‘पार्टी फुटाउन ठूलै शक्ति लाग्यो’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी फुटाउन सत्ताभित्र र बाहिरबाट ‘ठूलो खेल भएको’ आरोप लगाएका छन् ।

 
मध्यपश्चिमाञ्चल क्षेत्रमा रहेका विभिन्न स्थानीय तहमा बिस्तार गरिएको पार्टी संरचनाका नेतृत्वहरुको भेला बिहीबार नेपालगन्जमा उद्घाटन गर्दै अध्यक्ष थापाले ‘त्यसले पार्टीलाई धेरै ठूलो क्षति हुन भने नपाएको’ बताए । उनले पार्टी भित्र आन्तरिक कलह उत्पन्न गराउन विरोधी शक्ति सफल भएपनि विखण्डन हुन नपाएको दाबी गरे ।

 
‘गणतन्त्र र धर्म निरपेक्षताका पक्षधरहरु छुट्टिएका मात्रै हुन्’, अध्यक्ष थापाले पार्टीका विभिन्न वरिष्ठ नेताहरुको नाम लिंदै भने, ‘मुलुकको चौथो शक्तिका रुपमा स्थापित गर्ने नीति र नेतृत्व हामीसग ज्यूका त्यू छ ।’ युवा नेता ऋषिराज देवकोटाका अनुसार, दुई दिनसम्म चल्ने भेलामा तीन सय बढी स्थानीय तहका पार्टी नेताहरु सहभागी छन् ।

 

पार्टीले सबै शक्ति निर्वाचनमा केन्द्रित गर्न भेला आयोजना गरेको जानकारी दिंदै युवा नेता देवकोटाले शुक्रबार हुने बन्द सत्रले निर्वाचन केन्द्रित योजनाहरु बनाउने बताए । ‘स्थानीय तहका प्रत्येक सय घर बराबर एउटा कमिटि बनाउने योजना पार्टीले अघि सारेको छ’, देवकोटाले भने । बिहीबार भेला उद्घाटनका क्रममा अध्यक्ष थापाले सम्पूर्ण रुपमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा केन्द्रित हुन निर्देशन दिए ।

 
पार्टी वरिष्ठ नेता बालाराम घर्ती, महामन्त्री समेत रहेका प्रदेश नं. ५ का संयोजक डा. धवल समशेर राणा, केन्द्रीय सदस्य एवं प्रदेश नं. ६ का संयोजक मुकुन्द सेन गिरी, सांसद एवं प्रमुख सचेतक कुन्ती कुमारी शाही, नेतृ कोमल वली लगायतले अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया