नेपालगन्ज भन्सार : दुई बर्षमा बिना भन्सारका ७ ट्रक

विनय दीक्षित

भन्सार कार्यालय नेपालगन्जको मिलोमतोमा राजश्व छलीगरि भित्रिएको ३० लाख रुपैया बराबरको मेसिन र सामाग्री प्रहरी बरामद गरेपछि भन्सार कर्मचारीको विश्वनीयता माथि चौतर्फी रुपमा प्रश्न खडा भएको छ ।
३० लाख पर्ने खराद मेसिन सहित शनिवार राती बरामद भएको ट्रक पहिलो घटना होइन । पछिल्लो दुई वर्ष भित्र लाखौंको सामाग्री सहित सातवटा मालबाहक ट्रक प्रहरी नियन्त्रणमा परेको छ । नेपालगन्ज भन्सार कार्यालयबाट सामान्य तस्करी मात्रै हुन्छ भन्ने अनुमानका बिच कर्मचारी मिलोमतोमा ट्रकबाटै तस्करी हुने गरेको बाहिर आएको छ ।
देश हितका लागि संकलन हुने कर(राजश्व) नै गुम्ने हिसाबले कर्मचारीको गतिविधि विरुद्ध प्रहरीले कारवाही अघि सारेपछि भन्सार कार्यालयकै मिलोमतोमा सामाग्री भित्रिएको सन्दर्भलाई जिल्ला प्रहरी कार्यालय बाँकेको अभिलेखले थप प्रष्ट पारेको छ । युपी ३६ टी ७३०७ नं.को भारतीय ट्रकमा भन्सार छली गरि पैठारी गरिरहेको सूचनाको आधारमा प्रहरीले नेपालन्जबाट ट्रक नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय कोहलपुरमा बुझाएको छ । भारतको कानपुरबाट नेपालगन्ज १३ बस्ने पप्पु शाहका लागि भन्सार एजेन्ट जगदीश प्रसाद बनियाले कर्मचारीको मिलोमतोमा २० लाख रुपैया पर्ने मेसिन र १० लाख रुपैया“ पर्ने ट्रक भित्र्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

 
दुर्गेश्वरी ईलेक्ट्रीकल्स नेपालगन्जको नाममा आएको उक्त मेसिन एक मोटर पार्टस बिक्रेताको भएको प्रहरी श्रोतको दावी
छ । ‘यद्यपि पार्टस् बिक्रेता बारे अझै अनुसन्धान जारी रहेकोले खुलाउन मिल्दैन’, प्रहरीले भन्यो, ‘तस्करीमा ठूलो ब्यवसायीहरुको गिरोह सक्रियताको आधारमा अनुसन्धान अघि बढेको छ ।’ सिमानाबाट चौलिक्का चोक सम्म पुग्दा ८ प्रकारको चेकजाँचलाई उम्किँदै ट्रक नै ब्यवसायीको गोदाममा पुग्छ । भन्सार कर्मचारीको आपसी मिलोमतोमा भन्सार कार्यालय अगाडीबाट निकासी भएको ट्रक प्रहरी नियन्त्रणमा पुग्यो ।

 

 

 

२०७२ चैत्र २४ गते नेपालगन्ज १५ बाट ना.४ ख.६२१५ र ना.३ ख.८२४३ नं.को दुई वटा ट्रकबाट नेपालगन्ज भित्रिएको ३४ हजार २०० केजी दाल बरामद भयो । भन्सार छली गरि पैठारी भएको दोस्रो घटनामा, २०७३ कार्तिक १० गते नेपालगन्ज १३ बाट युपी ७६ के ११५० नं.को ट्रकलाई बाँके प्रहरीले ४१ हजार ५३५ केजी आलु सहित बरामद गर्यो । २०७३ माघ ४ गते नेपालगन्ज २१ बाट युपी २२ सी ९८०४ नं.को ट्रक जयसपुर प्रहरी चौकी नजिक पल्टिंदा चेकजाँचका क्रममा तस्करी भइरहेको तथ्य खुल्यो । ‘कनिका बोकेको ट्रक दावी गरिएको विषयमा चेकजाँच अघि बढाउँदा चामल बोकेको ठहर्यो’, दैनिक नेपालगन्ज संग कुरा गर्दै बाँकेका प्रहरी प्रवक्ता डीएसपी सुधीर शाहीले भने, ‘३९० बोरी चामल र ३८० बोरी कनिका बरामद भएको थियो ।’
बरामद भएको चामल र कनिकाको हरेक बोरी ३० केजीको दरले भएको प्रहरी अभिलेखले देखाएको छ । भन्सारबाट पैठारी भएको ट्रक दुर्भाग्यले पल्टिएपछि भन्सार राजश्व नतिरेको तथ्य बाहिर आएको थियो । २०७३ चैत्र २७ गते यु.पी.४० टी.४९२ नं.को ट्रक नेपालगन्ज १६ मा चेकजाँच गर्दा १ हजार ५ सय २७ केजी माछा सहित बरामद गरियो । नेपालगन्ज भन्सारबाट पैठारी भइ आएको ट्रक राजश्व नतिरेको पुष्टि भयो ।
२०७३ चैत्र २२ गते चेकजाँचकै क्रममा ६९ वटा गोरु सहित दुई वटा ट्रक नियन्त्रणमा लिएको प्रहरी अभिलेख छ । सर्लाही तर्फ जाँदै गरेको ट्रक गनापुरमा चेकजाँचका क्रममा भन्सार नगरेको पुष्टि भएको थियो । बरामद भएको ट्रक आवश्यक कानूनी कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको थियो । ‘प्रहरीले भन्सार तस्करीबाट आएको सामाग्री बरामद गर्न थालेपछि भन्सार कर्मचारी र प्रहरी विच आन्तरिक विवाद बढेको थियो’, प्रहरी श्रोतले भन्यो, ‘भन्सारले सामाग्री नै बुझ्न मान्दैन्थ्यो ।’
‘बरामद भएको एउटा ट्रक बुझाउन लग्दा किन बरामद गरेको भन्ने उल्टै प्रश्न आएको थियो’, तत्कालिन घटना अनुसन्धानमा खटिएको एक प्रहरी अधिकृतले भने, ‘त्यसपछि राजश्व अनुसन्धानमा सामाग्री बुझाउने सिलसिलाको सुुरुवात भयो ।’ अहिले पनि प्रहरीले बरामद गरेको ३० लाख बराबरको सामाग्री र ट्रक राजश्व अनुसन्धान कार्यालयमा बुझाएको जनाएको छ । ‘राजश्व छलि हेर्ने ट्रक बरामद गर्ने काम हाम्रो होइन’, डीएसपी शाहीले भने, ‘यद्यपि शान्ति सुरक्षाको हिसाबले चेकजाँच गर्ने क्रममा ती सामाग्रीहरु बरामद भएका हुन् ।’
चेकजाँच हुन नसकेका कति ट्रक र सामाग्री भित्रियो ? भन्ने विषयमा अनुमान गर्न यी प्रतिनिधीमूलक घटनाले सजिलो पारेको छ । नेपालगन्ज भन्सार कार्यालय अगाडी सामान्य चेकजाँचमा केहि रकम असूल गर्दै आएका भन्सार कर्मचारी ट्रकबाटै तस्करी थालेको पाइएको हो ।
संघीय प्रहरी इकाइ नेपालगन्जका प्रमुख महेश विक्रम शाहले बरामद ट्रक माथि राजश्व अनुसन्धानले कारवाही अघि बढाएको बताए । ‘सबै प्रकारको अनुसन्धान पूरा भएपछि कारवाही अघि बढेको छ’, उनले भने ।

प्रतिक्रिया

प्रतिक्रिया