एक बर्षमा नेपालगन्जले काचुली फेर्छ

आज शुक्रबार नेपालगन्ज उपमहानगरपालिकाको प्रथम ऐतिहासिक नगरसभा आयोजना हुदैछ । २० बर्षपछाडी पुनः नेपालगन्जको भाग्य र भविष्य बनाउने साचो लिएर जनप्रतिनिधित्व गर्दै स्थानीय सरकारमा सत्तासीन भएका डा. धवल समशेर  राणा नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखका रुपमा संवाददातासग प्रस्तुत हुदा धेरै सपना, थोरै संशयका साथ खुलेर कुरा गरे । ‘निर्णय लाद्ने गर्नुहुन्छ रे नि !’, जवाफ दिंदा किंन्चित पनि वनावटी भावभंगीमा नदेखिएका डा. राणाले खुलेरै भने, ‘स–साना कामहरुका लागि प्रक्रिया र छलफलमा जादा समयमा हुदैन त्यसैले काम गरेर सल्लाह गर्नुपर्ने अवस्था पनि आउन सक्छ ।’ तर, उनले ठोकेरै भने, ‘म भ्रष्टाचार हुन दिन्न, ढुक्क हुनुस्, नेपालगन्जबासीका सपना म पूरा गरेरै छाड्छु ।’ प्रथम नगरसभाको सेरोफेरोमा पत्रकार झलक गैरेसग नगर प्रमुख डा. राणाले गरेको कुराकानी संक्षेपमा । 

२० पछि पुनः नेपालगन्जको नेतृत्व सम्हाल्दा कत्तिको फरक पाउनु भयो त ?

खासै फरक छैन । त्यही स्थान हो, त्यही नगरपालिका हो । अलिअलि नियम कानुन भने परिवर्तन भएको छ । प्रजातन्त्र थियो लोकतन्त्र, गणतन्त्र आयो तर, स्थानीय निकायमा खासै फरक पाइएन ।

तपाईको सय दिनको कामको मूल्यांकन खासै सकारात्मक रहेन किन ?
म स“ग जादुको छडी छैन । यो बिग्रेको, भत्केको नगरपालिकालाई मैले आउने वित्तिकै सय दिनमै बनाउन सक्ने होइन । बजेट नै पास गर्न सरसर्ती कुनै अवरोध नभई काम गर्ने हो भने ढाई महिना लाग्छ । २५/३० वटा कमिटिबाट पार गर्नुपर्छ बजेटलाई, तीन/तीन पटक बोर्डबाट पारित गर्नुपर्छ, २३ वटा वडामा भेला गरेर बजेट पार गर्नुपर्ने हुन्छ । वडाबाट आएका मागलाई उपमहानगरपालिकाले बजेट दिन सक्छ कि सक्दैन भन्ने हेर्नुपर्यो, नसक्ने भए फेरि वडाध्यक्षलाई मिलाउनका लागि भन्नुपर्यो त्यसो गर्दा समय लाग्ने नै भयो । नियमावली पनि बनाउनु पर्ने, त्यो पनि झन्झटिलो छ । प्रक्रियाका कारण नै समयमा नगरसभा गर्न सकिएन ।
भ्रष्टाचार र बेथितिका कुरा पनि सुनिन थाले, अख्तियार पसेछ त !

म आएपछि भ्रष्टाचार छैन । म आउनु भन्दा अगाडी आएको कुरामा मैले प्रश्न उठाउने गरेको छैन । ल्याण्डफिल साइटको जग्गाको विषयमा भएको विवाद म आउनु भन्दा अगाडीको हो । पैले नगरपालिकामा भएका भ्रष्टाचारका कुराहरुमा अनुसन्धान होस्, दोषीले सजाय पाओस् भनेको छु । वास्तवमा २० बर्षसम्म बिग्रेको नगरपालिकालाई मैले ठिक गर्न समय लागेको हो । अहिले नगरपालिकामा फटाफट काम हुन्छ । सेवाग्राहीका काम सहज रुपमा भैरहेको छ । ठूलो काम सबै नेट प्रणालीमा लैजान भनेको छु । प्रतिस्पर्धाबाट नै काम हुन्छ, नियम कानुन मिचेर म काम गर्दिन ।

 

के गरियो त अहिलेसम्म ?
बसपार्क रोडको काम रोकिएको थियो मैले पहल गरें अब ८ महिनामा बन्छ । बाटो विवाद आएपछि मैले सहजीकरण गरेको हु“ । हुलाकी सडक भएपनि उपमहानगरभित्रको भएपछि बाटो नरोकियोस् भनेर मैले तत्काल बनोस् भनेर मैले सहजीकरण गरेको हु । बाटो चौडा गर्ने कुरा गरेको भए थप २ बर्ष सडक खाल्टोकै अवस्थामा रहन्थ्यो । २० बर्षदेखि नबनेको बसपार्कको बाटो कुनै पनि बहानामा रोकिएको भएर नगरपालिकाले त्यो बनाउन सक्थेन, किनकी त्यति ठूलो बजेट नगरपालिका सग थिएन ।

पहिले २३ वटा वडा नै नगरपालिका भित्र रहेका थिए । हामीले २३ वटा वडामा वडा कार्यालय स्थापना भएका छन् । त्यसका लागि दक्ष जनशक्ति, फर्निचर, कम्प्युटर लगायतको व्यवस्था गरेका छौं । अब स–साना कामका लागि नगरपालिका धाउनु पर्दैन । वडा बाट नै हुन्छ ।

 

हामी आएको ३ महिना मात्र भएको छ । यी तीन महिनामा नया कुराहरुको व्यवस्थापन गर्दैमा खर्च भयो । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पनि आएको छ । बजेट बनाउन नै २ महिना लाग्ने गरी झन्झटिलो प्रक्रिया बनाइएको छ । बजेटका लागि मात्र २० वटा कमिटि बनाउनु पर्यो । जिम्मेवारी धेरै थपिएको छ, कृषि, स्वास्थ्य यसैमा आइसकेको छ । तर, बिस्तारै सबै टुंगो लागिसकेको छ । सडक पिच गर्ने काम सुरु भैसकेको छ । हेर्दै जानुस् अबको ६ महिनामा धेरै काम हुनेछ । एडिबीको पनि भोलि पर्सिनै ठेक्कको काम सुरु हुन्छ र, आगामी एक बर्षभित्र थप धेरै काम हुनेछ ।
म नया सहर बनाउनु छ । ट्राफिक व्यवस्थापन, ताल, पार्क, नगरभवन बनाइसकियो, रानी तलाउको लागि ठेक्का आव्हान हुदैछ, ८०\९० किलोमिटर बाटो बन्दैछ । धेरै पर्खनु पर्दैन आगामी एक बर्षमा धेरै काम देख्न पाउनुहुनेछ ।

 

नेपालगन्ज निकै पछाडी प¥यो त किन होला ?
राजनीतिक दलका नेताहरु अधिकांस यहाका मान्छे होइनन् । बाहिरबाट आएर राजनीति गर्नेहरुले नै विकासको विरोध गर्ने गरेका छन् । मैले उम्मेदवारी दिंदा नै भनेको थिए, मैले आफ्नो ठाउ“को पहिले विकास नगरिकन देश विकास गर्न जानुको अर्थ थिएन । पहिले आफ्नो ठाउ बनाउनु पर्छ भन्ने उद्देश्यले नै म नगरपालिकामा आएको हु ।
सदरलाइन बन्दैछ, जनताले घर भत्काइरहेका छन् । कसैले भत्काएनन् भने हामी भत्काउछौं ।
तपाई आएपछिका नया योजना भन्नुस् न पाइपलाइनका कुरामा के जस लिनु ?
होइन, पाइपलाइनमा भएका योजना पनि म नआएको भए हुदैनथ्यो । त्यहा भ्रष्टाचार हुन्थ्यो । अवरोध गरिन्थ्यो । १५\२० बर्ष भो के बन्यो नेपालगन्जमा ? एउटा बनेको सुर्खेतरोडको सडकको गुणस्तर हेर्नुस् कस्तो छ ?
आज नगरसभामा तपाईका नेपालगन्ज बनाउने योजनाहरु पर्छन् ?
पक्कै पनि पर्छ । हेर्दैजानुस् बस्न लायकको सहर १ बर्षभित्रै बन्नेछ ।
फेरिपनि, स्थानीय सरकारले आफै विकास गर्ने होइन । कलकारखाना, एयरपोर्ट जस्ता संरचना हामीले बनाउने होइन । हामीले हरेक कामको लागि सहज वातावरण बनाउने हो । शान्तिसुरक्षा कायम गर्ने । सुन्दर र शान्त रुपमा बस्ने अवस्था हामीले बनाउने हो जहा मान्छेका काम तुरुन्त हुन्छ । त्यसो भयो भने आफै विकासको गति लिन्छ । हामीले बाटोघाटो, पुलपुलेसा बनाउने हो, व्यवसायिक, औद्योगिक वातावरण बनाउने हो । र, व्यापार, उद्योग, अस्पताल, विद्यालय, कलकारखाना बनाउ भन्ने हो । त्यसले रोजगारी सिर्जना गर्छ । नगरसभामा पनि पर्यटन, शिक्षा, स्वास्थ्यका लागि जोड दिएका छौं । कर प्रणाली सजिलो बनाएका छौं । प्रोत्साहन गर्ने नीति लिएका छौं ।
बजेटको अवस्था कस्तो छ ?
१६\१७ करोड बजेट वडाका लागि छुट्याएका छौं । नेपालगन्जका २३ वटा वडाहरुका लागि बजेट विनियोजन गरेका
हौंं । ८० लाख देखि १ करोड २० लाख सम्म वडाका लागि बजेट पठाएका छौं । सरसफाई, बत्ती, नाला जस्ता स–साना कामहरु वडा परिषद्बाट पारित भएर आएको छ । ठूलो बाटो उपमहानगरपालिकाले आफै बनाइरहेको छ । वडाका लागि स–साना बाटो मर्मत, निर्माण, सरसफाई, बत्ती, पानीका लागि बजेट पठाएका छौं । विकासका विभिन्न सूचकहरुमा ध्यान दिएका छौं । अपाङ्गता, ज्येष्ठ नागरिक, महिला, उद्योगी, खेलकुद, शिक्षा, सञ्चार क्षेत्रका लागि हामीले बजेट छुट्याएका छौं । नगरपरिषद् हुने वित्तिकै फटाफट काम हुनेछ ।
कर्मचारी संयन्त्र कत्तिको सहयोगी छ ? बोर्डमा समन्वय ?
पहिले पनि मलाई कर्मचारीले सहयोग गरेका थिए । अहिले पनि गरिरहेका छन् । त्यसको कारण भनेको मैले भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने मान्छे । कर्मचारीहरु पनि चाहन्छन् नगरपालिका राम्रो सग चलोस् भन्ने । म यो पार्टी वा त्यो पार्टी भन्दिन । मैले एउटै भनाइ छ काम गर । कति कार्यकारी आए गए मलाई कसैसग समस्या
भएन । ३० जनाको बोर्ड हुन्छ, तत्कालै गर्ने काममा सबैलाई सम्झाउदा सामान्य समस्या हुने गर्छ । तर, त्यस्ता विवाद सामान्य रुपमै समाधान भएको छ ।
नगरको आर्थिक स्रोत कसरी बढाउदै हुनुहुन्छ ?
स्रोत पहिचान गर्ने काम काम भैरहेको छ । कर थप्ने भन्दा करको दायरा बढाउन हामी लागेका छौं । हामीले एउटा तहसम्म काम गर्न सक्छौं । तर, ठूलो काम विदेशी संस्था वा राज्य सग सहयोग लिनु नै पर्छ । स्रोतका लागि ५ बर्ष भित्र हामी विशाल बजार बनाउने योजनामा छौं । निःशुल्क डिपिआर बनाउन प्रक्रियामा छौं । त्यसबाट पनि उपमहानगरपालिकालाई स्रोत जुट्छ । बागेश्वरीको वरिपरि रहेका सटर तोडेर नया कप्लेक्स बनाउनका लागि पैसा माग गरिसकेका छौं ।
म अहिले बागेश्वरी मन्दिर विकास समितिको अध्यक्ष भएको छु । मैले त्यहा“ ठूलो सम्भावना देखेको छु । समितिमा सबै पार्टी राम्रा व्यक्तिहरु राखिएको छ । एक/डेढ बर्ष लाग्छ म बागेश्वरीको व्यापक सुधार गराउने छु । बागेश्वरी मन्दिर हाम्रो धार्मिक आस्था केन्द्र हो । त्यहाँबाट पनि आन्तरिक र बाह्य पर्यटनका लागि नगरपालिकामा स्रोत बनाउने मैले विचार गरिरहेको छु ।
फोहोर व्यवस्थापनको चुनौति कसरी समाधान हुन्छ ?
फोहोर व्यवस्थापन नगरपालिकाको जिम्मा हो । तर, रातारात सबै ठिक हुदैन । तीन महिना अघि सम्म २ वटा ट्याक्टर रहेको नगरपालिकामा मैले ७ वटा पुर्याएको छु । विरगन्जको सांसदको पैसाबाट यहा ३ वटा ट्याक्टर थपेको छु । फोहोर व्यवस्थापनमा पहिला भन्दा केही सुधार त भएको छ ।
२ हजार डष्टविन ६ महिना भित्र उपमहानगरपालिका भित्र राख्छु । त्यसपछि जनतालाई सडकमा फोहोर फाल्न पाइदैन डष्टविनमा राख भनेर सचेत बनाउँछु । जनताले मलाई सपोर्ट गरिरहनु भएको छ । ल्याण्डफिल साइटको जग्गा विवादले केही समस्या भने निम्त्याएको छ । फोहोर फाल्ने ठाउ नहुदा समस्या भने भएको छ । हामी काम गर्छौ सबैले सहयोग गर्नुपर्यो ।
नेपालगन्जको सुदूर भविष्य के हो अब ?
प्रदेशको राजधानी बनाउन पहल गर्ने हो भने म पनि सडकमा जान तयार छु । सकेसम्म राजधानी बनाउने, नसके नेपालगन्जलाई देशकै उत्कृष्ट सहर बनाउनु पर्छ । आर्थिक, शैक्षिक, पर्यटकीय र स्वास्थ्य, उद्योग, व्यापारको केन्द्र बनाउन सकिन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया