नेपालगन्ज भन्सार कार्यालयले आफ्नै कर्मचारी सुभाष प्रसाद श्रेष्ठको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय जाँच समिति तस्करीमा संलग्नताको आशंकामा भन्सार विभागले काठमाण्डौ तानेपछि जाँचनै अलपत्र परेको हो ।
गत महिना कार्तिक ११ गते शनिवार राति ११ः३० बजेको समयमा भन्सार कार्यालय अगाडीबाट कर्मचारीको मिलोमतोमा भित्रिएको ३० लाख रुपैयाको सामाग्री सहितको ट्रक बारे जाँच गर्न नेपालगन्ज भन्सारले श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय जाँच समिति गठन गरेको थियो ।
‘भन्सार विभागले छुट्टै टोली परिचालन गरी जाँच थालेपछि श्रेष्ठ ट्रक भित्र्याउने कार्यमा संलग्न पाइएका हुन्’, भन्सार श्रोतले भन्यो, संयोजक श्रेष्ठलाई विभागको टोलीले आफु संगै लगेपछि जाँच समिति ध्वस्त भएको हो । भन्सार विभागको जाँच टोली अघि नै भन्सार कार्यालय नेपालगन्जले घटनाको दोस्रो दिन कर्मचारी श्रेष्ठको संयोजकत्वमा जाँच समिति बनाएर श्रेष्ठलाई चोख्याउने प्रयास थालेको थियो । विभागको जाँचमा श्रेष्ठ तस्करीमा संलग्न पाइएपछि थप अनुसन्धान र कारवाहीका लागि काठमाडौ लगिएको बताइएको छ ।
तर भन्सार प्रमुख जनार्दन आचार्यले भन्सार विभागले जाँच गर्न थालेपछि यहाँको जाँच समितिको औचित्य सकिएको बताएका छन् । ‘विभागले जाँच थालेपछि यहाँ गठन भएको समिति निष्कृय भएको हो’, उनले भने, ‘विभागको जाँच टोलीले प्रतिवेदन बुझाएको छ ।’
भन्सारले गठन गरेको जाँच समितिमा तथ्यांक अधिकृत अनिल प्रसाद साउद र नायब सुब्बा कमल सिंह खड्का सदस्य रहेका थिए । ट्रक सहितको सामाग्री मिलोमतो पैठारी गरेको आरोपमा नेपालगन्ज भन्सारका कर्मचारी कार्यालय सहयोगी मंगल शाही, अधिकृत सुभाष श्रेष्ठ र नायब सुब्बा कृष्ण खड्कालाई घटना जाँच गर्न पुगेको भन्सार विभागको टोलीले थप अनुसन्धानका लागि आफु संगै लगेको हो ।
भन्सार कर्मचारीको मिलोमतो र योजनामा ३० लाखको सामाग्री सहित ट्रक भित्रिएको घटना पछि भन्सार कार्यालय नेपालगन्ज, रुपईडिहा एसएसबी र सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्मको अभिलेख अध्ययनका क्रममा १० दिन भित्र ६ सय १३ वटा माल बाहक ट्रक बिना भन्सार गायब रहेको तथ्य समेत बाहिर आइसकेको छ ।
पछिल्लो दुई वर्ष भित्र बाँके प्रहरीले विना भन्सार भित्रिएका ७ वटा ट्रक नियन्त्रणमा लिएर कारवाही चलाइसकेको छ ।
क्यामरा बन्यो ड्युटी बढ्यो
नेपालगन्ज भन्सार कार्यालय बाट चुस्त सेवा प्रवाह र पारदर्शिता हुने उद्देश्यले दुई वर्ष अघि जडान भएको सिसिटिभी क्यामरा बिग्रिएको झण्डै तीन महिना पछि पुनः संचालनमा आएको छ ।
दुई वर्ष अघि भन्सार विभागले जडान गरेको क्यामरा चेकजाँच हुनु पर्ने स्थानमा
बिग्रिएको फेला परेपछि सो बारे दैनिक नेपालगन्जले समाचार प्रकाशित गरेको थियो । भन्सार अघि खासगरि कर्मचारीले चेकजाँच गर्ने स्थानमा नै क्यामरा बिग्रिएको पाइएको थियो । क्यामरा मर्मत भएर संचालन आएको नेपालगन्ज भन्सार प्रमुख जनार्दन आचार्यले बताए ।
‘चेकजाँच र ड्युटीमा पनि ब्यापक हेरफेर भएको छ’, दैनिक नेपालगन्ज संग आचार्यले भने, ‘पहिला २ जना कार्यालय सहयोगीको ड्युटी हुने गरेकोमा अहिले २ जना नायब सुब्बा र ४ जना प्राविधिक स्तरका कर्मचारीलाई चेकजाँचमा खटाइएको छ ।’
नाकामा प्रवेशपछि विभिन्न ६ स्थानको विवरण रेकर्ड गर्नका लागि जडा भएको क्यामरा दुई मुख्य स्थानमा खराब फेला परेको थियो ।