उच्च अदालत नेपालगन्ज तुल्सीपुर इजलासले चालक अनुमति पत्र नभएका ब्यक्तिलाई टेम्पो, अटोरिक्सा चलाउनमा रोक लगाएको छ । मुद्धामा अन्तरिम आदेश जारी हुने नहुने बारेमा भएको सुनुवाईमा न्यायाधीशहरु बिष्णु देव पौडेल र लेखनाथ पौडेलको संयुक्त इजलासले चालक अनुमति पत्र प्राप्त नभएका ब्यक्तिलाई सवारीसाधनहरु टेम्पो र अटोरिक्सा चलाउन रोक लगाउनु संचालन गर्न नदिनु भनी बिपक्षीहरुका नाममा अन्तरिम आदेश गरेको रिट निवेदक उपभोक्ता हित संरक्षण मञ्च बाँके अध्यक्ष अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।
रिट निवेदनको पक्षमा अधिवक्ता गौतमका साथै अधिवक्ताहरु धु्रव प्रसाद बश्याल, लोक बहादुर शाह, बासुदेव ज्ञवाली, बिश्वजित तिवारी र बिकाश आचार्य र बिपक्षीका तर्फबाट सरकारी वकिल लक्ष्मीनारायण दाहालले बहश पैरवी गरेका
थिए । टेम्पो र अटोरिक्साहरुको गैर कानूनी र जोखिमपूर्ण रुपमा यात्रु ओसार्ने कार्य बिरुद्ध अदालतमा दर्ता भएको रिट निवेदनको सुनुवाई गर्दै अदालतले यस्तो आदेश गरेको हो ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसूची ५ (दफा ५० सँग सम्बन्धित) सवारी चालक अनुमतिपत्रमा सि वर्गमा टेम्पो र अटोरिक्सा चलाउनको लागि लाइसेन्स लिनु पर्ने अनिवार्य व्यवस्था गरेकोमा त्यस बिरुद्धमा बाँकेमा टेम्पो र अटोरिक्सा संचालन गरि यात्रुलाई जोखिमपुर्ण यात्रा गराइरहेकाले त्यस्तो गैर कानूनी कार्य रोकी टेम्पो र अटोरिक्साकालाई कानूनी प्रक्रियामा ल्याई र सवारी चापलाई व्यवस्थित गर्न मुद्दामा माग दावी गरिएको छ ।
उपभोक्ता हित संरक्षण मञ्च बर्दियाका अध्यक्ष वरिष्ठ अधिवक्ता नरेन्द्र शर्मा कोइराला, बाँके अध्यक्ष अधिवक्ता बसन्त गौतम, अधिवक्ताहरु बिकाश आचार्य, कुसुमा सुवेदी र पूर्ण बहादुर शाहीले उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासमा
शुक्रवार दायर गरेका हुन । मुद्दामा यातायात व्यवस्था कार्यालय भेरी, ट्राफिक प्रहरी क्षेत्रिय कार्यालय कोहलपुर, यातायात व्यवस्थापन समितिका अध्यक्ष जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारीलाई बिपक्षी बनाइएको छ ।
कुनै पनि सवारी साधनमा रातो प्लेट भयो भयो त्यो निजी हुन्छ त्यसले भाडामा सवारी प्रयोग गर्न पाउदैन । तर बाँकेमा रातो प्लेटका टेम्पो र अटो रिक्साहरु यातायात कार्यालयमा दर्ता बिना साबिक गाबिसमा दर्ता गरेकै भरमा निर्वाध रुपमा संचालन भैरहेको रिट निवेदक अधिवक्ता वसन्त गौतमले बताए । कानून त कालो प्लेटका सवारी साधनहरु यातायात कार्यालयमा दर्ता गरि संचालनमा ल्याउन पर्नेमा बाँकेमा त्यसको पालना नगरिएको अधिवक्ता बिकाश आचार्यले बताए । उनका अनुसार यातायात ब्यवस्था कार्यालयले त्यस्ता सवारी साधन चल्ने रुट बर्गिकरण पनि गरिएको छैन । त्यस्ता सवारी साधनहरु गै कानूनी रुपमा आफुखुसी मनलाग्दी चलिरहेका छन्’ ।
टेम्पो र अटोरिक्साका चालकले सवारी चालक अनुमतिपत्र बिनै यातायात ब्यवस्था कार्यालयमा दर्ता गरेकै भरमा सिकारु चालकहरुले जोखिपुर्ण यात्रा गराइरहेकोमा मुद्दामा उल्लेख गरिएको छ ।
टेम्पो र अटोरिक्सा संचालनमा आउँदा सवारी ऐनको दफा १५० बमोजिम यात्रुको बिमा अनिवार्य गरेको तथा सोही ऐनको दफा १५२ बमोजिम तेश्रो पक्षको बिमा अनिवार्य रही आएको र सोही ऐनको दफा १५४ र १५५ मा यातायात व्यवस्थापन समितिको गठन तथा काम कर्तब्य र अधिकारको बारेमा उल्लेख यस क्षेत्रमा यस बिपरित टेम्पो र अटोरिक्सा संचालनमा आएको यसको कानून सम्मत संचालनको माग राख्दै अदालतमा मुद्दा दर्ता गरिएको हो । हालसम्म यस क्षेत्रमा १७०६ वटा टेम्पो र अटोरिक्सा दर्ता भएको रेकर्डबाट देखिएको छ । हालसम्म सो सि वर्गको चालक अनुमति प्रमाणपत्रको लाइसेन्सको लागि दरखास्त आह्वान नगरी राखी रहँदा बढ्दो रुपमा भित्रिएका टेम्पो र अटोरिक्साको चापलाई व्यवस्थित गर्न, अनुगमन गर्न आवश्यक भएकोमा बिपक्षीहरुले यस उपर कुनै ध्यान नदिएको रिट निवेदक अधिवक्ता विकास आचार्यले जानकारी दिए ।