ज्योति फर्काउँदै फत्तेबाल

 

विशाल रानामगर

नेपालगन्ज । पश्चिम नेपालका धेरै मान्छेहरु स्वास्थ्य उपचारको लागि भारतको उत्तर प्रदेशको राजधानी लखनउ जान्छन ।

उत्तरप्रदेशकै खिरिका राम अवतार भने नेपालगन्ज आएका छन् । अन्य उपचारको लागि लखनऊ उचित मान्ने राम अवतार आँखाको उपचारको लागि भने नेपालगन्ज नै भरपर्दो मान्छन् । दुई वर्ष अगाडि आँखामा भएको मोतियाबिन्दुको अपरेशन गराएका ५५ वर्षीय राम अवतार यस पटक भने आफ्नी बहिनी सकुन्तलाको आँखा अप्रेशनका लागि आएका हुन् । मैले पनि यहि उपचार गराएको मोतियाबिन्दु निको भएर पुनः राम्रोसँग देख्ने भए, बहिनीलाई कुरेर बसेको रामअवतारले भने, त्यही भएर बहिनीलाई लिएर आएको हुँ ।


राम अवतार एक उदाहरण मात्र हुन् । नेपालगन्जको फुल्टेक्रामा रहेको फत्तेबाल आँखा अस्पतालमा वर्षेनी उनिजस्ता हजारौं व्यक्तिहरुको आँखाको उपचार तथा मोतियाबिन्दु, जलबिन्दु जस्तो दृष्टिनै गुम्न सक्ने रोगको शल्यक्रिया हुन्छ । जसमा नेपाल सँगसँगै भारतीय सिमावर्ती जिल्लाहरूबाट आउनेहरुको संख्या उल्लेख्य छ ।
पोष्ट अपरेशन वार्डमा भेटिएका उत्तरप्रदेश लखिमपुरका सीताराम पनि आफ्नी ४५ वर्षीया श्रीमती मालतीदेवीको मोतियाबिन्दुको अप्रेशन गराउन आएका थिए । ‘आफ्नो ठाउँमा पनि पत्ता लगाए तर मेरो गाउँकै मान्छेले आँखाको अपरेशन यहि गराएको हुनाले मैले पनि यही लिएर आएको हुँ’, आफुलाई स्थानीय सन्चारकर्मी बताउने सीतारामले भने, ‘यहाँको सेवा तथा स्याहार एकदमै राम्रो पाए ।’


रामअवतार र सीताराम जस्तै भारतको बहराइच, गोण्डा, श्रावस्ती, गोरखपुर, लखीमपुर, सीतापुर, बाराबंकी, लखनउ, अयोध्या, फैजाबाट, सुल्तानपुर आदि जिल्लाहरुबाट आउने भारतीयहरुले फत्तेबालबाट आँखा उपचार सेवा लिइरहेका छन् ।
अब्बलताको बाटोमा फत्तेबाल
पश्चिम नेपालमा आँखा उपचारमा प्रसिद्धि कमाएको अस्पतालको नाम कप्तान फत्तेजंग शाह र उनकी धर्मपत्नी बालदिब्येश्वरी शाहको स्मृतिमा फत्तेबाल आँखा अस्पताल राखिएको हो । वि.सं. २०४३ सालमा स्थापना भई आँखाको उपचार सेवा गरेको फत्तेबाल अस्पतालले हालसम्म १८ लाख भन्दा बढिलाई आँखा उपचार सेवा दिएको जनाएकाे छ ।
सवा २ लाख भन्दा बढिको आँखाको शल्यक्रिया गरेको छ ।
आर्थिक वर्ष २०७२/७३ अस्पतालले १ लाख २० हजार ३ सय २७ जनाको आँखा उपचार गरेको तथ्यांक छ । जसमा ७ हजार २ सय ३९ सामुदायिक आँखा उपपचार केन्द्रहरुमा र १२ हजार ७७ बाह्य कार्यक्रमहरुमा आँखा जाँच गरिएका हुन् ।
अस्प्तालमै १० हजार ७ सय १४ र बाह्य कार्यक्रहरुमा ९ सय ८७ जना गरी ११ हजार ७ सय १ जनाको आँखाको शल्यक्रिया गरिएको अस्पतालका प्रबन्धक डा. कौशलकुमार वर्माले जानकारी दिए ।

अस्पतालमा सामान्य आँखा जाँच, मोतियाबिन्दु, जलबिन्दुका साथै बालबालिकाहरुको आँखाको विशेष उपचारको समेत व्यवस्था गरिएको अस्पतालका प्रबन्धक डा. वर्मा बताउँछ । अस्पतालमा रहेका दक्ष चिकित्सकको गुणस्तरीय सेवाका कारण पनि नेपाल होस र भारतका जनताहरुको अस्पतालप्रति ठुलो विश्वास छ, प्रबन्धक डा. बर्माले भने, अहिले भारतमा पनि राम्रा आँखा अस्पतालहरु बनेका छन् तर पनि यहाँको उपचारको विश्वसनीयताले आउनेहरुको संख्या उस्तै छ ।
प्रबन्धक डा. बर्माले आँखा उपचारलाई थप प्रभावकारी र आधुनिक प्रविधिबाट गर्नका लागि अस्पतालमा अप्रेशन कक्षलगायतका भौतिक पूर्वाधारहरु निर्माण भइरहेको जानकारी दिए ।
बालबालिकाहरूकाे अाँखा उपचारका लागि छुटै भवन संचालनमा रहेकाे अस्पतालले जनाएकाे छ ।
आँखा शल्यक्रियामा विश्वनीयता
अस्पताल आँखामा लाग्ने रोग मोतियाबिन्दुको सफल उपचारको लागि अब्बल मानिन्छ । अस्पतालमा मेडिकल डाइरेक्टर डा. बासु प्रसाद अधिकारीको नेतृत्वमा रहेको शल्यक्रिया टोलीले अहिलेसम्म हजारौंको आँखाको ज्योती फर्काएको छ ।
एकै दिनमा १ सय ७० जनासम्मको आँखाको शल्यक्रिया गरेको जानकारी दिँदै नेत्र अधिकृत राम थापाले अहिले दिनमा ७० को हाराहारीमा आँखाको शल्यक्रिया गरिने जानकारी दिए ।

बन्द आँशु नली, जलबिन्दु तथा मधुमेहका कारणले दृष्टिपर्दामा हुने खराबीको ग्रीन लेजरद्वारा अपरेशन हुने अस्पतालमा मोतियाबिन्दुको बिना टांका तथा फेको प्रविधिबाट शल्यक्रिया गरिने थापाले बताए । यसका साथे अस्पतालमा डेढो आँखाको अप्रेशन जस्ता मेजर अप्रेशनहरु र इन्टोपियन, आँखामा मासु पलाएको अप्रेशन, आँखाको नानी मर्मत सहितका माइनर अप्रेशनहरु पनि गरिन्छन् ।

फैलाउँदै आँखा स्वास्थ्य सन्जाल
परोपकारी र स्वाबलम्बी अवधारणाबाट अगाडि बढेको अस्पतालले अहिले बिना कुनै बाह्य सहयोगमा अस्पताल सन्चालन गरिरहेको अस्पताल प्रबन्धक डा. बर्मा बताँउछन् । बिरामी जाँचबापत उठेको शुल्क, अपरेशनलगायतको शूल्कबाट अस्पतालको खर्च व्यवस्थापन हुँदै आएको छ, डा. बर्माले भने ।
अस्पतालले आँखा स्वास्थ्य क्षेत्रलाई विस्तारका लागि आवश्यक जनशक्ति उत्पादन गर्न ३ वर्षे नेत्र सहायक स्तरको शैक्षिक कार्यक्रम समेत सन्चालन गरेको छ । हाल चौथौ सत्र सन्चालन भइरहेको अप्थाल्मिक कलेजको एक सत्रमा ६० जना विद्यार्थीले अध्ययन गरिरहेको डा. बर्माले बताए ।
यसका साथै अस्पतालको आफ्नै व्यवस्थापनमा बर्दियाको सानोश्री, डोल्पाको जुफाल नगरपालिका, सुर्खेतको मेहेलकुना नगरपालिका र दैलेख जिल्लाको दुल्लु नगरपालिका गरी ४ स्थानामा सामुदायिक आँखा उपचार केन्द्रहरु सन्चालनमा छन् ।
बर्दियाको राजापुर, बाँसगढी, बाँकेको राप्तीपारी, कोहलपुर, सुर्खेतको बाबियाचौर र जाजरकोटको कार्कीगाँउ गरी थप ४ स्थानमा सामुदायिक आँखा उपचार केन्द्र खोल्ने तयारीमा छौं, वर्माले भने ।
बिचार पुरयाउनुपर्ने आँखाको स्वास्थ्यलाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनले भिजन ट्वान्टी ट्वान्टी अभियान सुरु गरेको छ । जसलाई फत्तेबाल आँखा अस्पतालले पनि सघाइ रहेको छ । सन् २०१० मा गरिएको अन्धोपन सर्वेक्षणले नेपालको कुल जनसंख्याको ०.३५ प्रतिशत व्यक्तिहरुमा अन्धोपनको समस्या रहेको देखाएको छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार अन्धोपनको समस्या प्रमुख स्वास्थ्य समस्या नहुनका लागि अन्धोपनको समस्या कुल जनसंख्याको ०.२० प्रतिशत भन्दा कम भएको हुनपर्छ ।

प्रतिक्रिया

प्रतिक्रिया