लागु औषध कारोवार दुबै देशको साझा समस्या

सीमावर्ती क्षेत्रमा हुने लागु औषध कारोवार नेपाल भारतका लागि साझा समस्याको रुपमा फैलिंदै गएकोले यसलाई उन्मुलन गर्न दुबै देशका नागरिक र सरकारी निकाय गम्भीर हुनुपर्ने एक कार्यक्रममा सहभागीहरुले बताए । नेपाल–भारतको सिमाना जमुनाहा नाका दशगजामा आयोजित एक कार्यक्रममा नेपाल र भारतका जनप्रतिनिधि, प्रशासनिक अधिकारी र नागरिक अगुवाहरुले बताएका हुन् ।

 
नेपाल–भारत संयुक्त पत्रकार मञ्च तथा ल अफ सोसाइटी बहराइचको संयुक्त आयोजनामा सम्पन्न ‘नशा उन्मूलन जनचेतना कार्यक्रम’ मा सहभागीहरुले यदि सिमावर्ती क्षेत्रमा यस्तो कारोवार र सेवन नरोक्ने हो भने भोलि नेपाल र भारतकै भविष्य अन्धकार तिर धकेलिनेमा चिन्ता व्यक्त गरे ।

 
नेपाल–भारत संयुक्त पत्रकार मञ्च तथा ल अफ सोसाइटी बहराइचको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट नेपालका सांसद् देवराज भारले दुबै देशको आशा र भरोसाको केन्द्र युवा जनशक्ति लागु औषधको कुलतबाट अत्यधिक प्रभावित भएको हुँदा सीमावर्ती भारतीय बजारमा खुलेयाम विक्री हुने लागु औषध र पदार्थ माथि कडाईका साथ नियन्त्रण गरिनु पर्ने कुरामा जोड दिनु भयो । यदि यसो गरिएन भने नेपाल र भारतको भविष्य बर्बादीको बाटोमा जाने तर्फ चिन्ता व्यक्त गर्दै सरकारी स्तरबाटै कडा कानून निर्माण गरिनु पर्ने बताउनु भयो । उहाँले नेपालमा प्रदेशको निर्वाचन पछि यो समस्या विरुद्ध नेपालमा वृहत अभियान सञ्चालन गरिने बताउनु भयो ।

 
नेपाल–भारत संयुक्त पत्रकार मञ्च नेपाल च्याप्टरका अध्यक्ष पत्रकार पूर्ण लाल चुकेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाले लागु औषधको दुव्र्यसनको कुलतले ठुला साना, कुनै पनि जात धर्म र नेपाली भारतीय जो सुकैलाई नछोड्ने भएकोले यसको कारोबारमा लाग्नेहरुलाई कडा भन्दा कडा कानून बनाएर विकराल समस्यालाई न्यूनीकरण गर्न सकिने धारणा राख्नु भयो ।

 
सो अवसरमा भारत बहराइच जिल्लाका सहायक अधिकारी एस.के. शुक्ला, अद्र्धसैनिक सीमा सुरक्षा बल एसएसबि ४२ औं बटालियनका कमन्डेन्ट शैलेन्द्र पाण्डे, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख सुश्री उमा थापा मगर,नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइराला, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्द लाल वैश्य, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक वीर बहादुर थापा, भारतका वरिष्ठ पत्रकार मनीराम शर्मा, ल अफ सोसाइटी बहराइचका अध्यक्ष अधिवक्ता संजीव श्रीवास्तव, भारतीय किसान परिषद् शिव पूजन सिंह, नेहरु इन्टर कलेजका प्राचार्य वृज नरेश श्रीवास्तव, डा. सिद्दीकी, रुपईडिहा व्यापार मण्डलका अध्यक्ष अजय मित्तल, नेपालगन्जका मानवअधिकारकर्मी विश्वजीत तिवारी लगायतले नशा उन्मुलनको समस्याको बारेमा बोल्नु भएको थियो ।

 


कार्यक्रम पछि दश गजा भूमिमा लागु पदार्थको प्रतीकको रुपमा पुतला दहन गरियो भने वृक्षारोपण पनि गरिएको थियो ।
कार्यक्रममा नेपाल र भारतका करीब २०० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया