संचारमाध्यम १४ प्रतिशत भ्रष्ट

एउटा सर्भे रिपोर्टलाई आधार मान्दै पत्रकार जनक नेपालले देशका संचार माध्यममा १४ प्रतिशत भ्रष्टाचार हाबी रहेको बताएका छन् ।

 

आम नागरिक माझ गरिएको सो रिपोर्टले संचार माध्यमका विषय वस्तुहरु छनोट, प्रकाशन, प्रशारण र विज्ञापन लगायतको क्षेत्रलाई चिन्हित गर्दै संचार माध्यममा पनि भ्रष्टाचार रहेको दावी गरेको हो । भ्रष्टाचार बिरुद्ध संचारकर्मीहरुको भुमिका बारे मंगलवार नेपालगन्जमा आयोजित एक कार्यक्रममा सहजीकरण गरिरहेका पत्रकार नेपालले जिल्लाको विभिन्न सरकारी र गैरसरकारी स्तरमा हुने भ्रष्टाचार बारे टिप्पणी गर्दै सो विषयमा पत्रकारको भूमिका प्रभावकारी हुनु पर्ने बताए ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको सहयोगमा बास नेपालगन्जले आयोजना गरेको सो कार्यक्रममा पत्रकारहरुले भ्रष्टाचार विभिन्न चरणमा बढ्दै गएको गुनासो गरेका छन् । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका पत्रकार नेपालले पत्रकारले समाजलाई खबरदारी गर्ने काम गरिरहेको तर सरकारी संयन्त्र फितलो भएका कारण समस्या बल्झिएको बताए ।

 

पारदर्शिता, सुशासन र सार्वजनिक सरोकारमा मुख्य रुपमा पत्रकारले काम गर्ने भएकोले समाजको अपेक्षा बढि भएपनि, असुविधा, चुनौती लगायत कारण प्रतिफल अपेक्षानुसार प्राप्त हुन नसकेको पत्रकार नेपालले बताए । २०१३ को सर्भे रिपोर्टले राजनीतिक दल ७० प्रतिशत, कर्मचारी ६६ प्रतिशत, प्रहरी ५८ प्रतिशत, संसद ५१ प्रतिशत, सैनिक २७ प्रतिशत, ब्यापार निजी क्षेत्र ३० प्रतिशत, शैक्षिक प्रणाली २१ प्रतिशत, गैरसरकारी संस्था २१ प्रतिशत, धार्मिक संघ संस्था १० प्रतिशत भ्रष्ट रहेको देखाएको हो ।

 

कार्यक्रममा सहभागी पत्रकारहरुले संचार क्षेत्रमा हुने गरेको चुनौती बारे खुलेर गरेका छन् । पत्रकार कृष्ण अधिकारीले संचार माध्यमहरु बिच समन्वयको अभाव औल्याए । संचारकर्मी ठुलो सानो भन्दा पनि पत्रकारले लेख्ने समाचार कतिको प्रभावकारी छ सो बारेमा मूल्यांकन हुनुपर्ने पत्रकार अधिकारीले भने, ‘बिनापूर्वाग्रह समाचार सम्प्रेषण गर्न हाम्रो दायित्व हो ।’

 

अर्का पत्रकार नविन गिरीले पत्रकारिताको धर्मबाट बिचलित नभई समाचार सम्प्रेषण गर्नु अहिलेको आवश्यकता भएको बताए । पत्रकार कमल डाङ्गीले भ्रष्टाचारका मुद्दाहरुलाई बाहिर उजागर गरेपनि राज्यको निकाय कमजोर हुँदा निष्कर्ष सम्म पुग्न गार्हो हुने गरेको धारणा राखे । सो अवसरमा बाँकेका विभिन्न पत्रकार सहित बासका कार्यक्रम अधिकृत हेमराजभट्ट, बासका अध्यक्ष मन भण्डारी, निर्देशक नमस्कार शाह लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया