विनय दीक्षित
सामान्य उपभोक्ताले भारतबाट साइकलमा राखी ल्याएको केहि रुपैया“को सामाग्रीमा निगरानी राख्ने नेपालगन्ज भन्सार कार्यालयले आफ्नो संलग्नतामा करोडौको तस्करी गर्ने गरेको खुलेको छ । हालै कार्तिक ११ गते शनिवार राति ११ः३० बजेको समयमा भन्सार कार्यालय अगाडीबाट मिलोमतोमा भित्रिएको ३० लाख रुपैयाको सामाग्री सहितको ट्रक संघीय ईकाइ प्रहरी नेपालगन्जले बरामद गरेपछि तस्करीको विषय चौतर्फी रुपमा चासो लिएको हो ।
भन्सार कर्मचारी कार्यालय सहयोगी मंगल शाही, अधिकृत सुभाष श्रेष्ठ र नायब सुब्बा कृष्ण खड्को संलग्तामा ट्रक भित्रिएको अभियोगमा भन्सार विभागले तीनै जनालाई थप अनुसन्धानका लागि काठमाडौ लगेको छ । भन्सार कर्मचारीको मिलोमतो र योजनामा ३० लाखको सामाग्री सहित ट्रक भित्रिएको घटना पछि भन्सार कार्यालय नेपालगन्ज, रुपईडिहा एसएसबी र सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्मको अभिलेख अध्ययनका क्रममा १० दिन भित्र झण्डै ६ सय १३ वटा माल बाहक ट्रक बिना भन्सार गायब रहेको खुलेको हो ।
नेपालगन्ज क्षेत्रमा कुनैपनि मालवस्तु ट्रक मार्फत ल्याउन रुपईडिहा स्थित एसएसबी र भन्सार कार्यालय नेपालगन्जको नाका भएर मात्र वस्तु आयात गर्न सकिने अन्तरदेशीय प्रावधान छ । भारतीय एसएसबीले संकलन गरेको नेपाल प्रवेश गर्ने ट्रकको संख्या र सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्मले संकलन गरेको तथ्याँक मध्ये १० दिनकै विवरणमा झण्डै ६१३ वटा माल बाहक ट्रकको स्थिति गायब भएको फेला परेपछि तस्करीको सिलासिला करोडौमा रहेको अनुमान गर्न सकिन्छ ।
नेपाल भित्रिने मालबाहक गाडीहरुको संख्या र भन्सार छलिको अवस्था बारे अध्ययन गर्दा १० दिनको विवरणमा झण्डै ६ सय १३ वटा विना भन्सार अर्थात सरकारी राजश्व नतिरेर माल बाहक नेपाल भित्रिएको खुलेको हो । ती ट्रकले कस्तो खालको सामाग्री बोकेका थिए भन्ने विषयमा विवरणहरु प्राप्त हुन सकेका छैनन ।
ट्रकले बोकेको सामाग्री र त्यसबाट असूल हुन सक्ने अनुमानित राजश्व बारे अनुमान लगाउन त्यति सजिलो नभएपनि नेपालगन्ज भन्सार कर्मचारीको साँठगाँठमा करोडौ रुपैया बराबरको मालवस्तु तस्करी हुने गरेको तथ्य बाहिर आएको छ ।
नेपालगन्ज भन्सार कार्यालय देशमा रहेका मुख्य भन्सार मध्येको एउटा हो । देशको ४४ प्रतिशत राजश्व संकलन हुने स्थान भन्सार कार्यालयबाट आधा बढि माल वस्तु बोकेको ट्रक विना विवरण गायब हुन थालेको रहस्य खुलेपछि भन्सार कार्यालय नेपालगन्जमा भइरहेको कर्मचारी मिलोमतो र चुहावट बारे गम्भिर प्रश्नहरु खडा भएका छन् ।
नेपालगन्ज सिमा प्रवेश अघि भारतीय भन्सार (इण्डियन कस्टम्स) मा मालबाहक ट्रकको इन्ट्री हुन्छ । त्यसपछि बलियो विवरण राख्ने निकाय भारतीय सशस्त्र सिमा सुरक्षा बल (एसएसबी) ले ती ट्रकको विवरण राख्छ । भारतीय भन्सार कार्यालयमा प्रवेश भएर नेपालका लागि आउने माल बाहक ट्रकहरुको नं., सामाग्री र चालक तथा सहचालक समेतको विवरण एसएसबीले राख्दै आएको हो । भन्सारको विवरणलाई प्रभावकारी रुपमा लिन नमिल्ने भएकै कारण एसएसबीले फरक किसिमले विवरण संकलन गर्ने काम गर्दै आएको हो ।
नेपाल प्रवेश गर्ने ट्रक, ट्यांकर, मालबाहक, पिक अप, ग्यास बुलेट सहित सवारी बोकेको गाडी सम्म विवरण संकलन गर्दै आएको एसएसबी रुपईडिहाका प्रमुख सुकुमार देव बर्माले बताए । ‘नेपालबाट भारत आउने मानिस, ट्रक, मालवस्तुको पनि विवरण राख्छौं’, उनले भने, ‘नेपालमा गएपछि त्यहाँ कसरी विवरण राख्ने भन्ने विषय नेपालको हो ।’
सिमा सम्बन्धी गतिविधिमा कुनै स्थिति फरक वा विवादित देखा परे दुबै देशका सरोकारवाला निकायलाई सूचना दिन सक्ने प्रावधान रहेको समेत प्रमुख बर्माले खुलाए । नेपाली क्षेत्रमा ३० लाखको सामाग्री सहित ट्रक बरामद भएको घटना बारे जानकारी पाएको बताउँदै उनले, ‘आवश्यक परे सरकारी संयन्त्रलाई घटना जाँचमा पूर्ण सहयोग गर्ने जानकारी दिए ।’
‘कर भनेको जनताको हित र देश विकासका लागि संकलन हुने विषय हो’, एसएसबी प्रमुख बर्माले भने, ‘यसमा कसैले कुनियत र भ्रष्टाचार गर्छ भने त्यसमा सरकारले ठोस कदम चाल्नु पर्छ ।’ रुपईडिहा एसएसबीले संकलन गरेको भाद्र १ गते देखि १० गते सम्म र सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्मले संकलन गरेको माल बाहक ट्रकको अभिलेखमा अपत्यारिलो भिन्नता पाइएको हो ।
सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्मले भन्सार नाकामा चेक प्वाईन्ट स्थापना गरेर भन्सार राजश्व तिरेर बाहिर निस्कन लागेका ट्रक, ट्याँकर, ग्यास बुलेट, पिकअप गाडीहरुको इन्ट्रि गर्ने गरेको जनाएको छ । ‘भन्सार कार्यालय भित्र नपसेर बाहिरबाट गएका ट्रकहरुको संख्या हाम्रो अभिलेखमा आउँदैन’, गुल्मका प्रमुख डीएसपी सन्तोष विक्रम शाहले भने, ‘कर तिरेका मालबाहक ट्रक, ट्याँकटर र ग्यास बुलेटको रेकर्ड राख्ने गरिन्छ ।’
‘सडकमा ट्रक राखेर त्यतैबाट लगेको खण्डमा हामीलाई जानकारी हुँदैन, त्यो भन्सार कर्मचारीको विषय हो’, डीएसपी शाहले भने, ‘भन्सार कार्यालयबाट निस्कन लागेका ट्रकहरुको इन्ट्री गर्ने काम मात्रै हाम्रोे हो ।’ ‘त्यसमा रहेको सामाग्री बारे हामीले हेर्न पाउँदैनौं’, उनले भने, ‘त्यो हेर्ने जाँच्ने सबै अधिकार भन्सार कर्मचारीकै छ ।’ ‘कर तिरेको वा नतिरेको सम्बन्धी विवरण पनि हामी हेर्न पाउँदैनौं’, डीएसपी शाहले भने, ‘ट्रक आएको र गएको विवरण हामी संग हुन्छ ।’
नेपालगन्ज भन्सार कार्यालय संग ट्रक इन्ट्री बारे माग गरिएको विवरण कार्यालयले उपलब्ध गराउन सकेन । भन्सारबाट वैधानिक रुपमा पास भएको सामाग्रीको सूची नेपालगन्ज भन्सार कार्यालय पठाएर भ्रमित पार्ने प्रयास गर्यो । ‘वास्तविक सवारी साधनको संख्या नै भन्सारमा यकिन छैन’, श्रोतले भन्यो, ‘भन्सारबाट भित्रिने सम्पूर्ण मालबाहक ट्रक, ट्याँकर, ग्यास बुलेट मध्ये आधा मात्र कर तिर्ने गरेको खुलेको हो । यसरी भन्सार कर्मचारीको अवैधानिक आम्दानी र मिलोमतोको स्तर कति सम्म हो भन्ने अनुमान लगाउन सहज भएको छ ।
नेपालको भन्सार प्रशासनले विभिन्न भन्सार बिन्दुहरुमा भन्सार महसुल, मूल्य अभिबृद्धि कर, अन्तशुल्क तथा अन्य करहरु असुल गर्दछ । भन्सारले कुल राजस्वको ४४ प्रतिशत तथा कर राजस्वको ५० प्रतिशत प्रतिनिधित्व गर्दछ । भन्सार महसुलले मात्र कुल कर सम्बन्धी राजस्वको २० प्रतिशत प्रतिनिधित्व गरेको भन्सार विभागको भनाई छ । आन्तरिक राजस्वको परिचालनमा भन्सार प्रशासनले अग्रस्थान लिएको छ । भन्सार प्रशासनको भुमिका आन्तरिक राजस्व परिचालनमा मात्र सिमित हुन जरुरी छैन ।
राष्ट्रिय सुरक्षामा आँच नपुग्ने गरी अन्र्तराष्ट्रिय आचार अनुरुप व्यापार सहजिकरणमा पहल गर्न, सिफारिश गर्न तथा प्रचलित अभ्यास अपनाउन भन्सार प्रशासनको महत्वपूर्ण भूमिका रहेको छ । अन्तरराष्ट्रिय व्यापार, प्रविधिको विकास, राष्ट्रिय आवश्यकता र उदार तथा खुल्ला अर्थ व्यवस्था अनुरुप गति बोधक रहेर प्रशासनलाइ दक्ष, पारदर्शी र सेवामुखि बनाउन भन्सार प्रतिबद्ध रहेको विभागको दावी छ ।
नेपालको भन्सार प्रशासनको सांगठनिक स्वरुप हेर्दा ३१ वटा मूल भन्सार कार्यालयहरु र १ सय ४३ वटा छोठी भन्सार कार्यालयहरु देशमा रहेका छन् । भन्सार विन्दुहरुमा कानुनमा तोकिए बमोजिम भन्सार महसुलका अतिरिक्त मूल्य अभिबृद्घि कर र अन्तशुल्क समेत संकलन गरिन्छ । राजस्व असुलीको हिसावमा भन्सार कार्यालयहरुको महत्वपूर्ण भूमिका रहेको छ । देशको कूल राजस्वको ४३ प्रतिशत भन्सार कार्यालयहरुले नै कर उठाउूछन । त्यस्तै कूल कर राजस्वमा यी कार्यालयहरुको योगदान ५० प्रतिशत रहेको देखिन्छ । गत वर्षको लक्ष्य तथा प्रगतिलाइ हेर्ने हो भने करिब १ खर्व १८ अर्वको लक्ष्यमा ११३ प्रतिशत भन्दा बढिनै प्रगति हासिल गरेको भन्सार विभागको अभिलेख छ ।