शान्त हुदै मोहम्मदपुर

दुई समुदाय विच सामाजिक एकता बढाउने पर्व कतिपय स्थानमा विवादित बनेपछि बाँके मात्रै हैन छिमेकी जिल्ला बर्दियामा पनि त्यसको असर देखा परेको छ । असोज १५ गते मोहम्मदपुरमा ताजिया र मूर्ति विसर्जनको क्रममा भएको विवादमा परि दर्जन बढि ब्यक्तिहरु घाइते भए । सामान्य विषयबाट सुरु भएको विवाद उग्र रुप लिँदै गएपछि स्थानीय प्रशासनले त्यस क्षेत्रमा कफर््युको आदेश जारी गरेर स्थिति शान्त बनाएको छ ।

 

 

बुधवार पनि मानिसहरु त्रसित अवस्थामा देखापरे । मोहम्मदपुर स्थित भादा नदीमा मूर्ति विसर्जन गर्न गइरहेको टोली र ताजिया विसर्जन गर्न पहिले देखिनै सडकमा रहेको टोली बीच बाटो छाड्ने र छेक्ने विषयमा विवाद उत्पन्न भएपछि ढुंगा हानाहान सुरु भएको प्रत्यक्षदर्शीले बताए ।

 

 
‘पछाडी रहेका ब्यक्तिहरुलाई केही थाहा नै हुन सकेन’, स्थानीय मुबारक खाँले दैनिक नेपालगन्ज संग भने, ‘एकै पटक ढुंगामुढा हुन थालेपछि चारैतिर भागदौड मच्चिएको थियो ।’ ‘घटनामा दुबै समुदायका ब्यक्तिहरु एकअर्का माथि आक्रमण गरिरहेका थिए’, उनले भने, ‘पछि ताजिया विसर्जन गर्ने स्थल कर्बला नजिकै भएकाले एउटा समुदाय खेतको बाटो भएर त्यहाँ पुग्यो ।’

 

 
विवाद बढ्दै गएपछि अत्याधिक प्रहरी परिचालन गरी मूर्ति विसर्जन भयो । ‘विवादको जरो मात्र बाटोको विषय थियो’, स्थानीय जगदीश यादवले भने, ‘बाटोमा रहेको ताजियाका कारण आवतजावत अवरुद्ध भएपछि विवादको स्थिति उत्पन्न भएको हो ।’

 

 

‘बाटोको विषय बहाना मात्रै हो, विवादको जरो ब्यक्तिगत झगडा हो’, स्थानीय महाबीर राढले भने, ‘दुई ब्यक्ति विचको विवादले साम्प्रदायिक रुप लिन खोजेको हो ।’ ‘बेलैमा समाधान नभएको भए क्षतिको अनुपात बढ्थ्यो’, उनले भने, ‘तर आवश्यक सतर्कताले गर्दा दुबै पक्षलाई गार्हो हुन पाएन ।’

 

 

मजीउल्ला खाँ भन्छन्, ‘सबैको चाहना शान्ति नै हो तर केहि ब्यक्तिहरु विचको लडाईले साम्प्रदायिकताको मूर्त रुप पाएको
हो ।’ विवाद पछि तीन दिन सुत्न नसकेका बासिन्दाले कुन समयमा के हुने भन्ने आशंका विद्यमान रहेको प्रतिक्रिया दिएका छन् ।

 

 
घुम्ती पसल, घर, धार्मिक स्थल लगायत स्थानमा तोडफोड र आगजनी प्रयास भएको देखियो । गाउँलेहरु भित्र त्रासको वातावरण छ । मोहम्मदपुर र लालपुर गाउँमा हरेक स्थानमा प्रहरीको चुस्त गस्ती छ । सडक सुनसान छन् । कुनै कुनै स्थानमा मानिसको जमघट देखियो । अधिकाँश स्थानमा फरक फरक एउटै समुदायका ब्यक्तिहरु बसेको पाइयो । दुबै समुदायविच बोलचाल सम्मको स्थिति कायम रहेन । यसको निकास प्रति सबै पक्ष आशावादी देखियो ।
घटनामा घाइते भएकाहरु नेपालगन्ज मेडिकल कलेजमा उपचार गराइरहेका छन् । सामान्य घाइते भएकाहरु प्राथमिक उपचारपछि घरमै छन् । स्थानीय उदय प्रसाद यादव भन्छन्, ‘दुबै समुदायविच अझै मेलमिलापको स्थिति कायम हुन सकेको छैन ।’

 

 
गाउँमा चौतर्फी रुपमा शान्ति छ । रातिको समयमा दुबै समुदायमा उत्तिकै डर ब्याप्त हुन्छ । ‘कुनै पक्षबाट आक्रमण हुन्छ कि भन्ने आशंका त्यत्तिकै छ’, स्थानीय नन्दराम खटिकले भने, ‘तर मेलमिलापको विकल्प नभएकोले दुबै समुदाय त्यस तर्फ अग्रसर देखिएका छन् ।’
मिलेर बस्ने सहमति

दुई समुदाय विचको विवाद विस्तारै शान्त हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले बुधवार सर्वपक्षीय बैठक बोलाएर मेलमिलाप र शान्तिको पहल थालेको छ ।

 
मोहम्मदपुर, लालपुर लगायत क्षेत्रबाट दुबै समुदायका ब्यक्तिहरुलाई सहभागी गराएर भएको छलफल प्रशासनले जाँचपछि अभियुक्तहरु माथि कानूनी कारवाही अघि बढाउने जनाएपछि दुबै समुदायले एकआपसमा भाईचारा कायम गर्न अघि सरेका हुन् ।

 
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले दुबै समुदाय एकअर्कालाई क्षमा गर्दै मिलेर बस्न आवश्यक रहेको र त्यसो गरे प्रशासनले कुनै कारवाही अघि नबढाउने भनेपछि छलफलबाट मेलमिलापको निष्कर्श बाहिर आएको हो । ‘मानिसलाई शान्ति नै चाहिन्छ, जतिसुकै विवाद गरेपनि त्यसको अन्तमा शान्ति नै हो दीर्घकालिन चाहिने’, प्रजिअ भट्टराईले भने, ‘त्यस कारण दुबै समुदाय मिलेर बस्नुको विकल्प छैन ।’

 
बैठकमा सहभागी स्थानीय दुबै पक्षका ब्यक्तिले आफु माथि परेको समस्या बारे प्रष्ट रुपमा तथ्यहरु राखेका थिए । बैठकमा सहभागी राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष नसिरुद्दीन शेषले वर्षौं देखि दुबै समुदायले मनाउने पर्वमा अवांछित केहि ब्यक्तिहरुका कारण विवाद हुनु दुखद रहेको बताए ।


पर्व मानिसले आपसी एकता र मेलमिलापका लागि मनाउने परम्परा बसेको बताउँदै अध्यक्ष शेषले दुबै समुदाय विच परस्पर एकता आवश्यक रहेको सुझाव दिए । विवाद बढाउने तत्वको पहिचान गरी सामाजिकस्तरबाटै कारवाही अघि बढाउनु पर्ने उनले प्रतिक्रिया दिए ।

 
राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जका प्रमुख मुरारी खरेलले दुबै समुदायको पर्वमा ईश्वर विवाद गर्न नभनेको र विवाद हुँदा ईश्वरलाई पनि नराम्रो लाग्ने भन्दै दुबै पक्षले एकअर्काको धर्मको सम्मान गर्न आग्रह गरे ।

 
समुदायको विवादले समुदायलाई नै क्षति हुने भएकोले सँधै शान्ति तर्फ अग्रसर हुनु पर्ने खरेलले बताए । उनले प्रभावित गाउँमा अरु कुनै पक्षले शान्ति गर्न नसक्ने बताउँदै स्थानीहरुलाई नै आपसी सम्बन्ध सुमधुर बनाउनु पर्ने सुझाव दिए ।
बैठकमा थर्ड एलाइन्स नेपालगन्जका प्रमुख आलम खान, सुरक्षा अधिकारीहरु, स्थानीय प्रतिनिधि, पीडित पक्ष लगायतको सहभागिता रहेको थियो । बैठकबाट पीडित दुबै पक्षले एक अर्कालाई एक पटकका लागि क्षमा गर्ने र दुबै पक्षले आफ्नो समुदायले आपसी सम्बन्ध सुधारका लागि सहयोग गर्ने निर्णय गरिएको छ । यद्यपि सद्भाव र्याली र सद्भाव भोजको तयारी रहेको समेत स्थानीयहरुले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया

प्रतिक्रिया