नेपालगन्ज भन्सार हुँदै कुनै सामान आयात गर्ने तपाईको तयारी छ भने यो सुखद खबर हो । केहि दिन अघि सम्म भन्सार कार्यालयमा प्रज्ञापन पत्र भर्दै लाइनमा झुण्डिने ब्यवस्थालाई अन्त्य गर्दै सुलभ सेवा भन्सारले अब सेवाग्राहीको घरमै पुर्याएको छ ।

 
विदेशबाट सामाग्री आयात गर्दा वा भन्सार नाका भएर विदेश निर्यात गर्दा भन्सारमा लाग्ने कर, प्रज्ञापन फारम, राजश्व अब ब्यक्तिले आफ्नो घरमै बसेर बुझाउन सक्छ । नेपालगन्ज भन्सार कार्यालय भाद्र २५ गते देखि परिक्षणमा ल्याएको नेपाल कस्टम अटोमेसन सिस्टम (निकास) सफ्वेयरले नेपालका ९ वटा भन्सारलाई अनलाई प्रविधिमा संगै सेवा प्रवाह गर्नमा सहयोग गरेको छ ।

 
‘अनलाईन प्रविधिका कारण भन्सार प्रज्ञापन भर्ने, जाँच पास गर्ने ब्यक्तिको निर्धारण सम्बन्धी ब्यवस्थालाई निरुत्साहित गरेको छ’, दैनिक नेपालगन्ज संग कुरा गर्दै नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले भने, ‘सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै यो प्रक्रिया अघि सारिएको हो ।’

 
यसअघि नेपालगन्ज भन्सारमा सामाग्री आएपछि फर्म भर्ने, लाइनमा लाग्ने, तोकिएको राजश्व बैंकमा दाखिला गर्ने विधिलाई छोटो गर्दै घरमै बसी बसी सबै सेवा लिन सक्ने विधि कार्यान्वयन गरिएको हो, प्रमुख आचार्यले भने, भन्सारमा हुने सबै प्रकारका झण्झटहरु समाधान हुने चरणमा छन् ।

 
‘नेपाल पैठारी गर्न वा भारत निकासी गर्न खोजेको सामाग्रीको राजश्व तिर्नमा सिस्टमले गर्दा ढिलाई हुने गरेको गुनासोलाई समाधान गर्ने उद्देश्यले यो ब्यवस्था लागु गरिएको हो’, आचार्यले भने, ‘पछिल्लो समयमा यसको प्रभावकारिता बढ्दै गएको पाइएको छ ।’

 

आफुले तिर्नु पर्ने राजश्व ईबैंकिग विधिबाट घरमा बसी बसी तिर्न सकिने रहेछ, प्रमुख आचार्यले भने, ब्यवसायीका लागि यो निकै सरल देखिएको छ । आर्थिक वर्ष २०७३।०७४ मा केहि राजश्व बढि संकलन भएका कारण सरकारले बढाएर लक्ष्य निर्धारण गरेकोले राजश्व संकलनको अनुपात आपेक्षित न्युन देखिएपछि लक्ष्य नजिक नै रहेको उनले प्रष्ट पारे ।
आधुनिक प्रविधि भित्रिएपछि भन्सार कार्यालयमा हुने गरेको ढिलासुस्तीको गुनासो हटेको छ । बैंक संग सिधा कनेक्ट भएको सर्भरले गर्दा राजश्व दाखिला हुने वित्तिकै कार्यालय सहित देशका ९ वटै भन्सार र मातहतका निकायमा हेर्न मिल्छ, आचार्य भन्छन्, यसले पारदर्शिता पनि बृद्धि भएको छ ।

 
नेपालगन्ज भन्सारमा सामाग्री रोकिएकै कारण ब्यवसायीलाई बढि घाटा दरको सामाना गर्नु पर्ने अवस्थालाई अनलाईन विधिले समाधान गरेको पाइएको हो । बुधवार नेपालगन्ज भन्सार कार्यालयमा उपभोक्ताको भिड न्युन देखिएपछि अनलाईन माध्यमबाटै सेवाग्राहीले सेवा लिन थालेको अनुमान गरिएको हो ।

 
‘आफुले पैठारी गरेको सामाग्रीको प्रज्ञापन पत्र भर्ने वित्तिकै सफ्टवेयरले तिर्नु पर्ने राजश्वको हिसाब गर्छ’, भन्सार प्रमुख आचार्यले भने, ‘त्यसै अनुसार रकम बैंकमा तिरेर ब्यवसायीले भौचर दाखिला गर्दै आएका हुन् ।’
‘राजश्व दाखिला भएको विषय अनलाईन प्रविधिमा पनि देखिने भएकोले त्यसमा कुनै आशंका र तालमेलको विषय रहेन’, आचार्य भन्छन्, ‘यो सबैको लागि हितकारी सावित भएको छ ।’

 
भन्सार कार्यालयको ब्यवस्थापनका सक्रिय भूमिका निर्वाह गर्दै आएका आचार्यले, यसअघि संचालनमा आउने भनिएको तौल पुल पनि केहि प्राविधिक कारणले अड्किएको बताएका छन् । त्यहाँको माटो नरम स्थिति भएकोले तौल क्षेत्रको हाता आरसीसी नगर्दा सम्म ट्रक र टिप्पर पसाउन सकिने देखिएन । जोखिमयुक्त अवस्था भएकोले त्यसमा छिट्टै सुधार गरेर संचालनमा ल्याउने तयारी रहेको छ ।

 
सेवाका कारण सहजता बढेपछि राजश्व लक्ष्यमा पनि प्रभाव परेको छ । गत वर्ष सरकराले बढाएर निर्धारण गरेको लक्ष्य नजिकै पुग्ने तर्खरमा रहेको नेपालगन्ज भन्सार कार्यालय, अचेल तीन महिने लक्ष्यमा सक्रिय देखिएको छ ।
‘सरकारले हामीलाई यस आर्थिक वर्षको तीन महिना भित्र एक अर्ब ८५ करोडको लक्ष्य दिएको छ’, आचार्यले भने, ‘बुधवार दिउँसो ४ बजे सम्म एक अर्ब ७४ करोड रुपैया राजश्व संकलन भइसकेको हो ।’

 
‘कुनै समयमा बढि भन्सार राजश्वको अवस्थालाई हेरेर सरकारले आगामी वर्षको कर निर्धारण गर्ने हुँदा थोरै तनाव बढ्ने गरेको हो’, प्रमुख आचार्यले भने, ‘यद्यपि यसले सक्रियता बढाउने गरेको छ ।’

प्रतिक्रिया

प्रतिक्रिया