तस्करीका लागि क्यामेरा बिगारेको आशंका

नेपालगन्ज भन्सार कार्यालय बाट चुस्त सेवा प्रवाह र पारदर्शिता हुने उद्देश्यले दुई वर्ष अघि जडान भएको सिसिटिभी क्यामरा पछिल्लो तीन महिना देखि बिग्रिएको खुलेको छ । दुई वर्ष अघि भन्सार विभागले जडानका लागि ब्यवस्था गरेको क्यामरा चेकजाँच हुनु पर्ने स्थानमा बिग्रिएको पाइएको हो । भन्सार अघि खासगरि कर्मचारीले चेकजाँच गर्ने स्थानमा क्यामरा बिग्रिएको छ ।

 

 
‘करोड बढि राजश्व दिनहुँ संकलन गर्ने स्थानमा क्यामरा बिग्रिएको तीन महिना सम्म मर्मत वा परिवर्तन किन हुन
सकेन ?’, भन्ने दैनिक नेपालगन्जको प्रश्नमा नेपालगन्ज भन्सार प्रमुख जनार्दन आचार्यले भने, ‘यो भन्सारको विषय बढि भयो म केहि बोल्न चाहन्न । ‘भोली भेटेरै कुरा गर्नुस्’, आक्रोशित मुद्रामा प्रमुख अचार्यले भने, ‘कसरी बिग्रियो मलाई जानकारी छैन ।’ उनले छिट्टै अर्को क्यामरा परिवर्तन गर्ने तयारी रहेको बताए । पुरानो भन्सार अघि चेकजाँच हुने अर्थात भन्सार कर्मचारी खट्ने स्थानकै क्यामरा बिग्रिएको पाइएको हो ।

 

 
३० लाख रुपैया“ बराबरको खराद मेसिन बरामद भएपछि उत्पन्न भएको समस्या समाधानका लागि फुटेजको खोजी भएपछि क्यामरा खराब रहेको तथ्य बाहिर आएको हो । भन्सार क्यामरा आफै बिग्रियो र त्यसमा गरिएको हो भन्ने विषयमा अझै प्रष्ट नरहेको श्रोतको दावी छ । सिमा प्रवेश पछि पुरानो भन्सार सम्मको काम निगरानी गर्न वा जाँच गर्न आवश्यक परेको महत्वपूर्ण मानिएको सिसिटिभी क्यामरा बिग्रएको फेला परेपछि जाँच समितिले के गर्ने भन्ने अन्योलता बढेको बताइएको छ । त्रुटि भएकै स्थानको फुटेज नरहेको खुलेको हो ।

 

 

६ स्थानको विवरण रेकर्ड गर्नका लागि जडान भएको क्यामरा दुई मुख्य स्थानमा खराब भएको पाइएको हो । भन्सार कर्मचारीकै गठित समितिले वास्तविकता पत्ता लगाएर सात दिन भित्र तथ्यहरु सार्वजनिक गर्ने भनिएको छ । यद्यपि भन्सारले कार्यालय सहयोगी बाहेक कसैलाई कारवाही अघि नबढाएको हो ।

 

झण्डै दुई करोडको खुद्रा तस्करी
नेपालगन्ज भन्सार भएर भित्रिएको र कर नतिरेका कारण प्रहरीले बरामद गरेको खुद्रा तस्करीकै अनुपात झण्डै दुई करोड रहेको पाइएको छ । भारतीय क्षेत्रबाट उपभोग्य, कपडाजन्य वा सामान्य कास्मेटिक सामाग्रीहरु बरामद गरेर प्रहरीले राजश्व कार्यालयमा बुझाउँदै आएको विवरण दुई वर्षमा एक करोड ९५ लाख २८ हजार ४३ रुपैया पुगेको छ ।

 
भन्सारमा भइरहेको आर्थिक चलखेल बारे विभिन्न तथ्यहरु बाहिर आइरहँदा प्रहरीले उपलब्ध गराएको तथ्याँकले अझ सेटिंगको प्रक्रियालाई प्रष्ट पारेको छ । ‘साइकल रिक्सा, टांगा, ईरिक्सा मोटरसाइकल लगायतबाट बरामद भएको सामाग्रीको मुल्य हो’, जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा इन्चार्ज प्रहरी निरीक्षक विर बहादुर थापाले भने, ‘सवारी साधन चेकजाँचका क्रममा कर नतिरेको पाइएपछि कारवाहीका लागि बरामद गरिएको हो ।’

 

 
‘कतिपय अवस्थामा तस्करहरु सामाग्री छाडेर भाग्ने गरेको पाइयो’, थापाले भने, ‘भन्सार चुहावटको स्थित बरामदी विवरणबाट बुझ्न सकिन्छ ।’ नेपालगन्ज भन्सारबाट शनिवार राति फुत्किएको ट्रक कसको संलग्नतामा भित्रिएको हो भन्ने विषयमा भन्सार कर्मचारी सुभाष प्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानविन समितिले अनुसन्धान थालेको छ ।

 

 
नेपालगन्जमा कुनै सामाग्री वैधानिक ढंगबाट ल्याउनका लागि ७ किसिमको चेकजाँचबाट निस्कन पर्छ । भन्सार कार्यालयका अनुसार, ट्रकमा आएको सामाग्री बाहेक सबै सामाग्री जमुनाहा, पुरानो भन्सार, चौलिक्का चोक, जयसपुरमा ७ किसिमका फरक फरक अधिकारीहरु चेकजाँच गर्छन् ।

 

 
नेपाल प्रहरी, सशस्त्र प्रहरी, राजश्व गस्ती, भन्सार कर्मचारी, राष्ट्रिय अनुसन्धान लगायतले राजश्व छलि बारे निगरानी राख्ने गरेको बताइएको छ । ‘ट्रक भित्रिएको समय ६ बजे देखि ७ बजेको बिचमा हो’, दैनिक नेपालगन्ज संग भन्सार प्रमुख जनार्दन आचार्यले भने, ‘त्यो समयमा भन्सारका कर्मचारी कार्यालय सहयोगी मंगल शाही ड्युटीमा थिए ।’

 

 
तस्करीमा शाहीको संलग्नतालाई आशंका मान्दै भन्सारले आइतबार जाँच प्रक्रिया अघि बढाउँदै शाहीलाई जिम्मेवारी विहीन गरेको छ । सामान्य लेखपढ पनि नजानेका शाहीलाई करोड बढि कारोबार हुने नाकामा चेकजाँचका लागि तैनाथ गरिएको थियो ।

 

प्रतिक्रिया

प्रतिक्रिया