नेपालगञ्ज, २९ कात्तिक – संयुक्त वामगठबन्धनले नेपालगञ्जको वडा नं. ३ मा वडा कार्यालय स्थापना गरेको छ ।
चुनावी अभियानलाई प्रभावकारी बनाउनका लागि वामगठबन्धनले वडा–वडामा कार्यालयहरु राख्न थालेको हो । वडालाई केन्द्रित गरी चुनावी गतिविधि गर्नका लागि सबै वडामा कार्यालय राख्न थालेको जिल्ला निर्वाचन परिचालन कमिटीले जनाएको छ ।
बुधबार वडा नं. ३ को वडा कार्यालय निर्वाचन परिचालन कमिटी क्षेत्र नं. २ का संयोजक दामोदर आचार्यले उद्घाटन गर्नुभयो । वडा कार्यालय उद्घाटनमा बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार पशुपतिदयाल मिश्र र क्षेत्र नं. २ प्रदेश सभा ‘ख’ का उम्मेदवार विजयकुमार गुप्तालगायतको उपस्थिति रहेको थियो ।
वडा कार्यालयको उद्घाटन पछि नियमित तालिका अनुसार वडा नं. ३ मा घरदैलो गरिएको छ । प्रतिनिधि सभाका उम्मेदवार मिश्र र प्रदेश सभाका उम्मेदवार गुप्ता, निर्वाचन परिचालन कमिटी क्षेत्र नं. २ का संयोजक आचार्य, सहसंयोजक निरक गुरुङ, क्षेत्र नं. २ प्रदेश ‘ख’ का सचिव दत्तप्रसाद आचार्यलगायतको टोली घरदैलोमा हिडेको थियो ।
एकलैनी बजारमा घरदैलोमा निस्केका वामगठबन्धनका उम्मेदवारलाई स्थानीयले हर्षितमुद्रामा स्वागत गरेका थिए । हात जोडेर उम्मेदवारहरु पुग्दा स्थानीयले सहयोगको बचन दिएका थिए । ‘ल एकपटक हामीलाई सहयोग गरिदिनुस्’ भन्दै उम्मेदवारहरु हात जोडेर पुग्दा स्थानीयले ‘हुन्छ’ भनेका थिए । मंसीर १० गतेसम्मको तालिका बनाएर घरदैलोमा हिडेका उम्मेदवारहरु व्यक्तिगत भेटघाटमा पनि व्यस्त रहेका छन् ।