सिराज खान/नेपालगन्ज
पश्चिम नेपालकै आर्थिक केन्द्र बन्दै गएको नेपालगन्जमा पछिल्लो समयमा आएर स्तरीय तारे होटल, ब्यापारिक मार्ट, बिजनेश कम्पलेक्स र ठुला ठुला उद्योगहरुमा लगानी बढ्दै गएको छ । सोही क्रममा पश्चिम नेपालमै पहिलो पटक यहाँ २५ करोड बढीको लगानीमा अत्याधुनिक बिजनेश कम्पलेक्सको निर्माण कार्य तिव्र गतिमा भैरहेको छ । पाँच तलामा ५० कोठा रहेको विजनेश कम्पलेक्स नेपालगन्जकै अत्याधुनिक सेवासुविधा सहितको हुनेछ ।
स्थानीय सुर्खेतरोडमा निर्माण भैरहेको सो ब्यापारिक कम्पलेक्स प्रदेश नम्बर ५, ६ र ७ मै सबैभन्दा ठुलो र आधुनिक कम्पलेक्स भएको सो कम्पलेक्सको निर्माण गराइरहेको वेस्टर्न बिजनेश ग्रुपले जनाएको छ । ‘यो पश्चिम नेपालकै सबैभन्दा अत्याधुनिक ब्यापारिक केन्द्र हुँदैछ,’ वेस्टर्न बिजनेश ग्रुपका अध्यक्ष सन्जय थापाले दैनिक नेपालगन्ज सँग भने । उनका अनुसार, ५० जना स्थानीय ब्यवसायीहरुको लगानीमा संचालनमा रहेको वेस्टर्न बिजनेश ग्रुपले विजनेश कम्पलेक्समा २५ करोड लगानी गरेका छन् । अध्यक्ष थापाले भने, ‘संघीय संरचना नेपालगन्ज नै प्रदेश नम्बर ५, ६ र ७ को मुख्य ब्यापारिक केन्द्र रहने भएकोले समयको माग र आवश्यकतालाई ध्यानमा राखेर यति ठुलो लगानी गरिएको
हो ।’
बिजनेश कम्पलेक्समा पहिलो तलामा ब्राण्डेड सामानका शो रुमहरु रहने, दोस्रो तलामा कर्पोरेट अफिसहरु रहने, तेस्रो तलामा रेष्टुरेण्ट, कफी हाउस र चौथो तलामा किड्स जोन र हेल्थ क्लब तथा पाँचौ तलामा आधुनिक र ठुलो बैंक्वेट हल रहने अध्यक्ष थापाले बताए । कम्पलेक्स निर्माणको ७० प्रतिशत काम पुरा भैसकेको जनाउँदै बाँकी ३० प्रतिशत कामलाई ६ महिनाभित्र सम्पन्न गरेर संचालनमा ल्याइने योजनाका साथ काम भैरहेका बताए ।
फिनिशिंगको कार्य शुरु गरिएको जनाउँदै अध्यक्ष थापाले एकै ठाउँमा सबै सामान खरिद गर्ने उपभोक्ताको मागलाई ध्यानमा राखेर उक्त कम्पलेक्सको निर्माण भैरहेको जानकारी दिए । उद्योग, ब्यबसायमा लगानी गरेर बाँकेको आर्थिक विकासलाई टेवा पुर्याउनका लागि ५० जना स्थानीय ब्यबसायी र उद्योगपतिहरु संगठित भएर वेस्टर्न बिजनेश ग्रुपको स्थापना गरिएको जनाइएको छ । सो ग्रुपले रियल स्टेटदेखि बिभिन्न अन्य ब्यबसायमा लगानी गर्दै आएको छ ।
यसअघि नेपालगन्जमा १० करोडको लागतमा स्थानीय धम्बोझी चोकमा ५ तले राही मार्ट संचालनमा ल्याइएको थियो । सो मार्टप्रति बढ्दै गएको उपभोक्ताको आकर्षणका कारण नगरमा अन्य ब्यबसायीले पनि मार्ट निर्माणको तयारी गरिरहेका
छन् । नेपालगन्ज उद्योग बाणिज्य संघले पछिल्लो समयमा आएर नेपालगन्जमा तारे होटल, ब्यापारिक मार्ट, बिजनेश कम्पलेक्स र ठुला ठुला उद्योगहरुमा लगानी बढ्दै गएकोले यसले यो नगरलाई आर्थिक राजधानी बनाउन सहयोग पुग्ने जनाएको छ ।
संघका अध्यक्ष नन्दलाल बैश्यले नेपालगन्जमा लगानीकर्ताहरु आकर्षित हुनु यो शहरको आर्थिक विकास र भविष्यका लागि निकै फलदायी हुने बताए । उनले कोहलपुरको औद्योगिक क्षेत्र र गनापुर क्षेत्रमा औद्योगिक करिडोरको स्थापना पछि बाँके जिल्ला पश्चिम नेपालकै ठुलो आर्थिक हब बन्ने निश्चित भएको बताए । नेपालगन्जमा निर्माण भैरहेका ठुला ठुला ब्यापारिक मार्ट र बिजनेश कम्पलेक्सले खरिदारीका लागि सीमापारी जाने उपभोक्तालाई पनि रोक्ने अध्यक्ष बैश्य बताए ।