झलक गैरे
२०२४ सालमा सीमित अगुवा व्यापारीहरुको ‘बैठकी’बाट सुरु भएको नेपालगन्ज उद्योग वाणिज्य संघ स्थापनाको ५० वर्ष पुरा भएको छ । यो पाँच दशकको यात्रामा १० जनाले विभिन्न कालखण्डमा संघको कमाण्ड सम्हालेका छन् । स्वर्गीय ओमकार मल खेतानको अध्यक्षतामा २०२४ सालमा वैधानिक ढंगले औपचारिकता पाएको संघको पूर्वाधार ‘बैठकी’ भने २०१२ साल देखि नै हँुदै आएको जानकारहरु बताउँछन् । उनीहरुका अनुसार, त्यसअघि जेष्ठ व्यापारीलाई बैठकीको अध्यक्षता दिइन्थ्यो । बैठकी हुँदै नेपालगन्ज उद्योग व्यापार संघको औपचारिकता संस्थागत हँुदा खेतानले आफ्नै निवासमा संघको कार्यालय सञ्चालन गरेका थिए ।
सम्बद्धहरु भन्छन्, ‘खेतानकै जोर बलले संघले संस्थागत बाटो लियो ।’ संस्थापक उपाध्यक्षमा राम प्रसाद वैश्य थिए । सदस्यहरुमा फुलचन्द्र अग्रवाल, महाविर प्रसाद अग्रवाल, लक्ष्मीनारायण शर्मा, बद्री नाथ टण्डन, केदारनाथ टण्डन, कृष्ण गोपाल टण्डन, जोगराज अग्रवाल, पाटनदिन गुप्ता, छत्रपाल अग्रवाल, गुरुप्रसाद पाण्डे, रामहर्ष गुप्ता, गुलाब राय खेतान, जैनेन्द्र कुमार टण्डन र डम्मर बहादुर पौडेल चयन भए । १० बर्ष बढी चलेको यो कार्यकाल नै वर्तमान नेपालगन्ज उद्योग वाणिज्य संघको जग हो ।
मोहपाल संसद निर्वाचनमा उम्मेदवार बनेपछि कन्हैयालाल टण्डनलाई संघको नेतृत्व दिइयो । २०५३ सालसम्म अध्यक्षको जिम्मेवारी सम्हालेका टण्डनले निर्वाचन गराउने जिम्मेवारीका साथ तदर्थ समिति मार्फत नेतृत्व हस्तान्तरण गरेको विगत छ । ‘१६ वर्ष सम्मपनि संघमा कुनै निर्वाचन नगरिएकाले तत्कालीन कार्य समितिलाई नेपाल उद्योग बाणिज्य महासंघको निर्देशनमा बिघटन गरियो’, महासंघका तत्कालिन भेरी अञ्चलका प्रतिनिधि मोहन गोपाल खेतानले २०४९ सालमा कार्यसमिति विघटन गर्दै तदर्थ कार्यसमिति गठन गरेको स्मरण गर्र्दै पुनःगठित समितिका सह–सचिव प्रदिपकुमार गुप्त भन्छन्, ‘तत्पश्चात विधान बनाएर नियमित निर्वाचनको प्रजातान्त्रिक अभ्यास सुरु भयो ।’
वास्तवमा त्यतिबेला पद्म ज्योति नेपाल उद्योग वाणिज्य महासंघमा अध्यक्ष भएका बेला केन्द्रलाई दबाब दिएर संघको जिल्ला स्थित नेतृत्व परिवर्तन मात्रै होइन पुनर्संरचनाका लागि नै तदर्थ समिति गठन गरिएको थियो । विधान बनाउन अच्युत प्रसाई, कन्हैयालाल टण्डन, सतिशचन्द्र अग्रवाल लगायतको संयुक्त समिति बनाइएको थियो । त्यही विधानका आधारमा संघ नयाँ प्रजातान्त्रिक धारमा प्रवाह भएको हो । सम्बद्धहरु भन्छन्, ‘त्यसअघि एक पानाको नाममात्रको विधानबाट संघ चल्दै आएको थियो ।’
२०५३ पौष १२ गते अच्यूत प्रसाईको नेतृत्वमा दामोदर प्रसाद गुप्ता र सुनिल कुमार शर्मा उपाध्यक्ष, सतिश चन्द्र अग्रवाल सचिव, श्याम कुमार शर्मा सहसचिव र उमा शंकर केशरवाल कोषाध्यक्ष बने । बालकृष्ण रस्तोगी, श्याम कुमार खेतान, उत्तमराज घिमिरे, इन्द्रप्रसाद राज भण्डारी, हाजी मुजिबुल हसन अन्सारी, तनवीर जमाल हलवाई, दिवाकर खनाल, मनोहर लाल खेतान, सुरेन्द्र नाथ टण्डन सदस्य थिए ।
प्रदीपकुमार छाजेड, गौरी शंकर अग्रवाल एशोसिएट प्रतिनिधित्व गर्ने संघमा दामोदर आचार्य र विश्वमान शेरचनलाई सदस्य, श्रीमति पद्मा भट्टराई र चन्दादेवी गिरियालाई महिला सदस्यका रुपमा कार्यसमितिमा ल्याइएको थियो । संघको भवन निर्माण कार्यसमेत सुरु गरेको उक्त कार्यसमितिलाई तीन बर्षे कार्यकाल सकिएपनि निरन्तरता दिन सर्वसम्मत वातावरण बनेपछि केही फेरबदल गरी प्रसाइले नै २०५९ सम्मको कार्यभार पाए ।
प्रसाईको नेतृत्वसँगै नेपालगन्ज उद्योग वाणिज्य संघको नयाँ अध्याय सुरु भएको पाइन्छ । नियमित साधारणसभा, निर्वाचन मार्फत नयाँ नेतृत्व हस्तान्तरण । यद्यपि, निर्वाचन मार्फत नेतृत्वमा पुगेका प्रसाईलाई दोस्रो कार्यकाल सर्वसम्मत जिम्मेवारी सुम्पिइएको थियो । त्यतिबेला उद्योगी व्यवसायीहरुको संरक्षकत्व लिन संघ सक्षम नभएपछि संघ पुनर्संरचना भएको थियो । सर्वसम्मत नयाँ कार्यसमितिमा ज्ञानेन्द्रकुमार श्रेष्ठलाई कोषाध्यक्षका रुपमा, अशोक कुमार कर्माचार्य, अमृत कर्माचार्य, दामोदर आचार्य, ज्ञानकुमार श्रेष्ठ थपिए । श्यामकुमार खेतान, प्रदिपकुमार गुप्तलाई मनोनित गरियो भने महिला सदस्य तर्फ श्रीमति मिना श्रेष्ठ थपिइन् । एशोसिएटमा केडी सुराना भए । प्रसाईले आफ्नो दुई कार्यकालमा सचिवको जिम्मेवारी निभाएका सतिशचन्द्र अग्रवाललाई २०५९ माघ १३ गते नेतृत्व हस्तान्तरण गरे ।
२०६३ सम्मका लागि अग्रवालको कार्यसमितिमा उपमहासचिवका रुपमा अशोक कुमार कर्माचार्य, कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, सदस्यमा ज्ञानेन्द्र कुमार श्रेष्ठ, बसन्त लामिछाने, एशोसिएट तर्फ मधुसुदन शर्मा रिजाल, महिलामा श्रीमति पार्वती शर्मा, वरिष्ठ सदस्यका रुपमा विष्णुप्रसाद मैनाली र मनोनित सदस्य कन्हैयालाल वैद्य र विनोद मैनाली थपिए ।
अग्रवालले आफ्नो कार्यसमितिका सदस्य दामोदर आचार्यलाई २०६३ भाद्र २५ गते पदभार हस्तान्तरण गरे । आचार्यले तत्कालीन उपाध्यक्ष सुनिलकुमार शर्मालाई पराजित गरी २०६६ सालसम्मका लागि संघको नेतृत्व लिएका थिए । आचार्यसँग कन्हैयालाल वैद्य प्रथम र कृष्णप्रसाद श्रेष्ठ द्वितीय उपाध्यक्षका रुपमा रहे । अशोक कुमार कर्माचार्य महासचिव रहेको आचार्यको कार्यकालमा प्रदिप गुप्ता उपमहासचिव, तनवीर जमाल हलवाइ कोषाध्यक्ष तथा कार्यसमिति विजयन्त शर्मा, सतिकुमार अग्रवाल, नन्दलाल वैश्य, उमाशंकर केशरवाल, सन्तोषकुमार कनोडिया, कपिलप्रसाद अधिकारी, विष्णुप्रसाद गौतम, ललितकुमार रौनियार, अब्दुलवाहिद मन्सुरी रहे । एशोसिएट सदस्यका रुपमा प्रदिप छाजेड, मधुसुदन शर्मा रिजाल, महिला सदस्यमा पार्वती सापकोटा, रचना श्रेष्ठ, वरिष्ठ सदस्य दामोदर प्रसाद गुप्ता बनाइए भने शरण कर्माचार्य र कृष्णप्रसाद तिवारी मनोनित सदस्यका रुपमा कार्यसमितिमा प्रवेश भए ।
संघको निर्वाचनमा ‘उठापटक’ पनि रमाइलै इतिहास बनाएको छ । २०६६ माघ २५ गते आचार्यले सुनिलकुमार शर्मालाई अध्यक्ष पद हस्तान्तरण गरे । शर्माले अघिल्लो कार्यकालमा आफुलाई पराजित गर्ने आचार्यसँग पुनः प्रतिस्पर्धा गरी नेतृत्वमा आउन सफल भएका थिए । आचार्यले प्रसाईलाई चुनौति दिंदै छुट्टै प्यानल खडा गरेका थिए । शर्मा पराजित कार्यकालबाट नै प्रष्टसँग प्यानल निर्वाचनमा जाने परम्परा सुरुवात भयो । आचार्यले आफ्ना प्यानल निर्माण गरेर नै नेतृत्वमा आउन सफल भएका थिए । त्यतिबेलै आचार्य विरुद्ध तेस्रो प्यानल समावेशी साझा समूह खडा गरेर उनका द्वितीय उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ मैदानमा उत्रिए । त्यसको फाइदा प्रष्टसँग शर्मालाई भयो । बेफाइदा त के भयो भने कुनै बेलाका एउटै सिक्का पाटा बनेका आचार्य र श्रेष्ठ प्रमुख प्रतिस्पर्धीका रुपमा संघको निर्वाचनका डिजाइनरका रुपमा देखा परे । त्यो प्रतिष्पर्धा यद्यपि कायमै छ ।
शर्मासँग प्रथम उपाध्यक्ष सतिश कुमार अग्रवाल र द्वितीय उपाध्यक्ष नन्दलाल वैश्य थिए । शर्माको उत्तराधिकारी बन्न अग्रवाल र बैश्य छुट्टाछुट्टै प्यानलबाट २०६९ फागुनको निर्वाचनमा मैदानमा उत्रिए । बाजी मारे कृष्ण प्रसाद श्रेष्ठ । श्रेष्ठका लागि तेस्रो प्यानल समावेशी साझा समूह तयार भयो । जुन समूहबाट निर्वाचनमा रचना श्रेष्ठ र विष्णु प्रसाद गौतम मात्रै निर्वाचित हुन सफल भए । उपाध्यक्षमा कपिल प्रसाद अधिकारी र अब्दुल वाहिद मन्सुरी चुनिए, बैश्य प्यानलबाट ।
रोचक गठबन्धनले निरन्तरता पाइनै रहेको छ । श्रेष्ठले तीन वर्षे कार्यकालमा फरक प्यानलका अधिकारीलाई आफ्नो बनाए । श्रेष्ठले आफुलाई निर्वाचित गराउने समावेशी साझा समूहको संरक्षक बन्दै समावेशी समूहका संरक्षक आचार्य र प्रजातान्त्रिक समूह निर्माण गर्ने अच्युत प्रसाईसँग सग कपिल प्रसाद अधिकारीलाई अध्यक्षको दाबेदार बनाएर श्रेष्ठले आफुलाई नयाँ प्यानलको लिडरका रुपमा स्थापित गरे । र, प्रसाई, आचार्यकै लयमा नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य निर्वाचित पनि भए । त्यसअघि अर्का अध्यक्ष सुनिल कुमार शर्मा पनि महासंघको केन्द्रीय सदस्य बन्न सफल भए ।
संघको अभिलेखमा १३ औं कार्यकालको नेतृत्व गर्न सफल भए, वर्तमान अध्यक्ष नन्दलाल बैश्य । संघको नयाँ भूमिका परिस्थितिको सामाना गर्न बैश्यले दशौं कमाण्डरका रुपमा जिम्मेवारी सम्हाल्दैछन् । ‘हिजोसम्म जन प्रतिनिधिका भूमिकामा काम गर्नुपर्ने अवस्थामा रह्यौं,’ आफ्नो कार्यकालको पूवाद्र्ध खण्ड समिक्षा गर्दै बैश्य भन्छन्, ‘अझै पनि सामाजिक समस्याहरु हामी कहाँ आउन छाडेका छैनन् ।’
‘यी समस्या समाधान गर्ने जिम्मेवारी जनप्रतिनिधिको हो,’ शुक्रवार विहान पनि व्यक्तिगत समस्या लिएर आएका एक सदस्यलाई सुझाउँदै अध्यक्ष बैश्य भन्दै थिए । नयाँ संविधान जारी भएर, स्थानीय तहमा जनप्रतिनिधि बहाली पछि संघको भूमिका विगतको जस्तो रहन्न भन्ने कुरामा अध्यक्ष बैश्य ‘कन्भिन्स’ छन् । ‘अब आर्थिक समृद्धिको पहलकदमीमा लगानी भित्र्याउन संघले नेतृत्व लिनुपर्छ,’ नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले भने ।
‘व्यवसायिक हक,हितसगै जिल्लाको समग्र विकासको मुद्दा उठाउनु पर्छ’, पूर्व अध्यक्ष सतिश चन्द्र अग्रवालले भने । पूर्व अध्यक्ष अच्युत प्रसाईको भनाइ पनि उस्तै छ, ‘अब पुरानो ढर्राले हुदैन नया प्रविधिका आधारमा व्यवसायिक सुरक्षा र सुविधाका लागि संघले महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।’