नेपालगन्ज १५ मंसिर ः
ओमप्रकाश आजाद । जसले, झण्डै ४ दशकसम्म राजनीति र सामाजिक क्षेत्रमा आफुलाई चिनाए । राजनीति र समाजसेवामा जीवन समर्पित गरेका यिनै ओमप्रकाश यतिखेर प्रतिनिधी सभा निर्वाचनका लागी बाँके, क्षेत्र नम्बर २ मा प्रतिस्पर्धा गरिरहेका छन् । २०१३ साल भदौं ३ गते नेपालगन्ज नगरपालिकाको साविक वडा नम्बर १० मा उनी जन्मिएका हुन् । पिता रामदुलारे आजाद र माता धनपतादेवी आजादका चार छोरा मध्ये कान्छा हुन्, ओमप्रकाश ।
२०३१ सालमा स्थानीय नारायण माध्यामिक बिद्यालयबाट उनले एसएलसी उर्तीण गरे । त्यसपछि २०३४–३६ ताका प्रविणता प्रमाणपत्र तह उर्तीण गरे । ‘बीचमा बिद्यार्थी आन्दोलनमा सहभागी भएपछि पढाई केही प्रभावित भयो,’ ओमप्रकाश भन्छन् ‘२०४० सालतिर मैले बिकमको पढाई सके र त्यसपछि महेन्द्र बहुमुखी क्याम्पसबाट प्राईभेटमा बिएलको पढाई सके ।’ राजनीतिको नसा चढेका कारण उनले वकालत पेशालाई अगाडी बढाएनन् । ‘करिव २÷३ वर्ष जति वकालत गरे, मेरो ध्यान राजनीति र समाजसेवातिरै केन्द्रित भयो,’ ओमप्रकाश भन्छन् ।
त्यसपछि उनी राजनीति र समाजसेवा तर्फ थप सक्रिय भए । २०४३ सालको स्थानीय निर्वाचनमा भाग लिएर उनी साविक वडा नम्बर १० को वडाअध्यक्षमा भारी मतले विजयी भए । ‘म त्यतिबेला दुई पटक वडाअध्यक्ष भएर काम गरिसकेको व्यक्तिलाई भारी मतले हराएर विजयी भएको थिए,’ उनी विगतलाई स्मरण गर्दै भन्छन् । २०४६ सालमा जनआन्दोलनले देश तरंगित बन्यो । सोही आन्दोलनको परिणाम स्वरुप देशले संविधान प्राप्त ग¥यो । संवैधानिक राजतन्त्र र बहुदलिय प्रजातन्त्र कायम भयो ।
सोही संविधान अनुसार २०४९ स्थानीय निकायको चुनाव भयो । उक्त चुनावमा पनि ओमप्रकाश साविक वडा नम्बर १० बाटै निर्वाचित भए । नेपालगन्ज नगरपालिकाको बोर्डमा प्रतिनिधित्व गरेपछि उनले आफ्नो वडाको सडक, ढल, खानेपानी लगायत पुर्वाधार जोड्न सफल भए । ‘मैले नगरपालिकाको बोर्डमा प्रतिनिधित्व गरिसकेपछि गरेको विकासको अहिले पनि यहाँका वडाबासीले प्रशंसा गर्नुहुन्छ,’ उनले भने ‘मैले नगरपालिका बाहेक बाहिरबाट पनि बजेट ल्याएर विकास गरेको हुँ त्यो बेला ।’
नगरपालिकामा पाँच वर्षसम्म सफलता पुर्वक कार्यकाल पुरा गरेपछि ओमप्रकाशले राजनीति र समाजसेवालाई निरन्तरता दिदै गए । राप्रपा निकट विभिन्न संगठनमा आवद्ध भएर काम गरे । उनी तीन पटक राप्रपाको नेपालगन्ज नगर अध्यक्ष भए । २०६० देखी २०६४ साल सम्म राप्रपाको जिल्ला अध्यक्ष भएर जिम्मेवारी निभाए । त्यसयता उनी पार्टीको केन्द्रिय नेतृत्वमा रहदै आएका छन् । दुई पटक राप्रपाको केन्द्रिय सदस्य भईसकेका ओमप्रकाश वर्तमान केन्द्रिय सदस्य हुन् । यसका साथै राप्रपा निकट तराई मधेस संगठनको उनी केन्द्रिय उपाध्यक्ष पनि छन् ।
राजनाीतिमा उनको लगाव जति छ, त्यत्तिकै सामाजिक क्षेत्रमा पनि छ । युवा अवस्थादेखी नै समाजसेवातर्फ रुची राखेका उनी २०४६÷४७ सालतिर नेपालगन्ज जेसिजको शाखा अध्यक्ष भएका थिए । नेपाल रेडक्रसको उनी दुर्लभ रक्तदाता समुहको क्षेत्रीय संयोजक छन् । ‘दुर्लभ रगत नपाउँदा धेरै बिरामीले दुःख पाउन थालेपछि हामीहरुले दुर्लभ रक्तदाता समुह बनाएर सामाजिक कामको थालनी गरेका हौैं,’ उनले भने । ओमप्रकाश रेडक्रसको नेपालगन्जको सदरलाईन उपशाखा सभापति हुन् । ओमप्रकाशले भने, ‘स्वास्थ्य समिति अन्तर्गत ब्लड बैंक सञ्चालनमा छ, त्यसको पनि सदस्य छु ।’ यसका साथै २०६१ सालदेखि लक्ष्मीनारायण भगवान मन्दिर रानीतलाउको अध्यक्ष छन् । त्यसैगरी रानी तलाउकै दुर्गामन्दिरमा पनि उनी अध्यक्षको जिम्मेवारीमा छन् ।
राजनीति र समाजसेवामा सक्रिय बनाउन आफु स्वर्गिय ठुला बुवा मुलचन्द्र आजादको प्रेरणा पाएको उनी बताउँछन् । स्वर्गिय मुलचन्द्र २०१७ सालमा नेपालगन्ज नगरपालिकाको प्रथम मेयर तथा तीन कार्यकाल जिविस बाँकेको सभापति भएका थिए । ओमप्रकाश भन्छन्, ‘बिद्यार्थी कालमा मेरो ठुलो बुवा स्वर्गिय मुलचन्द्र आजाद राजनीति र समाजसेवामा सक्रिय हुनुहुन्थ्यो, उहाँकै नेतृत्वमा यहाँ थुप्रै विकास निर्माणका काम भएका थिए, स्वर्गिय ठुलो बुवाको प्रेरणाबाट म पनि राजनीति र समाजसेवामा लागेका हुँ ।’
कसैलाई नमिठो नबोल्ने शालिन र भद्र स्वभावका यिनै ओमप्रकाश यतिबेला बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभा सदस्य निर्वाचन जित्ने दाउमा छन् । निर्वाचन नजिक आईरहेका बेला उनको व्यस्तता धेरै बढेको छ । बाँके क्षेत्र नम्बर २ अन्तर्गत पर्ने नेपालगन्जका वडा नम्बर १६ र १७ बाहेक बाँकी सबै वडा र डुडुवा गाउँपालिकामा बढी केन्द्रित भएका ओमप्रकाश भन्छन्, ‘क्षेत्र नम्बर २ का बासिन्दामाझ मैले आफूलाई चिनाईराख्नुपर्छ भन्ने लाग्दैन, किनकी मैले आफ्नो जीवनको तीन बसन्त उहाँहरुका लागि समर्पित गरिसकेको छु, मेरो चरित्र र ब्यवहारलाई राम्ररी बुझ्नु भएकै छ, म नेपालगन्जको स्थानीय बासिन्दा, जनताको सेवक ब्यक्ति हुँ भनेर चिनाउँछु ।’
बाँके प्रजातन्त्र विचारधारा बोकेको जिल्ला भएकाले क्षेत्र नम्बर २ का आम बासिन्दा आफुप्रति सकारात्मक रहेको उनी बताउँछन् । आफु निर्वाचित भएपछि बाँकेको समग्र विकासमा ध्यान दिने उनको योजना रहेको छ । उनी भन्छन्, ‘घरदैलोका क्रममा थुप्रै समुदायका मतादातसँग भेट्ने अवसर प्राप्त भएको छ, मतदाताको म प्रति सकारात्मक दृष्टिकोण भएको पाएको छु । मतदाताको मुख्य चाहना नै देश विकास र राजनीतिको निकास हो ।’
नेपालगन्जसँगै जोडिएको डुडुवा गाउँपालिकामा ब्याप्त रहेको डुबान समस्या र त्यहाँका नागरिकको जीवन स्तरदेखेर पीडा महसुस गरेका आजादले त्यहाँ बर्षेनी हुने डुवान, कटान र पटानको छिटो तथा दीर्घकालित समाधान गर्ने योजना बनाएका छन् । उनले भने, ‘मतदातासँग भेटगर्दा उनीहरुले दिएको सुझाव, रायलाई मैले मनन गरिरहेको छु, म नेपालगन्जबासी भएकै कारण मेरो पक्षमा माहोल बनेको छ, मतदाताले सक्षम, योग्य एवम् अनुभवी ब्यक्तिलाई मतदान गरि आफ्नो मतको सदुपयोग गर्न चाहान्छौं भन्ने सकारात्मक सन्देश दिएका छन् ।’ यसक्षेत्रबाट चुनाव जितेर यहाँका आम नागरिक, किसान, मजदूर, महिला, युवा र बालबालिकाको समस्यामा काम नगर्ने ब्यक्तिलाई काम गरि कडा जवाफ दिन आफुले उम्मेदवारी दिएको प्रष्ट्याउँदै भने, ‘नेपाली राजनीतिमा मैले लामो समय खर्चेको छु, मैले तत्कालिन नेपालगन्ज नगरपालिकाको बोर्ड सदस्य हुदै उपमेयर भएर काम सम्पादन गरिसकेको छु ।’
नेपालगन्जलाई सुन्दर, सफा, ब्यवस्थित, विकसित नगरका रुपमा निर्माण गर्नु नै रहेको उनको भनाई छ । ‘मेरो योजना तथा प्रतिवद्धताले डुडुवा गाउँपालिकाको किसानदेखी नेपालगन्जका आधुनिक जीवन निर्वाह गर्ने ब्यक्ति सबैलाई सुहाउँदो प्रतिवद्धता छ, यसक्षेत्रका जनता गरिबीको रेखामुनी जीवन बिताउन बाध्य छन्, उनीहरुमा प्रशस्त बेरोजगारी, स्वास्थ्य, शिक्षा, चेतनाको समस्या छ,’ आजादले भनेका छन् ।
बाँकेको समृद्धिका लागि सडक, बिजुली, सञ्चार, औद्योगिक क्षेत्रको विकास, अन्तर्राष्ट्रिय सभागृह र अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, ब्यापारीलाई सामान आयात तथा निर्यातमा सहुलियत प्रदान, स्वदेशी जडिबुटीको उत्पादन बढाउने, हरेक क्षेत्रका भौतीक संरचनाको विकास गर्नु, धार्मिक तथा पर्यटकिय गन्तब्यको बाटा खोजी गरि त्यसको विकास गर्नु, महिला तथा बालबालिका मैत्री वातावरणको निर्माण, सबै गाँउ–गाँउमा सडक सञ्जाल, रिङरोडको निर्माण लगायत सवाल उनको योजनामा छ ।
‘म वास्तविक जनताका गुनासा, समस्या सम्बोधन र समाधान गर्नेछु,’ उनी भन्छन् ‘जनताले मलाई प्रदान गरेको आफ्नो अमुल्य मतको दुरुपयोग कहिल्यै गर्ने छैन, यस क्षेत्रको विकासका लागी हरसम्भव प्रयास गरेको छु र निरन्तर गरिहनेछु ।’ यहाँका उद्योगी ब्यवसायीलाई व्यवसाय गर्ने वातावरण निर्माण गर्ने, शिक्षा, स्वास्थ्य, कृषिबाट बञ्चित यसक्षेत्रका बासिन्दाको विकासमा पहुँच बृद्धि गर्ने, नेपालगन्जलाई स्मार्ट सिटी बनाई, रिङरोड निर्माण, अन्तर्राष्ट्रिय एयरर्पोट, सुख्खा बन्दरगाहा सुचारु गर्ने, नेपालगन्जलाई यसक्षेत्रकै जडीबुटी तथा मानसरोवर एवम् पश्चिम नेपालका विभिन्न धार्मिक तथा पर्यटकिय स्थलको हबका रुपमा विकास गर्ने उम्मेदवार आजादको प्रतिवद्धता छ । उनी अगाडी थप्छन्, ‘मलाई एकपट विश्वास गरेर हेर्नुस्, आफुले अगाडी सारेको प्रतिवद्धतालाई अक्षरस पालना गर्न हरसम्भव प्रयास गर्नेछु आफ्नो लक्ष्यबाट बिमुख हुने छैन ।’