आठौं राष्ट्रिय खेलकुदको मिति घोषणा

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी बर्ष मंसिरको दोस्रो साता आयोजना हुने निश्चित भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले सोमबार नेपालगन्जमा पत्रकारहरु माझ प्रतियोगिताको मिति घोषणा गरेका हुन् । ‘आगामी मंसिरको दोस्रो साता नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना हुनेछ’, सदस्य सचिव विष्टले सोमबार भने ।

 

विष्टले आगामी असोज मै जिल्ला स्तरीय छनोट प्रतियोगिताको क्यालेण्डर सार्वजनिक गर्दै भने, ‘मंसिरको पहिलो साता क्षेत्रीय स्तरका छनोट खेलहरु आयोजना हुनेछन् ।’ ‘त्यस लगत्तै राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिनेछ’, सदस्य सचिव विष्टले भने । प्रतियोगिता तोकिएको मितिमा हुनेमा ढुक्क हुन आग्रह गर्दै सदस्य सचिव विष्टले आयोजनालाई सफल पार्न विभिन्न भौतिक पूर्वाधार निर्माणका कामहरु अगाडी बढेको जानकारी दिए ।

 
‘पूर्वाधारका माष्टर प्लान बनिरहेका छन्’, विष्टले एक अर्ब २४ करोड रुपैया“ बजेट विनियोजन भैसकेको जानकारी दिंदै भने, ‘५५ करोडको टेण्डर भैसकेको छ ।’ पूर्वाधारका लागि ११ करोड रुपैया“ जिल्लामा पुगिसकेको जानकारी दिंदै विष्टले थप माग भएको ४२ करोड निर्वाचन लगत्तै आइपुग्ने जानकारी दिए । ‘त्यसबाहेक ३५ करोड रुपैया जति आयोजनाका लागि अनुमान गरिएको छ’, विष्टले खेलाडी सुविधा समेत बढाइएको घोषणा गर्दै भने ।

 

निर्वाचन लगत्तै सबै ध्यान राष्ट्रिय खेलकुद प्रतियोगितामा लगाइने सदस्य सचिव विष्टको भनाइ थियो । ‘स्थानीय सरकार, जनता सबैको साथ चाहियो’, आयोजनालाई भव्यता दिन आव्हान गर्दै सदस्य सचिव विष्टले भने ।

प्रतिक्रिया

प्रतिक्रिया