बाँके : १० मिनेटमै प्रहरी

बाँके प्रहरीले सबै मतदान केन्द्रमा आवश्यक परे १० मिनेटमै थप सुरक्षा बल उपलब्ध गराउने योजनाका साथ विशेष तयारी अघि बढाएको छ । मंसिर २१ गते हुने प्रदेश सभा र प्रतिनिधी सभाको मतदानका लागि बाँकेमा ३२७ मतदान केन्द्र र १३६ मतदान स्थल निर्धारित गरिएको निर्वाचन कार्यालय नेपालगन्ज सुचना अधिकृत काशीलाल अधिकारीले बताए । उनले जिल्लामा ६८७ निर्वाचन अधिकृत नियुक्त गरिएको जानकारी दिए ।

 

 
असुरक्षाको हिसाबले बाँकेमा १२६ वटा स्थानलाई चिन्हित गरिएको बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामांगले बताए । ‘मतदान हुने दिन मतदान केन्द्रको चार तहमा सुरक्षा हुन्छ’, उनले भने, ‘नेपाली सेना, सशस्त्र प्रहरी, म्यादी र नेपाल प्रहरीले फरक फरक कोणबाट सुरक्षा निगरानी गर्नेछन् ।’ संवेदनशील मानिएका १२६ स्थानका लागि प्रहरी र सेनाको मोबाइल गस्ती परिचालन गरिने, अनुसन्धान अधिकारी खटाउने, र निगरानीको विशेष ब्यवस्था गर्ने सुरक्षा तयारीहरु पूरा भएका छन् । बाँके भौगोलिक हिसाबले केहि स्थानमा जटिल देखा परेकोले सो स्थानका लागि मतदान अघि नै सुरक्षा बल परिचालन गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 

 
यसअघि विवाद हुँदै आएको, आपराधिक क्रियाकलापमा संलग्नताको आधारमा र भौगोलिक कठिनालाई सुरक्षा संवेदनशीलताको कारणको रुपमा लिँदै बाँके प्रहरीले सो बारे अघि नै प्रभावकारी तयारी गरेको एसपी तामांगले बताए ।
निर्वाचन र मतदानको अवधिमा जिल्ला भरि १ हजार ६ सय ८८ जना म्यादी प्रहरी परिचालित छन् । ‘करिब १० मिनेटमै हामी सुरक्षा स्थिति कुनैपनि हालतमा सम्हाल्न सक्ने रणनीति बनाएका छौं’, एसपी तामांगले भने,‘समय परिस्थिति र अन्य प्राकृतिक कारणले चुक हुन सक्ने संभावनालाई नकार्न सकिँदैन ।’

 
‘यद्यपि बाँकेको स्थित अन्डर कन्ट्रोल नै छ’, तामांगले भने, ‘बाँकेको हकमा अवैध हतियार चुनौतीको रुपमा देखा परेको छ ।’ ‘हामी त्यस्ता हतियारहरु नियन्त्रणमा लिने अभियान चलाएका छौं’, उनले भने, ‘पछिल्लो ६ महिना भित्र ८ वटा अवैध हतियार प्रहरीले बरामद गरेको छ ।’

 

मदिरा निषेध गरिँदैं

मंसिर २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको मतदानका बाँके प्रहरीले जिल्ला भरि १० दिन अगावै मदिर बेचविखन, सेवन र ओसार पसारमा नियन्त्रण लगाउँदैछ । निर्वाचन र मतदान अवधीलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि मदिर निषेध बाञ्छनीय देखिएकोले सो तयारी गरिएको बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामांगले बताए ।
झैंझगडा, अशान्ति, हूल हुज्जतमा मदिराको भूमिका हुने गरेकोले बिक्री वितरण, सेवन र ओसार पसार समेत नियन्त्रण गर्न लागिएको हो’, एसपी तामांगले भने, ‘निर्वाचन सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी मदिरा नियन्त्रण आवश्यक देखियो ।’
शान्तिपूर्ण मानिएका स्थानहरुमा ७ दिन मात्र प्रतिबन्ध लगाउने तयारी छ, तामांगले भने, अन्य स्थानका लागि १० दिन सम्म मदिरा प्रतिबन्धित हुनेछ । बाँकेमा यत्रतत्र मदिराको बिक्री वितरण हुने गरेको स्थितिलाई मंसिर १२ गतेबाट निषेधको तयारी छ ।

थन्कियो हतियार

जनताको हातमा रहेका वैधानिक हतियार प्रहरीले पूर्ण रुपमा संकलन गरेको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयको अभिलेख अनुसार बाँके भित्र जनताको हातमा लाइसेन्स सहित ५४८ वटा हतियार छन् । निर्वाचन शान्तिपूर्ण र मर्यादित बनाउनका लागि हतियार संकलनको काम हुने गरेको छ । सो क्रममा बाँके प्रहरीले २९० वटा हतियार संकलन गरेको जनाएको छ ।
कुल हतियार मध्ये १३६ वटा सशस्त्र द्वन्द्वमा लुटिएको, १०० वटा बाहिरी जिल्लामा सरेको बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामांगले बताए । सम्पूर्ण विवरण मध्ये २२ वटा हतियारको अवस्था अझै अपुष्ट छ । प्रहरीले जिल्लाको सबै हतियार संकलन गरेको दावी गरेपनि विवरणमै २२ वटा हतियार संकलन नभएको देखिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया