घर भित्रै प्रहरी छापा, भन्सार छलेको सामान नियन्त्रणमा

नेपालगन्ज भन्सारबाट अवैध रुपमा भित्रिएको सामाग्री बारे सिलसिलेवार तथ्यहरु बाहिर आइरहेकै बेला भन्सार छली गरी नेपालगन्जमा स्टक राखेको ठूलो परिमाणको कपडा र सुर्तीजन्य सामाग्री बुधवार प्रहरीले बरामद गरेर तस्करी थामिनसक्नुको स्थितिमा रहेको पुष्टि गरेको छ ।

 
भन्सार नाकाबाट ल्याएर घरमा गोदाम गरी राखेको कपडा र सुर्तीजन्य सामाग्री जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले छापा मारेर बरामद गरेको हो । प्रहरी निरीक्षक लक्ष्मण बहादुर शाहीको कमाण्डमा गएको टोलीले नेपालगन्ज वडा नं.१ धम्बोजी स्थित गोमती गोडिया, सवारा काँदु, मिना काँदु र नकछेद गोडियाको घरबाट झण्डै एक ट्रक कपडा र सुर्ति बरामद गरेको हो ।

 
बरामद भएको सबै सामाग्री भन्सार छली तस्करी गरी भण्डारण गरि राखीएकोे जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यति ठुलो परिमाणको कपडा बरामद भएको पहिलो पटक भएको प्रहरीले जनाएको छ । भन्सार छली गरी स्टक राखेको भन्ने विशेष सुचनाको आधारमा कारवाही गर्दा सामाग्री भण्डारण गरिएको अबस्थामा फेला पर्यो, प्रहरी निरीक्षक शाहीले भने, राजश्व तिरेको र आधिकारिक विलहरु देखा नपरेपछि कारवाही अघि बढाइएको हो । ‘बरामद भएको सामाग्रीको वास्तविक मुल्य घटबढ हुन सक्छ’, शाहीले भने, ‘अनुमानित रुपमा १५ लाख सम्मको सामाग्री बरामद भएको प्रारम्भिक ठम्याई छ ।’ यो तस्करहरुको ठुलो नेटवार्क मध्येको एउटा सामान्य भाग मात्रै हो, दैनिक नेपालगन्ज संग कुरा गर्दै शाहीले भने, कारवाही गर्दा तस्करीमा संलग्न पुरुषहरु फेला नपरेपनि उनीहरु छिट्टै फन्दामा आउँछन् ।,

 

 
‘रुपइडिहाबाट भन्सार र अन्य कार्यालयहरुको मिलोमतोमा नेपालगन्जमा भित्रिएको सामाग्री स्टक गरेर डिलरलाई बिक्री गर्ने गिरोह रहेछ’, घटना अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले भने, ‘ती डिलर सम्मै हाम्रो चासो छ ।’
पहाडी र दुर्गम क्षेत्रमा सामाग्री पुर्याउनका लागि नेपालगन्जमा रहेका केहि डिलरको विलको सहारा लिने तस्करहरु प्रहरीको सूचीमा छन्, अनुसन्धान अधिकारीले भने, क्रमशः कारवाही हुँदैछ । भन्सार छली बारे सार्वजनिक भएका तथ्यहरुमा प्रहरी चासो केन्द्रित भएकै हो, अधिकारीले भने, करछलि गरेर उपभोक्तालाई ठगि गर्नेहरु विरुद्ध कारवाहीको क्रममा यो सामाग्री बरामद भएको हो ।

 
प्रहरीले गरेको कारवाहीमा पुरुषको काचो सर्ट पाइन्ट कपडा ४ सय ६१ पिस, कोट पाइन्टको कपडा ४ सय ९२ पिस, लेडिज कुर्ती १०० पिस, विवाहमा प्रयोग हुने कार्ड २२ बण्डल, जाडोमा लगाउने पुरुष टूाउजर ३ सय ९ पिस, हाइनेक १२ पिस बरामद भएको छ । बरामद भएको सामाग्रीमा सुइटर ८८ पिस, बनियान ६० पिस, मञ्जन ५ सय २६ वटा वट्टा, पान मसाला ३ सय १२ पिस रहेका छ । बिशेस सुचनाको आधारमा अबैध रुपमा भन्सार छली लुकाई छिपाई भण्डारण गरी राखिएको सामाग्री बरामद गरेको प्रहरी भनाई छ ।

 
बरामद भएको सामाग्री भण्डारण तथा तस्करीमा संलग्न ब्यक्तिहरुको खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ । सामाग्री आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा पठाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया