सुरु भो दशैं

हिन्दुहरुको महान् पर्व बडा दशैं आज बिहीबारदेखि सुरु हुदैछ । असत्यमाथि सत्यको विजयको प्रतीकको रुपमा मनाइने बडा दशैंको पहिलो दिन आज घटस्थापना मनाइदैछ । हिन्दु धर्मावलम्बीहरुले आज घरघरमा घटस्थापना गरी बडादशैं भित्र्याउँदै छन् । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिने र यसै दिनदेखि नवरात्र आरम्भ हुन्छ ।

 
घटस्थापनाको दिन दुई महत्वपूर्ण कृत्य सम्पन्न गरिन्छ । एक कृत्य यस दिन जमरा राखिन्छ, अर्को यस दिन
घट कलशको स्थापना गरी देवी–देवताको आव्हान गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दशैँ घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ ।

 
आज दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिन्छ । आज बिशेष कार्यक्रमका बीच बागेश्वरी मन्दिरमा घटस्थापना स्थापना गरिँदै छ ।

 
नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको बताएको छ ।
समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार, आगामी असोज ११ गते बुधबार दशैं घर वा कोठामा फूलपाती भित्र्याइन्छ । असोज १२ गते बिहीबार महाअष्टमी, त्यसै दिन राति कालरात्री पूजा हुनेछ । असोज १३ गते शुक्रबार महानवमी, असोज १४ गते शनिबार विजया दशमी परेको छ । विजया दशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ रहेको छ । सोही दिन मध्यान्ह ११ बजेर ५५ मिनेटपछि साइतमा टीका लगाउनेका लागि उत्तम रहेको अध्यक्ष गौतमले बताए ।

 
असोज १९ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैं पर्व समापन हुन्छ ।
आजदेखि टोल–टोलमा नवदुर्गाको मूर्ति स्थापना गरी नौ दिनसम्म पुजाआज गरिन्छ । त्यसक्रममा नेपालगन्जका थुप्रै स्थानमा दुर्गा मूर्तिहरु समेत राखिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया