कार्तिक २१, धनगढी
सार्वजनिक शिक्षालाई विश्वसनीय र गुणस्तरीय बनाउनका लागि स्थानीय निकायले लगानी र अनुगमन बढाउनुपर्नेमा जोड दिइएको छ । मंगलबारबाट धनगढीमा सुरु भएको पश्चिम क्षेत्रीय सार्वजनिक शिक्षा सम्मेलनमा शिक्षालाई स्थानीय निकायले निर्माण गर्ने योजनाको प्राथमिकतामा समेत राख्नुपर्नेमा जोड दिइएको हो ।
सम्मेलनमा बोल्दै धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वडले शिक्षा विकासको मेरुदण्ड भएकाले कैलालीका सबै स्थानीय निकायहरुले शिक्षालाई आफ्नो याजनाको प्राथमिकतामा राखेको बताए । देशमा रहेको नीजि र सार्वजनिक शिक्षा प्रणालीले विभेद श्रृजना गरेको छ, प्रमुख वडले सम्मेलनको उद्घाटन सत्रमा भन्नुभयो, यस्तो विभेदलाई हटाउनका लागि सार्वजनिक शिक्षालाई बलियो बनाउनु अत्यन्त जरुरी छ र यसका लागि हामीले काम सुरु गरिसकेका छौं ।
एक्सनएड नेपाल, फाया नेपाल र सम विकास केन्द्र नेपालले आयोजना गरेको सम्मेलनमा बोल्दै घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले नगर योजनामा शिक्षा विकासको लागि ३ करोड २२ लाख छुट्याएको जानकारी दिनुभयो । शिक्षालाई हामीले प्राथमिकतामा राखेर बजेटसमेत विनियोजन गरेका छौं भने, विद्यालयको अनुगमनलाईसमेत चुस्त बनाएका छौं । प्रमुख चौधरीले भन्नुभयो ।
कैलालीका जिल्ला शिक्षा अधिकारी गणेश बहादुर सिंहले सार्वजनिक शिक्षामा समस्या रहेको बताउँदै साझा प्रयासबाट यसलाई परिवर्तन गर्न सकिनेमा जोड दिनुभयो । एक्सनएड नेपालका पश्चिमान्चल श्रोत केन्द्र संयोजक सरोज पोख्रलेलले गरिब जनताका छोराछोरी पढ्ने सार्वजनिक विद्यालयको सुदृढिकरणका लागि राज्यले शिक्षाको गुणस्तर सुधारका लागि लगानी बढाउनुपर्ने बताउनुभयो ।
सम्मेलनमा सहभागी पश्चिम नेपालका दश जिल्लाका स्थानीय निकायका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको सहभागीता रहेको छ । बुधबारसम्म चल्ने सम्मेलनमा सार्वजनिक शिक्षा बलियो बनाउन स्थानीय निकाय, अभिभावक तथा सामाजिक संघसंस्थाहरुको भूमिकाको बारेमा छलफल चल्ने फाया नेपालका अध्यक्ष शेरबहादुर बस्नेतले जानकारी दिनुभयो ।