विवेकशील साझा पार्टीकी केन्द्रिय सदस्य रञ्जु दर्शनाले अब ज्योषिले हात हेर्दैमा प्रधानमन्त्री हुने दिन समाप्त भएको बताएकी छन् । नेपालगन्जमा शुक्रवार आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा माथि ब्यंग्य गर्दै सात पटक प्रधानमन्त्री हुने दिन समाप्त भएको बताएकी हुन् ।
केहि दिन अघि मात्रै प्रधानमन्त्री देउवाले ज्योषिले ७ पटक प्रधानमन्त्री हुने योग रहेको जानकारी दिएको विषय सार्वजनिक गरेपछि चौतर्फी रुपमा आलोचना खेप्नु परेको छ । साझा विवेकशील पार्टीले आयोजना गरेको सभामा बोल्दै केन्द्रीय सदस्य दर्शनाले अब विद्यार्थीको झोलामा किताबको सरोकार, भौतिक संरचनामा लगानीको सरोकार र रोजगारको सरोकार मुद्दा बन्नु पर्ने बताइन् ।
‘बेरोजगार भत्ता युवालाई चाहिएकै छैन’, दर्शनाले भनिन्, ‘युवाहरु काम चाहन्छन् ।’ खालीमा पसिना बेचेर देश कहिले सम्म चल्छ, उम्मेदवार संग प्रश्न गर्न उनले आग्रह गरिन् । विकासको नाममा हरेक पटक नक्कली ब्यक्तिलाई भोट दिएर निरर्थक प्रयास भइरहेकोले अबको विकल्प साझा विवेकशील पार्टी रहेको उनले उद्घोष गरिन् ।
भौतिक स्तरमा खस्किएको नेपालगन्ज माथि ब्यग्य प्रहार गर्दै दर्शनाले भनिन्, ‘नेपालगन्ज होइन यो, खाल्डोगन्ज र धुलोगन्ज हो ।’ ‘चारै तिर अब्यवस्था छ’, उनले भनिन्, ‘यो अब्यवस्थालाई चिर्न नै हाम्रो पार्टी अघि बढेको हो ।’
भ्रष्टाचारमुक्त समाजको निर्माण, नैतिकता र सदाचार पार्टीको मुख्य प्राथमिकता रहेको दर्शनाले बताइन । ‘हामी ब्यवसायिक राजनीति अर्थात राजनीतिलाई आफ्नो खेती बनाउन चाहँदैनौं’, उनले भनिन्, ‘अलग ब्यवसाय गरेर राजनीतिलाई इमानदार राजनीति बनाउन चाहन्छौं ।’
भोट हाल्दै आएको पुस्तौं वित्यो, नेता मोटाए जनता त्यहीं किन ? अब घोषणा पत्रहरु हेर्नुस् र कहाँ कुन पार्टीले कसरी छल विद्या अपनाएको छ’, आफै अनुमान लगाउनुस् दर्शनाले बोल्दै भनिन्, ‘यो देश निकै गहिरो दलदलमा गइसक्यो ।’
‘आफ्नो मताधिकार बुझ्नुस्’, दर्शनाले भनिन्, ‘एउटा भोट हाल्नु अघि तराजुमा तौल्नुस् ।’ ‘भोट भनेकै विषय देशको भविष्य परिवर्तन गर्न सक्छ’, उनले भनिन्, ‘त्यस कारण भोट दिनु अघि हजार पटक सोच्नु पर्छ ।’ ‘नेता माथि दया माया देखाएर भोट दिने होइन, भोटले देश निर्धारण गर्छ भन्ने गम्भिरता हरेक नागरिकमा हुन आवश्यक छ’, उनले भनिन्, ।
‘देशमा पुराना नेता नै हरेक चुनावमा नयाँ भाषण र नयाँ घोषणा पत्र सहित आउँछन्’, दर्शनाले भनिन्, ‘तर नयाँ केहि हुँदैन ।’ जनताले घोषणा पत्र नपढेरै आग्रह, चिनजान, दबाव र प्रभावमा मतदान गरेका कारण समस्या उत्पन्न हुँदै गएको उनले बताइन ।
पार्टीले नेपालगन्जको त्रिभुवन चोकमा आयोजना गरेको सभालाई सम्बोधन गर्न पुगेकी केन्द्रिय सदस्य दर्शनाले अबको भविष्य कसरी हुने भन्ने विषय जनताको मताधिकारले मात्रै तय हुने बताएकी हुन् । बाँके क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा.विनोद कर्णले भने, ‘घरबाट निस्कँदा खुट्टा खाल्डोमा पर्छ र मीडियाले प्रश्न गर्छ तपाईलाई भोट दिने एजेण्डा के हो ? हरेक कण कणमा एजेन्डा छ, उनले भने, नेपालगन्जले मलाई भोट नदिने कुनै एउटा एजेण्डा छ ?’
नेपालगन्जको मुहार फेर्नका लागि उम्मेदवारी दिएको बताउँदै डा.कर्णले नेपालगन्जलाई चम्किलो बनाएर मर्ने बताए । जनताले साथ दिए नेपालगन्ज उदाहरणीय सहर मध्येको एक हुने उनले ठोकुवा गरे । आयोजित कार्यक्रममा पार्टीबाट बाँकेका उम्मेदवार, आम नागरिक, पार्टी कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।
त्यसअघि विवेकशीलले बा“केको खजुरामा पनि आमसभाको आयोजना गरेको थियो ।