भारतीय हिन्दुवादी संगठन आरएसएस (राष्ट्रिय स्वयं सेवक संघ) उत्तर प्रदेशका एक बरिष्ठ नेता बुधवार काठमाडौ हुँदै नेपालगन्ज आएर यहाँका हिन्दुवादी संगठनहरु संग विभिन्न बैठकहरु गरेका छन् ।
भारतीय गुप्तचर एजेन्सीले नेपाल भारत सिमावर्ती क्षेत्र तराईमा गैरहिन्दु समुदायको गतिविधि बढ्दै गएको र मदरसाहरुको माध्यमबाट भारत विरोधी क्रियाकलापहरु भइरहेको सूचना प्रवाह गरिरहँदा उत्तर प्रदेश प्रचार विभागका प्रमुख समेत रहेका बरिष्ठ हिन्दुवादी नेता राहुल योगीको आवागमन नेपालगन्जमा भएको हो ।
नेपालगन्जमा आएका ती नेताले यहाँ स्थित हिन्दु युवा बाहिनी, शिव सेना नेपाल, हिन्दु स्वयं सेवक संघ लगायत हिन्दु संगठनका केहि चुनिन्दा ब्यक्तिहरु संग छलफल गरेका छन् । नेपाली क्षेत्रमा गैर हिन्दु समुदायको बढ्दो सक्रियता र त्यसबाट हिन्दुवादीहरुलाई हुन सक्ने जोखिम लगायतका विषय छलफल चलाएको बैठकमा सहभागी एक नेताले बताए ।
भारत स्थित सत्तारुढ दल भारतीय जनता पार्टीका संग प्रत्यक्ष सम्बन्धित रहेको संघ आफ्नो कट्टर गतिविधिका कारण भारतमा विवादित रहँदै आएको छ । भारतमा संघलाई मुस्लिम विरोधी संगठनको रुपमा पनि चर्को आलोचना गरिन्छ । संघका नेता योगी बाँके आएपछि यहाँ स्थित हिन्दुवादी संगठनहरुले बुधवार अवेर राति सम्म छलफल गरेर बाँकेमा हिन्दु विरोधी गतिविधि बारे उनको ध्याकर्षण गराएको बुझिएको छ । यद्यपि दैनिक नेपालगन्ज संग कुनै पनि नेताले प्रष्ट रुपमा प्रतिक्रिया दिन मानेनन् ।
बैठकमा सहभागी भएर अबेरराति फर्किएका एक नेताले दैनिक नेपालगन्ज संगको फोन सम्पर्कमा हिन्दुवादी नेताको नाम खुलाउन मानेनन् । उनले भने, ‘नाम नखोल्नका लागि कसम खाएको छु ।’ प्रहरीले पनि नेताको विवरण खुलाउन चाहेन । बाँके प्रहरीले आधिकारिक पुष्टि नगरेपनि भारतीय एसएसबीले नेपालगन्जमा उत्तर प्रदेशका बरिष्ठ नेता योगी उपस्थित रहेको स्वीकार गरेको छ । आज विहिवार विहान पनि बाँकेमा रहेका हिन्दुवादी संगठनहरु संग विशेष छलफल गरेर नेता योगी उत्तर प्रदेश फिर्ता हुने कार्यक्रम रहेको बुझिएको छ । उनको बाँके आगमन र भारत जाने समय बारे निकै गोपनीयता कायम राखिएको छ ।
नेता योगी नेपालगन्ज आएपछि उनको सुविधा र सुरक्षाका लागि बाँके प्रहरीले आफ्ना अनुसन्धान ब्युरोका ६ जना प्रहरी खटाएको श्रोतले जनाएको छ । यद्यपि कुनै विवादित विषय नरहेपनि बाँके प्रहरीले औपचारिक रुपमा सूचना दिन मानेन ।
काठमाडौमा उनी कति दिन थिए र नेपालका कुन कुन जिल्लामा के के गतिविधी चलाए भन्ने विषयमा सरकारी अधिकारीहरुले सूचना दिन मानेनन् । श्रोतका अनुसार एक साता अघि राजधानी आएका नेता योगी तराई केन्द्रित विभिन्न जिल्ला डुलेर हिन्दु गतिविधिलाई नियालेका छन् । उत्तर प्रदेशमा भारतीय जनता पार्टीको सरकार रहेकोले नेपालमा तराईका जिल्लाहरुमा हिन्दुवादी गतिविधिमा सक्रियता ल्याउन भारतीय नेता नेपाल पसेको हुन सक्ने विश्लेषकहरुको बुझाई छ ।
एकदमै गोप्य र सुरक्षित राखिएका बरिष्ठ नेता योगीको विशेष सत्कारमा बाँके प्रहरी आफै खटिएको बुझिएको छ । ‘उनलाई आवश्यक पर्ने साधन श्रोत प्रहरीकै रोहबरमा छ’, श्रोतले भन्यो, ‘प्रहरीलाई सबै जानकारी भएपनि खुलाउन नचाहेको हो ।’
एसपीले उल्टै सोधे के हो आरएसएस ?
भारतीय दक्षिण पन्थी हिन्दुवादी अर्धसैनिक स्वयंसेवक संगठन आरएसएस (राष्ट्रिय स्वयं सेवक संघ) का एक बरिष्ठ नेता राहुल योगी बाँकेमा आइपुग्दा बाँके प्रहरीले मीडियालाई झुक्याएको खुलेको छ । नेता योगीले बाँकेका हिन्दुवादी संगठनहरु संग यहाँको गतिविधि बारे छलफल गरिरहँदा सो विषयमा राखिएको चासोमा बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामांगले उक्त संगठन बारे नै अनभिज्ञता प्रकट गरे ।
संवाददाताको चासोमा प्रतिप्रश्न राख्दै एपी तामांगले उल्टै सोधे, ‘यो संगठनको कुन नेता बाँके आएको ? किन आएको हो ? संगठनको नामै पहिलो पटक मैले सुनेको छु ।’ उनले भने, ‘त्यस्तो कुनै नेता आएको बारे हामीलाई जानकारी छैन ।’ जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधवार दिउँसो प्राप्त भएको भारतीय राजदूतावासको एउटा फ्याक्समा ती बरिष्ठ नेता योगीको सुरक्षा बारे निगरानी बढाउन भनिएको छ । प्रशासनले उक्त फ्याक्सको सूचना तत्कालै एसपी तामांगलाई दिइएको बाँकेका सहायक जिल्ला अधिकारी कृष्ण खड्काले बताए ।
‘नेता योगीको गतिविधि र नाम ठेगाना बारे सबै विवरण एसपी साब संग छ’, दैनिक नेपालगन्ज संग सहायक प्रजिअ खड्काले भने, ‘उनीबाटै पूर्ण विवरण प्राप्त हुन्छ ।’ दोस्रो पटकको फोन सम्पर्कमा बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामांगले नेता बारे विवरण थाहा नभएको दावी गरे ।
सूचना लुकाउन किन खोजिएको हो ? खास के रहेछ उनको आवागमनमा ? भन्ने प्रश्नमा एसपी तामांग आक्रामक भए, आफु कुनै अन्य कार्यक्रममा रहेको दावी गर्दैै भोली (आज विहिवार) मात्र सूचना दिने तर्क गरे । ‘भोली फोन सम्पर्क गर्नुस् न’, दैनिक नेपालगन्ज संग कुरा गर्दै एसपीले फोन अवरुद्ध गरे ।