देबेन्द्र राज पौडेल
जिल्ला समन्वय समितिले बेरुजु फस्र्यौटमा ठूलो सफलता हात पारेको छ । जिल्ला विकास समितिले आ.व. ०७३÷०७४ मा १३ करोड ७२ लाख ६९ हजार ६ सय रुपैयाँ फस्र्यौट गरेको हो ।
आ.व. ०७१/०७२ सम्म तत्कालीन जिल्ला विकास समितिमा १९ करोड ५९ लाख ६७ हजार ४ सय ७७ रुपैयाँ बेरुजु रहेको थियो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जिल्ला विकास समिति बाँकेले ७०.०५ प्रतिशत बेरुजु फस्र्यौट गरेको पत्र जिल्ला समन्वय समितिलाई पठाइसकेको छ ।
मन्त्रालयले गत साउन २४ गते जिससलाई पठाएको बेरुजु फस्र्यौटको पत्रमा ५ करोड ८६ लाख ९७ हजार ८ सय ७७
रुपैयाँ फस्र्यौट गर्न बाँकी रहेको उल्लेख छ । स्थानीय विकास अधिकारी हरि प्याकुरेलले थप बेरुजु फस्र्यौट भएको जानकारी दिएका छन् । ‘थप बेरुजु फस्र्यौट गरिसकेका छौं’, स्थानीय विकास अधिकारी प्याकुरेलले मन्त्रालयमा बेरुजु फस्र्यौटको कागजात तयार भएको र केही दिनमा पठाउने जानकारी दिंदै भने । उनले ९० प्रतिशत सम्म बेरुजु फस्र्यौट भएको अनुमान रहेको बताए ।
जिल्ला समन्वय समितिले बेरुजु फस्र्यौटका लागि लेखा अधिकृत दिपक रेग्मीको संयोजकत्वमा एउटा टिम नै बनाएको छ । ‘अहोरात्र खटिएर बेरुजु शुन्य पार्ने लक्ष्य लिएका छौं’, स्थानीय विकास अधिकारी प्याकुरेलले भने दिउँसोका समयमा कार्यालयको कामले नभ्याउँदा विहान र साँझ समेत काम गर्ने गरेको जानकारी दिंदै भने । ‘बेरुजु फस्र्यौटमा हुने गरेका समस्याबारे निरन्तर छलफल गर्दै अगाडी बढिरहेका छौं’, उनले भने ।
पेश्की लिने र काम नगर्ने, काम गरेर पनि आवश्यक कागजात बुझाएर प्रक्रिया पूरा नगर्दा बेरुजु बढी देखिएको
स्थानीय विकास अधिकारी प्याकुरेलको भनाइ छ । उनले सामाजिक सुरक्षा भत्ता तथा विभिन्न योजनाका बेरुजु फस्र्यौट गरिएको जानकारी दिए । ‘पेश्की लिएर काम नगरेकाले नगदै पनि फिर्ता गर्नुभएको छ’, स्थानीय विकास अधिकारी प्याकुरेलले भने ।
स्थानीय तहको निर्वाचनले समेत बेरुजु फस्र्यौटका लागि सहयोग पुर्याएको छ । पेश्की लिएर फस्र्यौट नगरेका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्थाले पनि कतिपयले स्थानीय निकायको निर्वाचनका बेला आफै आएर बेरुजु फस्र्यौट गरेका जिल्ला विकास समितिले जानकारी दिएको छ ।