बाँके रोजगारीको नाममा ठगीमा परेको यो नयाँ घटना होइन । बेरोजगार युवाहरु रुपैया खर्चेर पनि रोजगार पाउने आशमा विभिन्न स्थानमा नयाँ तरिकाले ठगीको सिकार हुँदै आएका छन् ।
बाँके सहित दाङ्ग, सुर्खेत, कैलाली र बर्दिया जिल्लाबाट ४३ जना युवाहरुबाट एउटा गिरोहले जागिर लगाउने नाममा करिब २ करोड रुपैया ठगी भएको खुलेको छ । कोहलपुर वडा नं.११ बस्ने महेश आचार्य र सुर्खेत बस्ने विराट आचार्यले युवाहरुलाई राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाउने नाममा रकम असूली गरेको खुलेको हो ।
कोहलपुर वडा नं.११ बस्ने महेश आचार्य अहिले परिवार सहित भारत तिर लुकीछिपी बस्दै आएको प्रहरी भनाई छ । युवाहरुलाई आफु राष्ट्रिय अनुसन्धानमा काम गरिरहेको दावी गर्दै महेश आचार्य र विराट आचार्यले युवाहरुबाट २ देखि ५ लाख रुपैया सम्म असूली गरेको तथ्य बाहिर आएको हो । तीन महिना अघि सम्म ईलाका प्रहरी कार्यालय कोहलपुरले अनुसन्धान गरिरहेको ठगी काण्डको अहिले अपराध महाशाखा टेकुले अनुसन्धान अघि बढाएको छ । ठगी आरोपमा रहेका विराट आचार्यलाई प्रहरीले दाङ्गबाट पक्राउ गरि थप अनुसन्धानका लागि काठमाडौमा राखेको छ ।
अर्का सहयोगी कोहलपुर बस्ने महेश आचार्य परिवार सहित भारतमा लुकेको प्रहरी भनाई छ । महेशले युवाहरुलाई विराट संग सम्पर्क गराउने र उनीहरुलाई जागिर लगाउने आश्वासन दिँदै रकमको प्रस्ताव गर्ने गरेको घटनाका एक पीडितले दैनिक नेपालगन्ज संग भने, ‘छोराले जागिर पाउँछ भनेर तीन लाख ५० हजार रुपैया बुझाएको थिएँ ।’
प्रहरी सम्पर्कमा नआएका ठगीमा पीडित रहेका अन्य ब्यक्तिहरु पनि छन्, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब निरीक्षक सुरेन्द्र पन्तले भने, घटनामा ४३ जना पीडितहरुले ठगीको जाहेरी दर्ता गएका छन् । अपराध महाशाखा टेकुका प्रहरी नायब निरीक्षक गिरीराज भण्डारीले घटनामा संलग्नता बारे अझै थुप्रै अनुसन्धान भइरहेको बताए । ‘ठूलै गिरोह संलग्न छ, अझै उनीहरुको बारेमा सबै कुरो भन्न मिल्दैन’, उनले भने, ‘रकम दुई करोड भन्दा बढि हुने अनुमान छ ।’
प्रहरीले अनुसन्धान बढाएपछि महेश आचार्य परिवार सहित भारतीय क्षेत्रमा फरार भए । उनले अदालतबाट अधिकृत वारेसनामा बनाएर घर जग्गा अर्कैलाई बेच्न लगाएको अनुसन्धानबाट खुलेको छ ।
‘कोहलपुरमा रहेको दुई तले घर ६८ लाख रुपैयामा सुर्खेतका केहि ब्यक्तिहरुले खरीद गरेको पाइयो’, अनुसन्धानमा खटिएको एक अधिकारीले भने, ‘ती खरीदकर्ताहरुको प्रोफाइल अध्ययन भइरहेको छ ।’ घर जग्गा बिक्री गरेर प्राप्त भएको रकमबाट केहि ब्यक्तिहरुले आफ्नो रकम फिर्ता पाएको बुझिएको छ । रोजगारीको नाममा रकम बुझाउनेहरु मध्ये अधिकाँशले दुई महिना देखि पाँच महिना सम्मको तलब पनि प्राप्त गरेको खुलाएको छन् । ‘उनीहरुको लामो समय सम्म कुनै नियुक्ती पत्र, परिचय पत्र र सूचना संकलनको विधि आदिका बारेमा जानकारी नपाएपछि केहि गलत भएको आशंका भएको थियो’, एक पीडितले भने, ‘दुई जना मध्ये एकजना सम्पर्क विहिन भएपछि ठगिएको बारे अनुमान भएको हो ।’
अपराध महाशाखाका प्रवक्ता एसपी नरेन्द्र प्रसाद उप्रेतीले फाइल अझै अनुसन्धानकै क्रममा रहेको बताए । ‘म केहि दिन मात्रै यता आएकोले विस्तृत विवरण हेर्न पाएको छैन’, उनले भने, ‘म बुझ्ने क्रममा छु ।’ राष्ट्रिय अनुसन्धानमा जागिर दिने नाममा ठगी आरोप रहेका कोहलपुर वडा नं.११ बस्ने महेश आचार्यलाई तीन लाख रुपैया सापटी दिएकी एक पीडितले आफ्नो सुरक्षानै जोखिममा रहेको खुलाएकी छन् । महेशले घर जग्गा बिक्री गरेको सूचना पाएपछि आफुले सापटी दिएको रकम असूल गर्न निजको घरबाट केहि सामाग्री ल्याउन गएका बेला घरमा भएका ब्यक्तिहरुले कूटपीट गर्ने धम्की दिएको खुलाएकी छन् ।
‘मेरो छोराले तीन लाख रुपैया सापटी दिएको सुनेपछि रुपैया“ कसरी निकाल्ने भन्ने प्रयास गर्न गएका बेला घर सम्पत्ती समेत खरीद गरेर घरमा बसी रहेको केहि ब्यक्तिहरुले अर्को पटक नआउन चेतावनी दिएका हुन्’, उनले भनिन् ।