मटेहिया । नेपालगन्ज देखि सुईया सम्म निर्माण जारी रहेको हुलाकी राजमार्ग नरैनापुर गाउँपालिकामा विवादित भएको छ ।
नरैनापुर गाउँपालिका वडा नं.५ मटेहिया स्थित नक्सामा काटिएको स्थान बाहिरै सडक निर्माणको प्रयास भएपछि निर्माण कम्पनी र स्थानीयहरु बीच विवाद बढेको हो । तत्कालिन मटेहिया गाबिस वडा नं.५क, ९क, र ९ख सडक निर्माण गर्ने गरि सर्भे र नापी भएपनि उक्त जग्गा बाहिरै सडक निर्माण गर्ने प्रयास भएको स्थानीयको आरोप छ ।
विकासमा अवरोध गर्न खोजिएको होइन, नेपालगन्जन्यूजसंग स्थानीय जग्गाधनी बाबुलाल यादवले भने, तर कम्पनीले जहाँ नक्सा कटान गरेको छ र क्षतिपूर्ति दिएको छ त्यही स्थानमा सडक निर्माण हुनु पर्ने अडान हो ।
हाल चालु रहेको पुरानो सडक र नक्सामा काटिएको सर्भे नापी विच करिब ५० मिटरको अन्तर छ, स्थानीय रफीक शेषले भने, पुरानो नापीमा सडक लैजाँदा कुनै विवाद छैन । उनले मुआब्जा दिएको स्थान बाहेक सडक निर्माणको विषय अघि सरेकोले विवाद बल्झिएको बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले विवादित स्थानको अवलोकन गरेर आइतवार ईन्जिनियर सहितको टोली आवश्यक नाप जाँचका लागि खटाएका छन् । मैले सर्भेक्षकहरुलाई खटाएर सो स्थानमा के कसो भएको त्यस बारे रिपोर्ट मागेको छु, प्रजिअ केसीले भने, कुनै पनि जग्गाधनीलाई दोहोरो मर्का नपर्ने गरी समाधान खोजिँदैछ ।
केहि वर्ष अघि नापी हुँदा हाल चालु रहेको सडक भन्दा उत्तर तिर सर्भे गरेको र सोही आधारमा कित्ताकाट भई स्थानीयहरुले मुआब्जा समेत बुझेको अवस्था छ । जग्गा बढि जाने ब्यक्तिहरु पुरानो नापीको पक्षमा र कम जाने ब्यक्तिहरु नयाँ तर्फको सडक खोजेपछि दुई पक्षीय विवाद भएको प्रजिअ केसीले बताए ।
प्राविधिक स्तरबाट जग्गा लिने र फिर्ता गर्ने विषयमा समस्या हुँदैन, केसीले भने, समाधानको लागि म आफै पहल गर्छु । स्थानीयहरुले जग्गा फिर्ता गरेर मात्र सडक निर्माण गर्न कम्पनीलाई दबाव दिएपछि उत्पन्न भएको विवाद साम्य भएको हो ।
हुलाकी राजमार्ग र जिल्ला समन्वय समिति लगायतको पहलमा जग्गाधनीहरुको समस्या समाधान गरेर सडक निर्माणलाई बाधा अवरोध नगरेर विकासको काममा सबैलाई सहयोग गर्न आग्रह गरेको प्रअिज केसीले बताए ।
राप्तीपारि सोनपुरबाट सुईया सम्म जारी रहेको निर्माण कार्य यसवर्ष कालो पत्र गर्ने तयारी रहेको निर्माण कम्पनी गणपति ग्रप अफ कन्सट्रक्न कम्पनीका साइट सुपरवाईजर इन्द्र केसीले बताए । उनले अहिले ग्राभेल हाल्ने काम भइरहेको जानकारी दिए ।