन ?
सानोतिनो कारणले निर्वाचनको वातावरण खलबलिनु हुदैन । लिखित उजुरीहरु आएको छैन । सामान्यतया मौखिक रुपमा गुनासाहरु आए । त्यसलाई छलफल मार्फत सुधार गर्न लगाइयो । आचारसंहिता विपरित रहेका प्रचारसामाग्री हटाउन सर्वदलीय बैठक राखेर तीन दिनभित्र हटाउने निर्णय गरियो । तीन दिनमा नहटाइएका आचारसंहिता विपरितका प्रचार सामाग्री आयोगले प्रशासनसगको समन्वयमा आफैले हटायो । त्यसमा कुनै पनि दलबाट विरोध पनि भएन । तर, कसैलाई कारवाही गरेको अवस्था भने बाकेमा छैन । दलहरुले आचारसंहिता भनेको नैतिक बन्धन हो भन्ने आफैले पनि बुझ्नुपर्छ । प्रचार बढी गरेर भोट बढी आउन भन्ने छ भने त्यो गलत हो नि । आचारसंहिता भनेको निर्वाचनलाई अनुशासित बनाउदै स्वच्छ बनाउनका लागि हो ।
अन्तमा केही ?
हेर्नुस्, लोकतन्त्रमा जनताको अभिमत मेरुदण्डको रुपमा रहन्छ । हामी सिष्टममा गैसकेको छौं तर सब सिष्टमहरु कार्यान्वयनमा आइसकेको छैन । हाम्रा परिवर्तित संस्थाहरु क्रियाशिल बनाउन अहिलेको निर्वाचन अत्यन्त महत्वपूर्ण रहेको छ । जसले जितेपनि निर्वाचन पछि स्थायित्व आउनेछ । बाके जिल्लामा समग्र रुपमा हेर्ने हो भने समन्वय अत्यन्त राम्रो छ । मतदाताहरुलाई कुनै हल्लामा नलागी ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह
गर्दछु । सुरक्षा व्यवस्था अत्यन्त मजबुत रहेकाले आम मतदाताले निर्भयतापूर्वक मतदानमा सहभागी भई लोकतन्त्र र संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्ने प्रक्रियामा आफ्नो अमूल्य मत दिनहुन आग्रह छ ।

प्रतिक्रिया

प्रतिक्रिया