नेपालगन्ज / भन्सार कार्यालय नेपालगन्जको मिलोमतोमा राजश्व छलीगरि भित्रिएको ३० लाख रुपैया बराबरको मेसिन र सामाग्री प्रहरीले बरामद गरि कारवाही अघि बढाएको छ ।
नेपालगन्ज भन्सार नाका भएर भित्रिएको ट्रकमा लोड रहेको मिशिनरीलाई कर्मचारीले चेकजाँच र जाँच पास विनानै नेपालगन्ज भित्र्याएपछि संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जले बरामद गरी कारवाही अघि बढाएको हो ।
प्रारम्भिक रुपमा ७० लाख रुपैयाको दावी गरिएको सामाग्री विशेषज्ञको जाँच पछि ३० लाख रुपैयाको रहेको खुलाइएको छ । शनिवार राति संघीय प्रहरी ईकाइ कार्यालय नेपालगन्जबाट खटिएको बिशेस टोलीले भन्सार छली गरि नेपालगन्ज भित्रिँदै गरेको सामाग्री मेसिनरी र त्यसको सामाग्री सहित दुई जना ब्यक्तिलाई समेत नियन्त्रणमा लिएको हो ।
युपी ३६ टी ७३०७ नं.को भारतीय ट्रकमा भन्सार छली गरि पैठारी गरिरहेको सूचनाको आधारमा कारवाही गर्दा राजश्व ठगी गरि करिब ३० लाख रुपैयाँ पर्ने मेसिन र त्यसमा प्रयोग हुने सामाग्री तस्करी भइरहेको अवस्थामै बरामद भएको हो संघिय प्रहरी ईकाई कार्यालय नेपालगन्जका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक महेशबिक्रम शाह, यसमा संलग्न ब्यवसायी बारे थप अनुसन्धान अघि बढेको उनले जानकारी दिए ।
भन्सारमा रहेका कर्मचारीले चेकजाँचपछि ट्रक जान दिनुस् भनेपछि छाडिएको हो, प्रहरी श्रोतले भन्यो, कर्मचारी संग पूर्व मिलोमतो र योजना रहेको प्रारम्भिक अनुसन्धानबाट तथ्य बाहिर आएको छ ।
कानपुरबाट नेपालगन्ज १३ बस्ने पप्पु शाहका लागि जगदिस प्रसाद बनियाले मिलोमतो गरि खराद मेसिन र त्यसको पार्टस भित्र्याएको प्रहरी श्रोतले दावी गरेको छ । दुर्गेश्वरी ईलेक्ट्रीकल्स नेपालगन्जको नाममा भारतीय एउटा बिल फेला परेको हो, प्रहरीले भन्यो, त्यसै आधारमा तस्करीमा संलग्न ब्यवसायीको थप विवरण बारे अनुसन्धान अघि बढाइएको
छ ।
प्रहरीले महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज नजिकबाट ट्रक नियन्त्रणमा लिएको थियो । प्रहरीले ट्रक सहित ट्रक चालक भारत उन्नाउ ग्राम मोहीभान थाना बस्ने बिरेन्द्र कुमार पाल र सहचालक नरेन्द्र सिंहलाई पनि पक्राउ गरेको छ ।
नेपालगन्ज भन्सार कार्यालयमा राजश्व नतिरी कर्मचारीको मिलोमतोमा भित्रिएको सामाग्री बारे थप अनुसन्धान अझै जारी रहेको प्रहरीले जनाएको छ । भन्सार कर्मचारीबाट चुक भएपनि मिलोमतो नभएको दावी गर्दै नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले घटना बारे जाँच गर्न तीन सदस्यीय समिति गठन गरिएको बताए । पश्चिम नेपालको मुख्य नाकाको रुपमा रहेको नेपालगन्ज भन्सारबाट पछिल्लो समयमा ठूलो परिमाणको राजश्व छलीका घटना बाहिर आउन थालेका छन् ।
भन्सार कार्यालय भएर अघि बढेको ट्रक विना भन्सार फेला परेपछि भन्सार माथि मिलोमतोको आरोप लागेको हो । मिलोमतोको खण्डन गर्दै प्रमुख आचार्यले भने यो जाँचको विषय छ, । ७ दिन भित्र प्रतिवेदन आएपछि थप तथ्य बारे खुलेर भन्न सकिन्छ, उनले भने, त्यसै मिलोमतोको विषयमा भन्न सकिँदैन ।
मिलोमतो गर्ने कर्मचारी नै जाँच समितिमा
आफै बोक्सी आफै धामी भनेझैं, नेपालगन्ज भन्सार कार्यालयबाट अवैध ढंगले पास भएको ट्रक र सामाग्री बारे जाँच गर्न भन्सार कर्मचारीकै एउटा समिति गठन भएको छ । भन्सारले आफ्नै कर्मचारी सुभाष प्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरि भित्रिएको ३० लाख सामाग्री सहितको ट्रक बारे सत्यतथ्य पत्ता लगाउने जनाएको छ । समितिको सदस्यमा तथ्याँक अधिकृत अनिल प्रसाद साउद, नासु कमल सिंह खड्का रहेको बताइएको छ ।
नेपालगन्ज भन्सार भएर भारतीय सामाग्री पैठारी हुने गरेको छ । दिनहुँ करिब एक करोड रुपैया राजश्व संकलन हुने नाकामा पछिल्लो समय कर्मचारीको मिलोमतोमा अवैध ढंगबाट सामाग्री भित्रिने गरेको पाइएको छ ।
नेपालगन्जमा कुनै सामाग्री वैधानिक ढंगबाट ल्याउनका लागि ७ किसिमको चेकजाँचबाट निस्कन पर्छ । भन्सार कार्यालयका अनुसार, ट्रकमा आएको सामाग्री बाहेक सबै सामाग्री जमुनाहा, पुरानो भन्सार, चौलिक्का चोक, जयसपुरमा ७ किसिमका फरक फरक अधिकारीहरु चेकजाँच गर्छन् ।
ट्रक कन्टेनरमा आउने र जाने सामाग्रीलाई मात्र भन्सार कर्मचारीले चेकजाँच गर्छन् । भन्सार प्रमुख जनार्दन आचार्यले भने, ट्रकको विषयमा लापरवाही भएको हो, यद्यपि मिलोमतोलाई म स्वीकार्दैन । मिलोमतो हो वा होइन भन्ने विषयमा जाँच समिति गठन भएको छ, उनले भने, रिपोर्ट आएपछि त्यस विषयमा गर्नु पर्ने कारवाही गर्छु ।
भन्सार ऐन अनुसार आफुले पैठारी गर्ने सम्पत्ती सामानको घोषणा स्वयं ब्यवसायीले गर्नु पर्छ । भन्सार राजश्व बुझाउन लागेको बेलामा सामाग्रीलाई कर्मचारीले चेकजाँच गरेर मालवस्तु र सो को परिमाण यकिन गर्छन । आशंका लागेको अवस्थामा चेकजाँच र कारवाहीको जिम्मेवारी पनि भन्सार कर्मचारीकै रहेको बताइएको छ ।
यो पनि पढ्नुहोस्