अहिंसा परमो धर्म कोही पालना गर्दैन

हिन्दु सनातन धर्ममा जनावर तथा पन्छीहरु भगवानको सवारी साधन (वाहन)को रुपमा प्रयोग भएको पाइन्छ । विष्णुको गरुण, शिवजीको साढे, गणेशजीको मुसा, ईन्द्रको हात्ती, लक्ष्मीको उदाहरण हुन् । गाईको त झन प्रत्येक कार्यमा महत्व
छ । मर्दा वैतरनी तार्न होस् वा जिउँदोमा गउतबाट शुद्ध हुने र गौ दानवाट मुक्ति पाउने कार्यमा प्रयोग हुन्छ ।

 
दशै विशेष गरेर नेपाली समाजमा देवीको पूजा आरधाना भन्दा पनि खसी, वोका राँगा सँुगुर काटेर खानेको लागि प्रख्यात हुदै छ । दशै विशेष गरेर देवीले दानवमाथि विजय प्राप्त गरेको हुँदा त्यसको उपलक्ष्यमा उत्सव खुसीयाली मानउनु पर्ने हो । भारतका तमाम हिन्दु नव रात्रमा ब्रत वस्ने र देवीको पूजागर्ने गर्दछन् । तर नेपाली समाजमा मासु र रक्सी खानको लागी दशै मानाइन्छ । पछिल्लो पटक विदेशबाट आउने रेमिटान्सको कारणले पनि दशैमा अरु रौनक थपिएको देखिन्छ ।

 
जनावरमा सवै भन्दा सोझो खसी वोकाको बलि दशैमा दिइन्छ । बलि नै दिने भए किन हात्तीको बलि दिईदैन ? हात्तीको मासुले त गाउँ भरीको मानिसलाई पुग्छ । बलि त अहंकारको दिन पर्ने हो । तर सोझो जनावरको दिइन्छ । आफू भन्दा ठूलाको अगाडि झुक्नु पर्ने हो, टाउको निहु¥याउनु पर्ने हो तर रक्सी र मासुको आडमा अहंकारलाई नै प्रश्रय दिइन्छ ।
तिहारको दिन यमदुत भनेर पूजा गरेको कुकुरलाई बाँकी दिन तातो पानी, एसिड खन्याउने, लाठीले, ढुंगाले पिट्ने गरिन्छ । सडकमा देखिने लुते, घाइते र विमारी कुकुरलाई छि छि र दुर दुर गरिन्छ । किन कुनै तिहारमा भगवान भनेर पुज्ने भक्त भनाउँदोले भगवान सम्झेर सेवा गर्दैन ? भागेर नाघेर हिड्छ ? किन उपचार गर्दैन त्यति खेर भक्ति भन्ने कुरा कहाँ जान्छ ? प्रकृतिको सुन्दर जीव हामी मानव किन यतिका अवुझ । कहिले पुजा गर्छौ त कहिले उदाहरण दिदै गाली गर्छौ ।

 

 

कुकुरको जस्तो बुद्धि, कुकुरको काम पनि छैन फुर्सद पनि छैन आदि राम्रा नराम्रा शव्द प्रयोग गरेर अरुलाई गाली गर्छौ ।
नाग पन्चमीमा सर्पको पूजा गरिन्छ । बाँकी दिन शत्रुको व्यवहार गरिन्छ । सर्प देख्यो कि डरले भाग्ने नत्र मार्ने । भगवान मान्ने हो भने भगवानसँग किन डराउने ? आपत पर्दा शिवजी सम्झने, व्रत वस्ने सुख सम्बृद्धिको लागी । किन फेरी सर्पलाई मार्ने ? बुढो साँढेको सडकमा तेस्तै राम दशा देखिन्छ कसैले खाने पिउने कुरा दिन त के, घरमा पसलमा हे¥यो भने कुटेर खेदाउने चलन छ । फेरी पनि हामी शिव मन्दिर धाएकै छौ, घण्टी वजाएकै छौ । आफूलाई शिव भक्त भनि स्वघोषणा गरेका छौ । शुभ कार्य गर्न भन्दा पहिला गणेश भगवानको पुजा गर्ने परम्परा छ तर मुसालाई देख्ने वित्तिकै मार्ने गरिन्छ । किन जनावर प्रति मानवको वितृष्णा ? कहिले पुजा गरिन्छ कहिले त्यही चिजलाई वली दिइन्छ ।

 
आफ्नो मनोकामना पुरा होस् भनी भाकल गर्ने र भाकल पूरा भए पछि वदलामा एउटा निरीह पशुलाई वलि दिने–वाख्राको दुध खाने पाठा, परेवाको वच्चा, भैसीको पाडा, कुखुरा हाँस आदि । एक पटक सम्झौं त हामी भन्दा कुनै बलिया जीवले हामीलाई या हाम्रा वच्चालाई यसरी बलि दिने हो भने स्थिति कस्तो हुन्थ्यो होला भनेर । दन्ते कथामा सुन्ने गरेको भंmै एकादेशको वलियो राक्षसले पुजाको लागी देवीलाई वच्चा बलि दिने गर्दथ्यो रे । कथामा सुने भंmै वलिया जीवले निर्धालाई बलि दिने हो त्यस वेला हामी के गर्दथ्यौ ? शास्त्रको अध्यायन गर्नै विज्ञानको खोज गर्ने हो भने घिउको ठाउँमा तेल, गाई दानको ठाउँमा पैसा दान गरे झै जनावर पन्छीको ठाउँमा नरीवल हुन्थ्यो कि !

 
समाजमा भक्ति देखावटी मात्र भएको छ । परम्परालाई निरन्तरता दिए जस्तो मात्र भएको छ । बाबु बाजेले गरेको देखेर गरेको छ । भक्ति अदृष्य कुरा हो । मानिसको भित्रबाट आउने कुरा हो । पहिला प्रेम हुन प¥यो अनि त्यसमा श्रद्धा आउँछ अनि मात्र भक्तिको कुरा आउँछ । भक्ति पनि परा भक्ति र गौडि भक्ति हुन्छ । मिरा, प्रभुपाद जस्ता महापुरुष सडकमा नाच्दै हिड्थे किनकी परमात्मा माथी प्रेम थियो श्रद्धा थियो अनि गौडि भक्तमा उपलव्ध भए ।

 
बुद्ध नेपालमा जन्मेको होइनन् कसैले यहाँ भन्दियो भने हामी मर्न तयार हुन्छौ तर बुद्ध वाणी अहिंसा परमो धर्म कोही पालना गर्दैन । हिँसा नगर्ने वित्तिकै ठूलो धर्म हुन्छ भने निर्धा पशुको किन हत्या गर्ने ? बुद्ध धर्ममा त फूलमा समेत आत्मा हुन्छ भनेर भगवानलाई फूलको ठाउँमा कपडाको खादा चढाउने चलन छ ।

 

 

सजातीय प्राणी पशु पन्छी मानिसको भाषा सजिलै वुझ्छन् । यता आईज भन्दा यता आउने, मालिक लाई चिन्ने सबै गर्दछ । कतिपय अवस्थामा त मानिसले पशुलाई होइन पशुले मानिसले पालेको छ । गोरुले जोतेर सारा परिवार पालेको हुन्छ । गाई भौसीको दुधवाट आम्दानी गरेका हुन्छन् । मलमुत्रवाट कृषि उत्पादन बढेको छ । हिमालमा चौरी र याकले तराईमा गधा घोडा खच्चडले समान ढुवानी गरेर पनि प्रसस्त आम्दानी दिएको छ ।

 
आजकाल मानिसको जस्तै जनावरको पनि अधिकारको कुरा उठ्न थालेको छ । छिमेकी भारतमा त जनावर अधिकार्मीहरुको पहलमा जनावर सम्वन्धी कानून नै वनेको छ । हामी कहाँ पनि पशु क्वारेन्टाईन सम्वन्धी, पशु ओसारपसार सम्वन्धी कानून त छ तर प्रयाप्त कार्यान्वयन र अनुगमनको अभावमा अलि फितलो छ ।

 
अहिंसात्मक बन्न पहिले अरुप्रति प्रेमभाव उत्पन्न हुनुपर्छ । अनि आफू वरिपरीका सबै सजीव निर्जीवप्रति करुणाभाव उत्पन्न हुन्छ । हिंसा नगर्नु नै सबै भन्दा ठूलो धर्म हो भन्ने महसुस भएमा मात्रै समाजमा शान्ति र अमनचयन आउँछ । यो वडा दसैंले यहाँहरुलाई अहिंसात्मक बन्ने शक्ति दिओस् । वडा दसैं २०७४ को हार्दिक मंगलमय शुभकामना । (दैनिक नेपालगन्जको दसैं विशेष बाट)

प्रतिक्रिया

प्रतिक्रिया