वामगठबन्धनको घरदैलोलाई व्यापार संघका अध्यक्षको स्वागत

नेपालगञ्ज, ४ मंसीर – वामगठबन्धनका उम्मेदवारहरुले नेपालगञ्जको विकास र समृद्धिका लागि आफूहरु अग्रसर हुने बताएका छन् । वामगठबन्धन निर्वाचन परिचालन कमिटी, क्षेत्र नं. २ ले सोमबार नेपालगञ्ज–८ मा गरेको घरदैलो तथा नगरका चोकचोकमा आयोजित चुनावी कोण सभालाई सम्बोधन गर्दै उम्मेदवारहरुले नेपालगञ्जको विकासलाई गति दिने प्रतिवद्धता गर्नुभयो ।


क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार पशुपतिदयाल मिश्रले हिमाल, पहाड र तराईका शोषण उत्पीडन अन्त्य गरेर समुचित विकास गर्ने प्रतिबद्धता गर्नुभयो । उहाँले नेपालगञ्ज विश्वविद्यालय, पर्यटन हव, भेरी अञ्चल अस्पताललाई सरकारी मेडिकल कलेज रुपमा बिस्तार गर्ने, विशेष आर्थिक क्षेत्र, राप्ती नदीको कटान रोक्ने र तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित बसोबास गराउने, क्षेत्रमा पर्ने हरेक बाटोहरु पीच गर्ने प्रतिबद्धता गर्नुभयो ।


क्षेत्र नं. २ प्रदेश सभा ‘ख’ का उम्मेदवार विजयकुमार गुप्ताले रोजगारी सिर्जना, उद्योगी व्यापारीको उचित सम्मान र नेपालगञ्जको समुचित विकासमा आफू अहोरात्र खटिने बताउनुभयो । विधायकको पारिश्रमिक नलिने घोषणा गरेका गुप्ताले भ्रष्टाचार आफ्नो प्रमुख सत्रु हुने बताउनुभयो ।

वामगठबन्धन निर्वाचन परिचालन कमिटी, क्षेत्र नं. २ का संयोजक दामोदर आचार्यले गठबन्धनबाट आत्तिएर अरुले अधिनायकवाद आउनेलगायतका भ्रमहरु फैलाएको बताउनुभयो । उहाँले विरोधीले फैलाएको अफवाहमा नपरी मुलुक र नेपालगञ्जको विकासका लागि गठबन्धनलाई जिताउनुको विकल्प नभएको बताउनुभयो ।

 

समानुपातिक उम्मेदवार पार्वती पुनले हरेक नेता तथा कार्यकर्ताले जीतको सपना देखेर अगाडि बढ्नु पर्ने बताउनुभयो ।
गठबन्धनको घरदैलो अभियान त्रिभुवनचोकमा पुग्दा नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य र अत्तहर हुसैन फारुकीले सम्बोधन गरेका थिए । घरदैलो टोलीलाई सम्बोधन गर्दै संघका अध्यक्ष बैश्यले वामगठबन्धनले देशको विकासलाई गति दिने बताउनुभयो ।
नेपालगञ्जको घरदैलोमा उम्मेदवार तथा नेताहरुले घर पसलमा पुगेर मतदातासँग मत माग्नुका साथै त्रिभुवनचोक, त्रिवेणीमोड, सेतुविकचोकमा कोण सभा गरेका थिए । घरदैलोमा समानुपातिक उम्मेदवारहरु रुबी खान पठान, तलत प्रविण अन्सारी, कलामून अन्सारी, निर्वाचन परिचालन क्षेत्र नं. २ का सहसंयोजक निरक गुरुङ, क्षेत्र नं. २ ख का संयोजक रविन्द्र लम्साल, भाष्कर काफ्ले, दत्तप्रसाद आचार्य, गोपाल पुन, रचना श्रेष्ठलगायतको उपस्थिति थियो । घरदैलो टोलीलाई नेपालगञ्जका प्रबुद्ध व्यापारीहरुले स्वागत गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया