नेपालगन्जका विकासे मेयरको सय दिन, नौ निर्णयमै सक्कियो ‘भौकाल’

विनय दीक्षित

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट नेपालगन्ज उपमहानगर–पालिकामा मेयर निवार्चित भएका र विकासप्रेमी भनिएका मेयर डा.धवल शम्शेर राणाको सबै फुर्ति ९ वटा निरर्थक निर्णयमै सक्किएको छ ।
नेपालगन्जको त्रिभुवनचोकमा तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले निर्माण गरेको वर्षाती (कभर्ड विजनेस करिडोर) कब्जा गराउन आरोप समेत लागेका मेयर राणाले यसअघिको निर्वाचन जितेपछि नेपालगन्जमा सडक, नाला, पार्क लगायतको निर्माण गरी जनतालाई प्रभावित पारेका थिए ।

 

केहि क्षेत्रको प्रभाव र केहि क्षेत्र भित्र जनताको प्रलोभनले धवललाई नेपालगन्जले दोस्रो पटक मेयरको रुपमा चयन गर्यो । उनीबाट गरिएका आपेक्षाहरु धेरै भएपनि जनताले १०० दिन भित्रको किचलोले सबै सपना धरासायी बन्दै गएको प्रतिक्रिया दिएका छन् । नेपालगन्ज उपमहानगरपालिकामा २३ वटा वडा छन् । अषाढ १४ गते स्थानीय तह निर्वाचनबाट छानिएका प्रतिनिधिहरुले वडा भेला पनि पूर्ण रुपमा सम्पन्न गर्न सकेका छैनन् । नेपालगन्ज उपमहानगर–पालिकाका सूचना अधिकृत शरद पौडेलले तयारी पूरा नभएका कारण नगरपरिषद र वडा भेलाहरु हुन नसकेको बताएका छन् ।

 

कस्तो तयारी हो ? भन्ने प्रश्नमा पौडेलले भने, तयारी मात्रै भनेर बुझ्नुस्, त्यसअघि पछि केहि होइन । निर्वाचित प्रतिनिधीहरुले सय दिन पूरा गरिरहँदा आपेक्षाकृत नभएपनि बोर्ड बैठकले ९ वटा निर्णय गर्न भ्याएछ । पहिलो निर्णयबाट २३ वटै वडामा वडा कार्यालयहरु स्थापना गर्न निर्णय भएको थियो । दोस्रोमा, सडकमा एलईडी बल्ब जडानका लागि ५ लाख रुपैया निकासी गर्ने निर्णय भयो । तेस्रो, बागेश्वरी मन्दिरलाई सिसिटिभी क्यामरा र ब्याट्रीका लागि २८ हजार दुई सय रुपैया प्रदान गर्ने निर्णय भयो ।
चौथो निर्णयमा, जीआईजेडको सहयोगमा नेपालगन्जको वडा नं.१६, २० र २१ लाई फर्निचर सहितको ब्यवस्थापन सामाग्री अनुदान प्राप्त गर्ने भनिएको छ । पाँचौमा, महेन्द्र पार्क भित्र ८०० सिट क्षमताको सिटी हल निर्माण गर्ने निर्णय भयो, तर पार्क कहाँ सार्ने यकिन छैन ।

 

छैठौं बैठकबाट, नगरक्षेत्रमा रहेको सार्वजनिक जग्गा अभिलेखीकरण गर्ने, सातौंमा, सडकमा रहेको खाल्डो पुर्ने र ग्राभेल खरीद गर्ने निर्णय भयो, आठौंमा कार्यालयका कबाड सामाग्री लिलाम गर्ने र नवौं बैठकबाट हरेक वडामा ४ जना सफाईकर्मी खटाउने निर्णय गर्दै निर्वाचित प्रतिनिधीहरुको सय दिन पूरा भएको छ । केहि विवादित विषयहरु पनि उपमहानगरपालिका संग जोडिन पुगे, त्यो मध्ये एउटा हो नेपालगन्ज पुष्पलाल चोक देखि बसपार्क सम्मको बाटो चौडाईको विषय । ११, २१ र ३१ मिटरको विवादमा मेयर धवल शम्शेर राणा ११ मिटरको पक्षमा उभिए, जबकि त्यो मापदण्ड निर्माण कम्पनीकै थियो ।

 

आपेक्षा अनुसार काम गर्नमा के कठिनाई भइरहेको छ ? भन्ने प्रश्नमा नेपालगन्ज उपमहानरपालिका वडा नं.१ का वडा अध्यक्ष अधिवक्ता प्रमोद रिजाल भन्छन, महत्वपूर्ण विषय बजेट नै होे, बजेट नआएपछि स्वतः विकासको काम पछि पर्छ । पहिलो पटक दशैंअघि नगरपरिषद गर्ने निर्णय भएको थियो, अध्यक्ष रिजालले भने, त्यसपछि विवाद बजेट मै बढ्दै गयो । वडाको भुगोल हेरेर ४० देखि ६० लाख रुपैया सम्म दिने बजेट सिलिंग सुनाइएपछि २३ वटै वडाका अध्यक्षहरुले आपत्ती जनाए, रिजालले भने, अधिकतम् बजेट उपमहानगरपालिका कार्यालयमै राख्न खोजेका कारण विवाद बढेको हो ।
वडाको विकास हुँदा पनि त नगरक्षेत्रकै विकास भएको मानिन्छ नि, अध्यक्ष रिजाल भन्छन्, अत्यधिक बजेट आफै कुम्ल्याउने प्रलोभनमा कर्मचारी र मेयर राणा परेकोले त्यसको विरोधमा हामीहरुले आपत्ती जनाएका हौं ।
वडामा बढि बजेट लैजाने प्रयास गर्नु वडा अध्यक्षको लागि स्वभाविकै हो, यो कुनै विवादको विषय होइन, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल शम्शेर राणाले भने, अझै विषयवस्तुहरु छलफलमा रहेकोले त्यसलाई विवाद भन्न मिलेन । छिट्टै नगरपरिषद गर्न लागेको बताउँदै उनले मर्मत सम्भार, पेट्रोलियम, विविध र ट्याक्टर सफाईमा प्रस्ताव भएको बजेटको विषयमा पनि निकास र छलफलको क्रम जारी रहेको बताए ।
डा.राणाले नेपालगन्जमा ८० किलोमिटर बाटो निर्माण गर्न लागेको दावी गरेपनि नेपालगन्ज नगरपालिकाले कति किलोमिटर बनाउने भन्ने अझै यकिन नरहेको जानकारी दिए । एडीबी, शहरी भवन तथा आवास डिभिजन कार्यालय, उपमहानगरनगरपालिका र सडक डिभिजनले संयुक्त रुपमा सडक निर्माण गर्न लागेको बताए ।

 

५५ लाखको हचुवा प्रस्ताव

नेपालगन्ज उपमहा–नगरपालिकाका विकासे मेयर डा.धवल शम्शेर राणाले गैरविकासमूलक कार्यमा बजेट प्रस्ताव अघि बढाएपछि चुलिएको विवादले नगरपरिषद समेतलाई प्रभावित गरेको छ । दशैंअघि आयोजित बोर्ड बैठकमा मेयर राणाले वडा अध्यक्षहरु सामु फोहोर ढुवानी गर्ने ट्याक्टरलाई पानीबाट धुलाई गर्नका लागि वार्षिक १५ लाख रुपैया“ र मेयर उपमेयरले प्रयोग गर्ने चारपांग्रे सवारी मर्मतका लागि ४० लाख रुपैया वार्षिक खर्च पारित गर्न वडा अध्यक्षहरुलाई दबाव दिएपछि उत्पन्न विवादले नेपालगन्जको विकासमै बाधक भएको छ ।
बैठकमा सहभागी एक वडा अध्यक्षले भने, ‘मेयरले आफ्नो फाइदाका लागि केहि कर्मचारीहरुको साँठगाँठमा विभिन्न शीर्षकमा अधिकतम् बजेट उपमहा–नगरपालिका कार्यालय भित्रै रहने गरि योजनाहरु अघि सारेपछि विमति बढेको हो ।’ ‘सामान्य एउटा मोटर जडान गरेर कार्यालय भित्रै धुन सक्ने ट्याक्टरलाई १५ लाख रुपैया“ पारित गर्न भनेपछि मेयर माथि आशंका बढेको हो’, उनले भने, ‘नियतनै ठिक नदेखिएपछि कसरी अघि बढ्ने भन्ने अन्योलता कायमै छ ।’
दशैंअघि नै हुनु पर्ने नगरपारिषद दशैंपछि एक साता वित्दा पनि उपमहानगरपालिकामा त्यस विषयमा खासै चासो छैन । ‘परिषदको मिति बारे यकिन अहिले भन्न सकिँदैन’, उपमहानगरपालिकाका सूचना अधिकृत सरद पौडेलले भने, ‘हामी आन्तरिक तयारीमै छौं ।’ ‘सबै तयारी पूराभएपछि सकभर चाँडै गर्ने योजना छ’, उनले भने, ‘वडा भेलाबाट आएको योजनाहरुमा छलफलको क्रम जारी छ ।’
‘निकट भविष्यमै परिषद हुने संकेत देखा परेको र पहिला भन्दा वडाहरुलाई राम्रो बजेट दिने तयारी भइरहेको सुनिएको छ’, दैनिक नेपालगन्ज संग वडा नं.१२ का अध्यक्ष बुद्धी सागर सुवेदीले भने, ‘पहिलाको बजेट चित्त बुझ्दो नभएको कारण समस्या उत्पन्न भएको सत्य हो ।’
‘मेयर राणाले कार्यालयमै बढि बजेट राख्ने तयारी गरेका कारण समस्या भएको थियो’, वडा अध्यक्ष सुवेदीले भने, ‘पछि पुनरावलोकन गरिएको छ, बजेटमा परिमार्जन हुने संकेत भएकोले परिषद चाँडै हुनेमा आशावादी छु ।’ सुवेदीले ट्याक्टर सफाई र गाडी मर्मतको नाममा प्रस्ताव गरिएको ५५ लाख रुपैया“ सानो तथ्य भएको बताएका छन् । ‘यो निकै सानो विषय हो’, उनले भने, ‘यसभन्दा पनि ठूला तथ्यहरु माथि चर्चा हुन बाँकी छ ।’
जनताले आपेक्षा गरेअनुसारको काम ब्यक्ति विशेषले उत्पन्न गरेको बाधा अवरोधका कारण हुन नसकेको बताउँदै अध्यक्ष सुवेदीले वडा अध्यक्ष पनि नगरको विकास प्रति उत्तिकै सवाफदेहिता बोकेको ब्यक्ति भएको बताए ।
जनतालाई उधारो आश्वासन स्थानीय तह निर्वाचनको झण्डै एकसय दिन पूरा हुन लाग्दा नेपालगन्जमा आवश्यक विकासका न्युनतम् कार्यहरु सुचारु हुन् सकेका छैन् ।
अधिकाँश वडा भेलाबाट गएका योजनाहरुमा आंशिक छलफल गरेर न्युन बजेट दिने प्रस्ताव अघि सरेपछि उत्पन्न भएको विवादले विकासका अधिकाँश योजनाहरु प्रभावित गरिहेको छ । जनताले वडामा काम गर्नुु पर्यो भन्ने दबाव दिइरहेका बेला आफुहरु बजेट विहिन भएको अवस्थाले झन समस्या थपिरहेको नेपालगन्ज उपमहानगरपालिका वडा नं.१ का अध्यक्ष प्रमोद रिजालले बताए ।
एशियाली विकास बैंकको ऋणमा नेपालगन्जमा अघि बढेको सडक र ढल निकास निर्माणलाई आफुले गरेको
प्रचारबाजी गर्नेहरुबाट सतर्क हुन आवश्यक रहेको बताउँदै, रिजालले भने, ‘अझै नगरपरिषदबाट योजनाहरु पास नभएको र बजेट निर्धारण हुन बाँकी रहेकोले स्थानीय तहबाट विकासको काम अघि नबढेको हो ।’ ‘आश्वासनकै भरमा वडा चलेको छ, हातमा केहि छैन’, रिजालले भने, ‘यस्तो अवस्थाको निकास कति दिनमा हुन्छ भन्ने यकिन हुन सकेको छैन ।’ ‘बजेटको सिलिंगमा वडालाई न्युन रकम दिने योजना अघि सारेपछि त्यसको विरोध भएको हो’, दैनिक नेपालगन्ज संग १८ नं.का वडा अध्यक्ष दीपक बर्माले भने, ‘कर्मचारीको मनपरितन्त्र र मेयर उपमेयरको असमझदारीले नगरपरिषद हुन नसकेको हो ।’
‘हामीहरुलाई योजना निर्माण, बाजेट बाँडफाँडको विज्ञता छैन’, अध्यक्ष बर्माले भने, ‘कर्मचारीले सिकाए अनुसार पेट्रोल, मर्मत, सफाई, विविध लगायत शीर्षकमा धेरै रकम देखापरेपछि विवाद सुरु भएको हो ।’
‘प्रस्ताव बैठकमा आएको थियो, वडा अध्यक्षहरुले आपत्ती जनाएपछि त्यसै थन्किएको छ’, बर्माले भने, ‘तिहार अघिनै नगरपरिषद गर्ने तयारी भइरहेको जानकारी आएको छ ।’ वडामा सामान्य रुपमा अंध्यारो भएको स्थानमा बल्बहरु जडान गर्ने काम अघि बढाएको छु, बाँकी विकास यस्तैछ ।

प्रतिक्रिया

प्रतिक्रिया