विनय दीक्षित/नेपालगन्ज
नेपालगन्ज भन्सार कार्यालयको आपसी मिलोमतोमा झण्डै ७० लाख रुपैया मुल्य पर्ने मेसिन र त्यसका पार्टस भित्रिंदै गर्दा प्रहरीले बरामद गरेको छ ।
शनिवार राति करिब ११ः३० बजेको समयमा संघीय प्रहरी ईकाइ कार्यालय नेपालगन्जले भन्सार छली गरि मिलोमतोमा भित्रिँदै गरेको सामाग्री बारे गोप्य सूचनाको आधारमा कारवाही गरी मेसिन बरामद गरेको हो ।
‘युपी ३६ टी ७३०७ नं.को भारतीय ट्रकमा भित्रिँदै गरेको सामाग्री बारे भन्सारी छली गरि पैठारी गरिरहेको सूचनाको आधारमा कारवाही गर्दा विना भन्सार करिब ७० लाख रुपैया पर्ने मेसिन र त्यसमा प्रयोग हुने सामाग्री बरामद भएको हो’, प्रहरी श्रोतले भन्यो, ‘भन्सार नगरेको र रातिको समयमा मेसिन निकासी गर्ने सूचना प्राप्त भएको थियो ।’
मेसिन कसको र कति रकम बराबरको भन्ने विषयमा अझै अनुसन्धान भइरहेको संघीय प्रहरी ईकाइ कार्यालय नेपालगन्जका प्रहरी प्रमुख एसएसपी महेशविक्रम शाहले जानकारी दिए । उनले भने, भन्सार नगरेको पाइएकोले नियन्त्रणमा लिइएको हो ।’
भन्सारबाट नेपालगन्ज तर्फ आउँदै गर्दा महेन्द्र बहुमुखी क्याम्पस नजिक ट्रकमा रहेको मेसिन बरामद भएको एसएसपी शाहले जानकारी दिए । के कामका लागि मेसिन आएको भन्ने जानकारी अझै प्राप्त हुन सकेको छैन’, दैनिक नेपालगन्ज संग एसएसपी शाहले भने,‘ठूलो रकम पर्ने मेसिन कसरी विना भन्सार आयो भन्नेनै चिन्ताको विषय हो ।’
नेपालगन्ज भन्सार कार्यालयबाट सामाग्री भित्र्याउन अचेल अनलाइन कर तिर्ने ब्यवस्था छ । भन्सार प्रमुख जनार्दन आचार्यले भन्सारको कर्मचारीबाट कुनै चुक नहुने दावी गरेको दोस्रो दिन नै ७० लाख रुपैया“ पर्ने सामाग्री सेटिंगमा पैठारी भइरहेको खुलेको हो ।
बरामद भएको सामाग्री बारे थप जानकारी आज आइतबार उपलब्ध गराइने संघीय प्रहरी ईकाइ कार्यालय नेपालगन्जले जनाएको छ । ट्रक चलाउँदै आएका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान कार्य अघि बढाएको छ ।
यसबारे प्रतिक्रियाका लागि भन्सार प्रमुखलाई गरिएको सम्पर्क प्रयास सफल हुन सकेन । तस्करी कार्यमा संलग्न व्यवसायी र भन्सार कर्मचारीबारे आज आइतबार थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
(तस्वीर : देबेन्द्र पौडेल)