बाँकेमा भयावह दुर्घटना : सडकमा ज्यानमारा ‘मदिरा’

विनय दीक्षित
बढ्दो हतार, कार्यब्यस्ता, मानसिक दबाव, विचलन र सडक नियम जानकारी अभावमा मात्रै दुर्घटना हुने तथ्यलाई मदिराले पल्टाई दिएको छ । दुर्घटना भएर अस्पतालमा ९० प्रतिशत घटनामा मदिरा दोषी रहेको तथ्य चिकित्सकहरुले निकालेका छन् । बाँके जिल्लामा पछिल्लो एक वर्ष भित्र अस्पताल पुगेका अधिकाँश घटनामा मादक पदार्थ सेवन गरेको अनुमान थालेपछि नेपालगन्ज मेडिकल कलेजले मापसे घटनालाई गम्भीरका साथ लिँदै त्यसमा अध्ययन बढाएको
थियो ।

 
उपचारको क्रममा घाइते मध्ये ९० प्रतिशत चालक र घाइतेमा एल्कोहलको स्थिति पाइयो, नेपालगन्ज मेडिकल कलेजमा कार्यरत डा.सरोज खानले दैनिक नेपालगन्ज संग भने, यस बारे विद्यार्थीहरुको एउटा टोली फरक हिसाबले घाइतेहरु माथि अध्ययन गरेको छ । १० प्रतिशत मात्रै त्यस्ता घटनाहरु जसमा बाटोको नियम नजानेको, संयोगबस दुर्घटना भएको वा त्रुटिले घटना भएको पाइयो, डा.खानले भने, घाइतेको स्वास्थ्य जाँचमा एल्कोहल फेला पर्न थालेपछि यसको छुट्टै किसिमले विवरण राखिएको हो ।

 
वार्षिक विवरणका हिसाबले यो ९० प्रतिशत छ डा.खानले भने, तर कार्तिक ९ गते देखि २० गते सम्म आएको कुल घटना ५० मध्ये ७० प्रतिशत घाइतेमा मदिराको प्रभाव देखा परेको हो । चिन्तनीय विषय यही हो, उनले भने, मदिरा वा मादक पदार्थ सेवन गरेर ज्यान गुमाउने क्रम बाँकेमा धेरै रहेको छ ।

 
नेपालगन्ज मेडिकल कलेजको विवरण अनुसार चालु आर्थिक वर्षको साउन महिनामा ८५, भाद्रमा ६८ र असोजमा ९९ दुर्घटनाको अस्पतालमा रेकर्ड भएको हो । दुर्घटना भएपछि अधिकाँश घटनाहरु मेडिकल कलेजमानै आउने गरेको अस्पतालको भनाइ छ । हाइवेमा भएको दुर्घटनाका घाइतेलाई कोहलपुर मेडिकल कलेजमा लगिएपनि यस क्षेत्रका स्थानीय घटनाहरुमा मेडिकल कलेज प्राथमिकतामा पर्छ ।

 
मादक पदार्थ सेवन पछि हुने शारीरिक र मानसिक परिवर्तनले मानिस कुनैपनि आवेगमा आउन सक्ने र सो कारणबाट दुर्घटना हुन सक्ने सम्भाव उच्च हुन्छ, डा.खान भन्छन्, मदिराले मानसिक नियन्त्रणलाई खुकुलो बनाउने भएकोले सो समयमा गैरकानूनी काम हुन सक्ने सम्भावना बढि हुन्छ ।

 
शारीरिक र मानसिक नियन्त्रण नभएको ब्यक्तिले सवारी साधन चलाउँदा दुर्घटनाको क्रम बढेको विषयलाई प्रहरी र आम नागरिकले पनि गम्भिरताका साथ लिनु पर्ने चिकित्सकको सुझाव छ । ट्राफिक नियम पालन नगर्दा हुने दुर्घटना भन्दा मापसे कारक रहेको घटनादर उच्च रहेको नेपालगन्ज मेडिकल कलेजको अभिलेखले देखाएको छ । रातिको समयमा दुर्घटना भएर अस्पताल पुगेका घटनाहरु बारे सबै प्रकारको चिकित्सकीय जाँच गरिन्छ, एक चिकित्सकले भने, विरामीको पर्चा भित्रैपनि मादक पदार्थ सेवनको तथ्य हामीले उल्लेख गरेका हुन्छौं ।

 
अन्य अस्पतालमा उपचारमा सजिलोका लागि पनि त्यसो गर्नु पर्छ, चिकित्सकले भने, तर अधिकाँश स्थितिमा ती विषयहरु गोप्य राख्ने प्रयास गरिन्छ । चिकित्सकले बुझ्ने हिसाबले लिंक गरिएको विवरणलाई अन्य ब्यक्तिले बुझ्न सक्ने अवस्था हुँदैन । कतिपय महिला चालकले पनि मापसे गरेको पाइयो, चिकित्सक भन्छन्, बढ्दो मदिरा मोह सडकमा मृत्युलाई निम्त्याँउदै गरेको तस्वीर हामी हेरि बसेका छौं । अनियन्त्रित मदिरा सेवनले कतिपयको ज्यान लिएकोले यो चिन्ताको विषय बन्दै गएको चिकित्सकको भनाई छ ।

 

चार महिनामा ४० लाइसेन्समा प्वाल

मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको अभियोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले ४० जनाको सवारी चालक अनुमति पत्रमा प्वाल परेको छ । तुलनात्मक रुपमा यो निकै धेरै तथ्याँक हो । साउन महिना देखि कार्तिक २० गते सम्म चेकजाँचका क्रममा मापसे गरेको पाइएकाहरुको लाइसेन्समा प्वाल पारेर एक हजार जरिवाना गरिएको हो ।

 
प्वाल पर्ने सिलसिला ५ वटा पूरा भएमा ६ महिनाका लागि लाइसेन्स नै रद्द गर्ने ब्यवस्था छ, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी थम्मन डाँगीले भने, ट्राफिक प्रहरी कार्यालयले चेकजाँचमा आवश्यक कारवाही गर्दै आएको छ ।

 
साँझको समयमा चेकजाँच गर्दा मादक पदार्थ सेवन गर्नेहरु बढि फेला पर्छन्, डाँगीले भने, अन्य समय भन्दा साँझको समयमा नै दुर्घटनाहरु बढि हुने गरेकोले मदिरा वा मादक पदार्थको प्रभावलाई नकार्न सकिँदैन ।

 

दुर्घटनाको कारणहरु अन्यपनि छन्, डाँगी भन्छन्, फोर लेन सडक, सडकको बनोट, प्रयोगकर्ताको सचेतना स्तर, चालकको असावधानी, ओभर स्पीड पनि दुर्घटनाका कारणहरु नै हुन् । यद्यपि मादक पदार्थ सेवनबाट हुने घटनाहरुको तथ्याँक धेरैछ, उनले भने, मदिराकै कारण सवारी साधनहरुको नियन्त्रण गुम्ने गरेको उदाहरणहरु पनि छन् ।
चार महिना भित्र गरिएको कारवाहीलाई तुलनात्मक बार्षिक विवरणको हिसाबले हेर्न सकिन्छ, डाँगीले भने, मापसेको स्थिति उच्च नै छ ।

साढे ३७ हजार कारवाही
सडकमा ट्राफिक नियम उल्घंनको घटनामा बाँके ट्राफिक प्रहरीले तीन वर्षमा झण्डै साढे ३७ हजार चालकलाई कारवाहीको दायरामा ल्याएको छ । बाँकेमा पछिल्लो तीन वर्ष भित्र भएको चेकजाँचमा ३७ हजार ५ सय ६३ जना सवारी चालकलाई कारवाही भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको अभिलेख छ । बाँकेमा तीन वर्षमा एक सय ५५ वटा दुर्घटनामा ७८ जनाको ज्यान गएको छ ।

 
सडकमा हुने असावधानी र अज्ञानताका कारण हुने दुर्घटनादे कतिपयको सपना र योजनालाई धरासायी बनाउँदै आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको अभिलेख अनुसार तीन वर्षमा २१८ जना घाइते भएका हुन् । तीन वर्ष सवारी साधन र चालकलाई गरिएको कारवाहीबाट १ करोड २९ लाख २६ हजार ५ सय ५० रुपैया जरिवाना असूल गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी थम्मन डाँगीले बताए ।
सवारी साधन संचालनमा बढ्दो असावधानीले दुर्घटना निम्त्याउने गरेको प्रहरी ठम्याई छ । चेकजाँचमा जोड दिएपछि केहि निरुत्साहित हुन्छ, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख होम बहादुर थापाले भने, तर त्यो भन्दा गम्भिर विषय त आफै सचेत हुनु पर्ने हो । मदिरा खाएर सवारी चलाउँदा दुर्घटना हुन सक्ने भन्ने कुरालाई अज्ञानता भन्न मिल्दैन, उनले भने, यो अटेरी र लापरवाही हो ।

 

ट्राफिक प्रहरी भनेको सडक अनुशासन र कानूनी ब्यवस्थालाई कार्यान्वयन गनेए पक्ष हो, तर त्यसको एउटा सिमा रेखा हुन्छ, ट्राफिक प्रमुख थापाले भने, सबै कुरो प्रहरीकै भरमा हुन थाल्यो भनेपनि नियन्त्रण धेरै गार्हो हुन्छ ।

८० प्रतिशत दुर्घटनामा ‘मानवीय कारण’

जिल्ला ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक होम बहादुर थापाले दुर्घटना ८० प्रतिशत मानवीय कारणबाट हुने गरेको बताएका छन् । सवारी साधन, सडक, प्राविधकरण बाहेक ८० प्रतिशत दुर्घटनामा मानवीय कारण देखा परेको छ, दैनिक नेपालगन्ज संग कुरा गर्दै प्रमुख थापाले भने, मेसिनलाई सुधार गर्न सजिलो छ तर मानिसलाई सुधार गर्न निकै कठिन ।

 

कुनै काम र हतार नभएपनि आवश्यकता भन्दा बढि स्पीड गाडी कुदाउनेको संख्या धेरै छ, प्रमुख थापाले भने, मानिस अलिकति सावधान हुने हो भने दुर्घटना त्यसै न्युन हुन्छ । मानवीय असावधानी नै दुर्घटनाको जरो हो, उनले भने, मानिसको बानी ब्यवहारमा सुधार हुने वित्तिकै क्षतिको विवरण घटि हाल्छ । कम गतिमा चलाउँदा दुर्घटना नहुने भन्नेपनि होइन, तर क्षति जुन अनुपानमा हुनु पर्ने हो त्यसभन्दा निकै कम हुन्छ । प्रहरीले नियमानुसार कारवाही गरिरहेकै हो, प्रमुख थापाले भने, तर चेकजाँच भएकै कारण मदिरा खानु हुँदैन वा चेक नभएपछि खानु पर्छ भन्ने मानसिकताले चौतर्फी गार्हो गरेको छ ।

 
सवारी चलाउनु अघि आफ्नो जिम्मेवारी, घरपरिवार र दायित्व बोध गरेर चलाउने हो भनेपनि दुर्घटना हुँदैन, प्रमुख थापा भन्छन्, प्रहरी भन्दा ब्यक्तिको आफ्नै जिम्मेवारीमा दुर्घटना न्युन हुन सक्छ ।
यातायातको सबै नियम पालन गर्ने वित्तिकै जोखिम स्तर घट्ने गरेको छ । चेकजाँच र कारवाहीबाट समाधानको आस गर्न सकिन्न, यो विषय सुधारमा हरेक नागरिकको उत्तिकै भूमिका छ ।

अब मोबाइलबाटै महिला स्वास्थ्यको निगरानी

बाँके सुत्केरी र गर्भवती मृत्यु दरमा उच्च रहेको बताउँदै सुधारका लागि अब प्रविधीको प्रयोगलाई प्राथमिकतामा सारिएको छ । गर्भवती महिलाको स्वास्थ्य जाँच, निगरानी र हेरचाहका लागि यसअघि स्वास्थ्यचौकीले महिला स्वास्थ्य स्वयंसेविकाको सहारा लिँदै आएपनि अब त्यसमा प्रविधिको प्रयोगलाई प्राथमिकताको रुपमा अघि सार्ने तयारी भएको हो ।
मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि मोबाइल सेवा कार्यक्रमको लागि आयोजित गोष्ठीमा बाँकेमा मातृ मृत्युदर उच्च रहेको देखाइएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय बाँके र मेडिक मोबाइल नामको गैरसरकारी संस्थाले आयोजना गरेको गोष्ठीमा बाँकेमा सुत्केरी र गर्भवतीको अवस्थामा सुधार गर्न मोबाइल प्रयोग विधिलाई प्राथमिकतामा राखिएको छ ।

 

स्वास्थ्य चौकी र अस्पतालमा कम्प्युटर प्रणाली मार्फत गर्भवतीको मोबाइल नं.लाई लिंक गरेर गर्भवतीले जाँच गर्नु पर्ने समय, सुत्केरीको मिति, खोप लगाए नलगाएको तथा सुत्केरीलाई प्रवाह हुनु पर्ने सेवा लगायत विषयमा निगरानी राख्ने विधि अघि बढेको हो ।

 
गर्भवतीको स्वास्थ्य जाँच देखि सुत्केरी हुँदा सम्म विभिन्न मानवीय ब्यवहारिक लापरवाहीले समस्या उत्पन्न हुने गरेको स्वास्थ्यकर्मीको भनाई छ । स्वास्थ्य संस्थामा पुगेको २ घण्टापछि मात्र गर्भवतीले सेवा पाउने गरेको तथ्याँक सार्वजनिक गर्दैै सो विषयमा भएको लापरवाही बारे निगरानी बढाउने तयारी अघि सरेको हो ।

 
त्यस बाहेक एम्बुलेन्स ब्यवस्थापन, बाटो असुविधा, लगायत विभिन्न कारणहरु मातृ मृत्युदरको कारक रहेको स्वास्थ्य अधिकृत सरिता चन्दले जानकारी दिइन । प्रारम्भमा बाँकेका १५ वटा स्वास्थ्य संस्थाहरु मेडिक प्रविधि लागु गर्न लागिएको बताइएको छ ।

 

 

उच्च सुधारको अपेक्ष गरिएको बाँकेमा ५३ प्रतिशत महिला स्वास्थ्य संस्था बाहिरै सुत्केरी हुने गरेको तथ्य सार्वजनिक गरिएको छ । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख खिम बहादुर खड्का, बाँकेका सबै गाउँपालिका र नगरपालिका प्रमुख, स्वास्थ्य संस्थाका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया