नेपालगन्ज : खिचातानीमा अड्किएको फोहोर

नेपालगन्ज मेडिकल कलेजबाट उत्पन्न हुने फोहोरलाई उचित ब्यवस्थापन गर्न नसकिएपछि अहिले त्यसमा अस्पताल संचालक र स्थानीय ब्यक्तिहरु विच खिचतानी बढ्दै गएको छ । खिचातानी र विवाद बढेपछि एक साता देखि अस्पतालको फोहोर त्यसै थन्किएको छ । दुर्गन्धका कारण स्थानीयहरु मर्कामा छन् । स्थानाभावले नेपालगन्ज मेडिकल कलेजबाट उत्पन्न हुने सर्जिकल, मानवअंग, प्लास्टिक लगायतको फोहोर अहिले अस्पतालको उत्तर तर्फ पार्किंगका लागि निर्धारण गरिएको स्थानमा एकत्र भइरहेको छ ।

 

समयमा फोहोर ब्यवस्था नभएपछि त्यसक्षेत्रमा निकै दुर्गन्ध फैलिएपछि मंगलवार स्थानीय बासिन्दाहरुले दैनिक नेपालगन्जलाई फोन सम्पर्क गरी सो विषयमा पहल गर्न आग्रह समेत गरे । अस्पतालले उत्पन्न गर्ने फोहोरको गन्ध थेगिनसक्नु भएपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी गरे स्थानीय बासिन्दाले उचित निकास नपाएपछि अहिले निराश देखिएका छन् ।

 
‘एक साता देखि फोहोर बाहिरलग्न सकिएको छैन,’ अस्पतालका एक कर्मचारीले भने, ‘स्थानीयहरुले फोहोर उठाउन नै रोकेकाले थन्किएको हो ।’ स्थानीयबासी समेत रहेका इन्प्रोकका अध्यक्ष तेज बिक्रम शाहले उचित स्थानमा फोहोर नफालेका कारण विरोध गरेको बताएका छन् ।

 
‘तोकिएको स्थानमा लगेर फाल्नु पर्यो हाम्रो भनाइ यति हो,’ शाहले भने, ‘हरेक दिन फरक फरक स्थानमा घर पछाडी, त कहिले खेतमा फाल्ने अवस्था रहेकोले ब्यवस्थित तरिकाले फाल्नका लागि आग्रह गर्दा अस्पतालका ब्यक्तिहरुले बलजफ्ती गर्न खोजेका हुन् ।’

 
स्थानीय बासिन्दासमेत रहेका सार्वजनिक भेरी यातायात ब्यवसायी संघका बाँके अध्यक्ष गणेश थापा भन्छन्, ‘अस्पतालले अटेरी गरेका कारण फोहोर थन्किएको हो ।’ ‘फोहोर नउठाएका कारण दुर्गन्धले बसिनसक्नुको स्थिति छ’, उनले भने, ‘प्रशासन, नेपालगन्ज उपमहा–नगरपालिका कार्यालय लगायतलाई पटक पटक आग्रह गर्दा पनि समाधान हुन नसकेको हो ।’ स्थानीय होटल संचालक टोब बहादुर थापाले दुर्गन्धका कारण होटलमा खाना खाने अवस्था नरहेको बताए ।

 

‘घरछेउमै अस्पतालको जम्मै फोहोेर राखिएको छ, हावा चल्दा पानी गर्दा त्यसको असर आम नागरिकहरु माथि पर्ने गरेको छ,’ उनले भने, ‘सहनै नसक्ने किसिमले यो क्षेत्र दुर्गन्धित भएको छ ।’
नेपालगन्ज मेडिकल कलेजका प्रवन्ध निर्देशक डा.सुरेश कुमार कनोडियाले केही ब्यक्तिहरु ‘बढि नेतागिरी गर्न खोजेको कारण फोहोर उठ्न नसकेको’ बताएका छन् । ‘हामी त आज पनि उठाउन तयार छौं’, दैनिक नेपालगन्ज संग कुरा गर्दै डा. कनोडियाले भने, ‘तर केही स्थानीय ब्यक्तिहरुले नै उठाउन नदिएकोले थन्किएको हो ।’

 
डा.कनोडियाले वर्षौं देखि नेपालगन्ज उपमहानगरपालिकाको फोहोर संगै अस्पतालको फोहोर फाल्ने गरेको दावी
गरे । यद्यपि अस्पताल कर्मचारीले फोहोर ब्यवस्थान नहुँदा समस्या उत्पन्न भएको बताएका छन् । नेपालगन्ज उपमहानगरपालिका र प्रशासनलाई पनि लेखेर समस्या बारे जानकारी गराएको डा.कनोडियाले बताए । ‘केहि समाधान होस भन्ने हाम्रो पनि चाहना छ’, डा. कनोडियाले भने, ‘दुर्गन्ध हुनु राम्रो होइन ।’

 

 
अस्पतालबाट दिनहुँ एक कुन्टल भन्दा बढि फोहोर उत्पन्न हुन्छ, एक कर्मचारीले भने, यसरी दिनहुँ थन्किँदै जाँदा दुर्गन्ध बढ्दै गएको हो । मेडिकल कलेजको उत्तर तर्फ रहेको पार्किंग स्थानमा आवतजावत गर्ने विरामी र कुरुवाहरु नाक छोप्ने गरेको अवस्था पाइयो ।

 
जिल्ला प्रशासन कार्यालयमा परेको उजुरी पछि अनुगमन गर्ने समितिले पनि अस्पतालबाट उत्पन्न भएको फोहोर उचित रुपमा संकलन नगरिएको पाइएको जनाएको छ । ‘अनुगमनपछि दुर्गन्धका कारण आम जनजीवन प्रभावित रहेको प्रतिवेदन दिइएपनि त्यस विषयमा कुनै कारवाही प्रक्रिया अघि नबढेको पाइएको छ ।

 
नेपालगन्ज मेडिकल कलेजको फोहोर ब्यवस्थापनको जिम्मेवारी उपमहानगरपालिकाको समन्वयमा निजी क्षेत्रले गर्दै आएको छ । पछिल्लो ४ वर्ष देखि नेपाल स्वच्छ वातावरण श्रृजना केन्द्र काठमाडौले गर्दै आएको फोहोर ब्यवस्थापन उचित र प्रभावकारी नभएको स्थानीयहरुको आरोप छ । ‘नेपालगन्ज उपमहा–नगरपालिका कार्यालयले तोकी दिएको स्थानमा हामीले फोहोर ब्यवस्थापन गर्ने गरेका छौं’, दैनिक नेपालगन्ज संग कुरा गर्दै संस्थाका प्रमुख भानु भट्टले भने, ‘संक्रमित फोहोर अस्पताल भित्रै नष्ट गर्नु पर्ने प्रावधानलाई टेकेर स्थानीयहरुले वाधा अवरोध उत्पन्न गरेका
हुन् ।’

 

‘फोहोर फाल्ने ठाउ नै छैन’

नेपालगन्जमा उत्पादन हुने दैनिक करिब ३५ टन भन्दा बढि फोहर ब्यवस्थानका लागि उचित स्थान नरहेको खुलेको छ । यसअघि नेपालगन्जको बुलबुलियामा फाल्दै आएको स्थानमा पनि स्थानीय जग्गाधनीहरुले फोहर फाल्न रोक लगाएपछि उपमहानगरपालिका भित्रको फोहोर कहाँ फाल्ने भन्ने अन्योलता बढेको हो ।

 
नेपालगन्ज उपमहानरपालिका र निजी क्षेत्रका सरसफाईकर्मीहरुले संकलन गर्ने फोहोर आफु खुसी नेपालगन्जको फरक फरक स्थानमा फाल्दै आएको पाइएको छ । ‘नेपालगन्जको बाहिर हरेक दिन फरक फरक स्थानमा फोहोेर फाल्ने गरेका छौं’, दैनिक नेपालगन्ज संग कुरा गर्दै एक कर्मचारीले भने, ‘प्रष्ट ठाउँनै छैन ।’

 
तीनव वटा गैरसरकारी संस्था र नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारी मिलेर दैनिक २९ टन फोहोर संकलन गर्दै आएका छन् । ६ टन फोहार त्यत्तिकै पनि संकलन हुन नसकेको अधिकारीहरुको भनाई छ । ‘नेपालगन्ज क्षेत्रमा फोहोर फाल्ने स्थानका लागि चुनौती भएकै हो’, वातावरण सरसफाई इन्जीनियर प्रकाश डीसीले भने, ‘हामीहरुले त्यसमा निकास खोज्न विभिन्न खाल्डो र खाली जग्गा पनि पुर्दै आएका छौं, अचेल सबै स्थान सकिएको छ ।’

 
‘खाली जग्गामा पनि दुर्गन्ध हुन्छ भनेर स्थानीयहरु फोहोर फाल्न दिँदैनन्’, दैनिक नेपालगन्ज संग कुरा गर्दै इन्जिनियर डीसीले भने, ‘खाल्डो भएको जग्गामा फोहोर फालेर माटो समेत पटान गर्ने शर्त राख्दै कतिपय स्थानमा फालियो, तर अब त्योपनि भरिएको छ ।’

 
‘कहाँ फाल्ने भन्ने विषय सबैको टाउको दुखाई हो’, डीसीले भने, ‘स्थानीय प्रतिनिधीहरुलाई पनि उक्त समस्या बारे जानकारी गराइएको छ ।’ दीर्घकालिन फोहोर ब्यवस्थापनका लागि बाँकेको हिरमिनिया क्षेत्रमा डम्पिंग साइट निर्माण कार्य सुरु भएको र पूरा हुन १८ महिना लाग्ने उपमहा नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया